काठमाडौँ । गत चैत १५ गते काठमाडौँमा आयोजित राजावादीहरुको प्रदर्शनको क्रममा प्रहरीलाई नै गाडी चलाएर किच्ने मनसायले भीडमा गाडी दौडाएर भागेका दुर्गा प्रसाईं भारतको आसाममा पक्राउ परेको नेपाली समाचार माध्यमहरुले जनाएका छन् ।
प्रसाईंले बुधबार मात्र आफू नेपालभित्रै भएको र आफ्नो सुरक्षाको ग्यारेन्टी भए २४ घन्टादेखि ३६ घन्टाभित्र हाजिर हुने भिडियो सन्देश सार्वजनिक गरेका थिए । आतङ्कवादी शैलीमा प्रहरीको सुरक्षा घेरा नै तोड्ने गरी लापरबाही तरिकाले गाडी चलाउँदै भागेका प्रसाईं प्रदर्शनस्थल नजिकैबाट अर्को गाडी चढेर बेपत्ता भएका थिए ।
समाचारहरुमा जनाइएअनुसार उनले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको र नेपाल प्रहरीको विशेष इकाइले भारतीय प्रहरीको समन्वयमा उनलाई नेपाल ल्याउने तयारी गरिरहेको छ ।
यसैबीच, नेपाल प्रहरी प्रवक्ताले प्रसाईं पक्राउ परेको समाचारको खण्डन गरेको भए पनि प्रायः सबैजसो नेपाली सञ्चार माध्यमहरुले उनी पक्राउ परेको समाचार प्रकाशन गरेका छन् ।
कान्तिपुरका अनुसार प्रसाईंलाई शुक्रबार प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया