मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

कांग्रेस अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारप्रति संवेदनशील छ : सभापति देउवा

कांग्रेस अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारप्रति संवेदनशील छ : सभापति देउवा


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको पार्टी अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारप्रति संवेदनशील रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा सभापति देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपाङ्गता भएका व्यक्तिहरूको महत्त्वपूर्ण योगदान रहेको बताए ।

“नेपाललाई आधुनिक विकासको बाटोमा अघि बढाउने क्रममा अपाङ्गता भएका व्यक्तिहरूको उत्प्रेरणा, सुझाव, सहयोग र सकारात्मक भूमिका सदा प्रशंसायुक्त रह्यो, २००७ सालको जनक्रान्तिदेखि आजसम्म शारीरिक, मानसिक, वौद्धिक तथा अन्य प्रकारको अपाङ्गताका बाबजुद कांग्रेसको आह्वान र नेतृत्वमा भएका सङ्घर्षमा साथ दिने सबैलाई ससम्मान सम्झना गर्न चाहन्छु”, उनले भने ।

लोकतन्त्रले मात्र सबै वर्ग, क्षेत्र, लिङ्ग, वर्ण वा समुदायको हकहितको रक्षा गर्दछ भन्ने कुरा नेपालको आफ्नै अनुभवले प्रष्ट पारेको सभापति देउवाको भनाइ छ ।

“वि.सं. २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि मात्र अन्य क्षेत्रले झै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न नेपालमा ठोस कदम चालिएका हुन्, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिमा नेपालले सुरूमै हस्ताक्षर गरेको हो, अपाङ्गताको परिभाषा, वर्गीकरण, परिचय–पत्रको व्यवस्था, सामाजिक सुरक्षा भत्ताको सुरूवात तथा आवश्यक नीति, रणनीति, कार्ययोजना निर्माण भएका हुन्”, सभापति देउवाले भने, “नेपालको वर्तमान संविधान अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, सहज र सुलभ जीवनयापनको पक्षमा उभिएको छ । अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारप्रति संवेदनशील छ ।”

सरकारले चाहेर पनि अपाङ्गता भएका व्यक्तिहरूलाई पर्याप्त सेवा सुविधा दिन नसकिरहेको तर्फ पार्टी सचेत रहेको भन्दै सभापति देउवाले मुलुकको आर्थिक विकाससँगै यस क्षेत्रको सेवा, सुविधा र रोजगारी अभिवृद्धिमा प्राथमिकता दिन आफूहरू प्रतिबद्ध रहेको बताए ।

“राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले नेपाली कांग्रेसको केन्द्रीय समितिले तोकेको निर्धारित समयसीमाभित्र तल्ला तहका अधिवेशन सम्पन्न गरी पहिलो केन्द्रीय महाधिवेशन सम्पन्न गर्न लागेकोमा सम्वद्ध सबैलाई धन्यवाद दिन चाहन्छु”, सभापति देउवाले भने । महाधिवेशनले सङ्घलाई संस्थागत रूपमा थप सशक्त बनाउँदै उनले समावेशी लोकतान्त्रिक अभियानलाई प्रवद्र्धन गर्न तथा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र पहिचानलाई थप स्थापित गर्न दिशा मार्गनिर्देश गर्नेछ भन्दै शुभेच्छा व्यक्त गरे ।

सभापति देउवाले अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकारलाई थप सुनिश्चित गर्न यस राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले उठाएका सवाल र सुझावलाई कार्यान्वयन गराउँदै जानेतर्फ कांग्रेस प्रतिबद्ध रहेको जानकारी गराए ।

शेयर गर्नुहोस:

108
Shares