मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

‘लोकतन्त्रको विकल्प छैन, तर शासकीय शैलीमा सुधार आवश्यक’

‘लोकतन्त्रको विकल्प छैन, तर शासकीय शैलीमा सुधार आवश्यक’

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । विद्यमान सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नरहे पनि शासनशैली र कार्यव्यवहारमा सुधार अत्यावश्यक रहेको धारणा विभिन्न राजनीतिक दलका नेताहरुले राखेका छन् ।

रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गत शुक्रबार तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको घटनाप्रति खेद व्यक्त गरे । राजतन्त्रको सन्दर्भमा इतिहास अगाडि बढ्ने तर पछाडि नफर्कने उल्लेख गर्दै उनले भोक लाग्यो भन्दैमा विष पिउन नहुने स्पष्ट पारे ।

हालका राजनीतिक दलहरूप्रति जनतामा निराशा र असन्तोष रहेको स्वीकार्दै अध्यक्ष डा भट्टराईले भने, “नेताहरू भ्रष्टाचारमा मुछिएको, आसेपासेहरूले घेरिएको देखेर तपाईंहरूलाई विरक्त लाग्न सक्छ । तर नागरिकको चिन्ताप्रति मेरो साथ र सहयोग रहनेछ ।” लोकतान्त्रिक व्यवस्थाका कमजोरी हटाउँदै त्यसलाई थप उन्नत बनाउने दिशामा अघि बढ्नुपर्ने उनको धारणा थियो । संविधानमा उल्लेखित शासकीय स्वरूप र निर्वाचन प्रणालीलगायत केही व्यवस्थाहरू संशोधन गर्न आवश्यक रहेको अध्यक्ष डा भट्टराईले बताए । जनतामा फैलिएको निराशा चिर्न संविधानमा परिवर्तन जरूरी रहेको उनको भनाइ थियो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुशासन र जनताका आवाज उठाउने सवालमा रिपोर्टर्स क्लबको अग्रणी भूमिका रहेको बताए । पछिल्लो समय पत्रकारिता पेसा विकृत बन्दै गएको उल्लेख गर्दै उनले समाजलाई सही दिशा दिनका लागि निष्पक्ष पत्रकारिता आवश्यक रहेको धारणा राखे । गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको भन्दै उनले लोकतन्त्रको रक्षा गर्न सबैलाई आह्वान गरे ।

सांसद् प्रभु साहले संसद्को प्रभावकारितामाथि प्रश्न उठाउँदै निर्वाचित प्रतिनिधिमाथि गैर–निर्वाचितको हालीमुहाली रहेको टिप्पणी गरे । उनले संसद् राजनीतिक दलहरूको नियन्त्रणमा रहेको आरोप लगाउँदै जनताले अझै पनि सुशासन र आर्थिक विकासको अनुभूति गर्न नसकेको तथा जनताको समस्या समाधान हुन नसकेको बताए ।

जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले लोकतान्त्रिक व्यवस्था अझै परिपक्व नभएको र विकासको चरणमा रहेको उल्लेख गरे । समानुपातिक र समावेशी प्रतिनिधित्वसहितको समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको उनको भनाइ थियो । साथै, संसद् र संसदीय समितिले सरकारलाई प्रभावकारी रूपमा निगरानी गर्न नसकेको र भ्रष्टाचार संस्थागत बन्दै गएकोप्रति गुनासो आइरहेको नेता श्रेष्ठले बताए ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कानुनी राज्य, प्रेस स्वतन्त्रता र मानव अधिकारको रक्षा लोकतन्त्रको मूल आधार भएको उल्लेख गर्दै विद्यमान शासन व्यवस्थाले मात्र त्यसको प्रत्याभूति गर्न सक्ने बताए । अहिलेको संविधान सबै जातजाति, वेशभूषा, धर्म र लिङ्गको प्रतिनिधित्व हुनेगरी निर्माण भएको उल्लेख गर्दै उनले निरङ्कुशता र एकतन्त्रीय शासनलाई निषेध गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले लोकतान्त्रिक व्यवस्थालाई उल्टाउने प्रयास केवल दिवास्वप्न मात्र हुने बताए । पूर्वराजा ज्ञानेन्द्र शाहले पुनः सत्तामा आउन चाहेको भए जनताको मत लिएर चुनाव जित्नुपर्ने उल्लेख गर्दै अब राजतन्त्र फर्कने कुरा केवल कल्पनामा सीमित रहने स्पष्ट पारे । जनताले प्राप्त सार्वभौमसत्ता फेरि कुनै व्यक्तिमा केन्द्रित नहुने उनको भनाइ थियो । संविधान संशोधनको आवश्यकता रहेको उनले बताए ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता कर्णबहादुर थापाले जनताले सङ्घर्ष गरेर स्थापित गरेको व्यवस्थालाई उल्टाउने प्रयास असफल हुने बताए ।