मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

थाइल्याण्ड भ्रमण र बिम्स्टेक सम्मेलनमा सहभागिता सफल र सार्थक : प्रधानमन्त्री

थाइल्याण्ड भ्रमण र बिम्स्टेक सम्मेलनमा सहभागिता सफल र सार्थक : प्रधानमन्त्री


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) छैटौँ शिखर सम्मेलनमा सहभागिता अत्यन्त सफल एवम् सार्थक रहेको बताएका छन् ।

थाइल्याण्डको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भ्रमणबाट दुई मुलुकबीच रहिआएको द्विपक्षीय सम्बन्धले थप उचाइ हासिल गरेको बताए ।

Advertisement

प्रधानमन्त्री ओलीले थाइ समकक्षी पे थोङ् थान् शिनावातसँगको भेटमा दुई देशबीच व्यापार तथा लगानी, कृषि, पर्यटन तथा संस्कृति, शिक्षा तथा मानव संशाधन विकासलगायत आपसी हितका क्षेत्रीय एवं बहुपक्षीय मामिलामा सहयोग र सहकार्य गर्ने विषयमा फलदायी कुराकानी भएको जानकारी दिए ।

उनले बौद्ध धर्म एवम् दर्शनले जोडेको सांस्कृतिक सम्बन्ध एवम् छ दशकभन्दा लामो द्विपक्षीय घनिष्ठ कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउने र यसको जगमा उभिएर दुई देशबीचको आर्थिक सम्बन्धलाई पनि समयानुकूल फराकिलो र गहिरो बनाउँदै दुई देशबीच सहमति भएको बताए ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्तिमा नेपाललाई थाइल्याण्ड सरकारको सक्दो सहयोग रहने प्रतिबद्धता प्राप्त भएको जानकारी दिए । उनले कृषि, पर्यटन, पूर्वाधार विकास, सूचना प्रविधिलगायत क्षेत्रमा सहयोग गर्न थाइल्याण्ड सरकार तयार रहेको जानकारी दिए ।

“द्विपक्षीय सम्बन्ध सुदृढीकरण साथसाथै जलवायु परिवर्तन, दिगो विकास, विश्व शान्तिलगायतका साझा चासोका विषयमा क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा पनि आपसी सहयोग र सहकार्य थप बलियो र प्रभावकारी बनाउँदै जाने कुरामा दुवै पक्षबीच सहमति भएको छ”, प्रधानमन्त्री ओलीले भने ।

ओलीले भ्रमणका अवसरमा नेपाल सरकार र थाइल्याण्ड सरकारबीच आपसी सहयोग आदानप्रदान गर्ने सन्दर्भमा पर्यटन क्षेत्रमा सहयोग र सांस्कृतिक सहयोगसम्बन्धी सम्झौता एवम् निजी क्षेत्रसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आफूले थाइल्याण्डका प्रधानमन्त्री शिनावातलाई नेपाल भ्रमणको निम्ता दिएको जानकारी दिँदै उनीबाट चाँडै नै नेपाल भ्रमण हुने अपेक्षा राखेको बताए ।

प्रधानमन्त्री ओलीले बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै बङ्गालको खाडी र विश्वभर सघन परिवर्तन आएको र आर्थिक असमानता, बढ्दो वातावरणीय जोखिम, राजनीतिक अनिश्चितता जस्ता साझा वैश्विक चुनौतीको सामना गर्न क्षेत्रीय सहकार्यलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएको बताए । “शिखर सम्मेलनको नारा ‘समृद्ध, उत्थानशील र खुला बिमस्टेक’ ले दिगो विकासका लक्ष्यहरु प्रतिविम्बित गर्नुकासाथै नेपालको राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई समेत प्रतिध्वनित गरेको कुरा मैले चर्चा गरेँ”, उनले भने ।

प्रधानमन्त्री ओलीले वातावरणीय एवं अन्य क्षेत्रीय, अन्तर्राष्ट्रिय चुनौतीबारे छलफल गर्न नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागिताका लागि बिमस्टेक राष्ट्रका समकक्षीलाई पुनः आमन्त्रण गरेको जानकारी दिए । उनले सम्बोधनका क्रममा जलवायु परिवर्तनले समस्त मानव समुदायको अस्तित्वलाई नै खतरामा पारेको र एसियाको चिस्यान केन्द्र तथा विश्वको ताप शोषकका रुपमा रहेको नेपालको हिमशृङ्लामा जलवायु परिवर्तनको असर अझ अत्यधिक रहेको उल्लेख गरेको बताए ।

भ्रमणका क्रममा म्यानमार र थाइल्याण्डमा महाभूकम्पका कारण ठूलो जनधनको क्षति भएकामा नेपाल सरकार, नेपाली जनता र आफ्नोतर्फबाट समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको उनले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले बिमस्टेक क्षेत्रको विकास, समृद्धि र दिगोपनाको लागि ‘बिमस्टेक भिजन २०३०’ कार्यान्वयन गर्ने, क्षेत्रीयरुपमा उपलब्ध आर्थिक वृद्धिका अवसरहरुलाई उपयोग गर्नेलगायत विषय समेटिएको बैंकक घोषणापत्र जारी भएको बताए ।

उनले सो शिखर सम्मेलनअघि बिमस्टेकको मन्त्रीस्तरीय बैठकले मानव स्रोत विकास, सार्वजनिक स्वास्थ्य, शिक्षा, विज्ञान तथा प्रविधि, जलवायु परिवर्तनसम्बन्धी कार्ययोजनालाई पारित गरी यथाशीघ्र कार्यान्वयनमा लैजान जोड दिएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाली र थाइ व्यवसायीसँग नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त कानुनी, सामाजिक र आर्थिक वातावरण रहेको र वैदेशिक लगानीलाई सरल, सहज, सुरक्षित एवं प्रतिफलमुखी बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै लगानीका लागि आग्रह गरेको भनाइ राखेका थिए ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीका तर्फबाट तयार गरिएको प्रेस नोट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले वाचन गरेका थिए ।

प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलङ्काका प्रधानमन्त्री डा. हरिणी अमरसुर्या, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र म्यानमारका प्रधानमन्त्री मिन आङ ल्हाङ्गसँग भेटवार्ता गरेका थिए ।

भेटमा प्रधानमन्त्रीले नेपाल र ती मुलुकहरूबीच कायम रहँदै आएको मैत्रिपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने एवम् द्विपक्षीय सम्बन्धका साथै बिमस्टेक लगायत क्षेत्रीय तथा अन्य बहुपक्षीय सहयोग र सहकार्य थप सुदृढ बनाउँदै लैजाने विषयमा छलफल गरेका थिए ।

प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री शिनावात्को मैत्रिपूर्ण निमन्त्रणामा यही चैत १९ गते थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए ।

शेयर गर्नुहोस:

135
Shares