मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सेनाले संविधानप्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापतिको प्रतिबद्धता

सेनाले संविधानप्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापतिको प्रतिबद्धता

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना सदैव देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकताको रक्षार्थ जस्तोसुकै परिस्थितिमा पनि संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

कैलालीस्थित सुदूरपश्चिम पृतना मुख्यालय आज आयोजित भूतपूर्व सैनिक सम्मेलनमा उनले राष्ट्रिय हित संरक्षण गर्न नेपाली सेना गम्भीर रहेको स्पष्ट पारे ।

सेनाले राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन पु¥याइरहेको योगदानले आमनेपालीलाई गर्वको अनुभूति गराएको उल्लेख गर्दै प्रधानसेनापति सिग्देलले राष्ट्रको सर्वाङ्गीण विकासमा गरेको योगदानका कारण नेपाली जनतामाझ सेना र भरपर्दो सङ्गठनका रुपमा स्थापित भएको बताए । “यो विश्वास कहिल्यै पनि टुट्न दिनु हुँदैन”, उनले भने ।

संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा नेपाली सेनाले गरेको योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा मुक्तकण्ठले प्रशंसा भइरहेको जनाउँदै प्रधानसेनापति सिग्देलले यसबाट विगतदेखि नेपाली सेनाको निःस्वार्थ सेवाभाव, जिम्मेवारी र कर्तव्य पालनाप्रतिको संवेदनशीलतालाई प्रतिविम्बित गरेको बताए ।

“भूपू सम्मेलन सैनिक पुनर्मिलनको मह¤वपूर्ण अवसर हुनाका साथै एकापसमा अनुभव साट्ने तथा बहालवाला र अवकाश प्राप्त सैनिकबीच हार्दिकता र सामूहिक भावना थप फराकिलो बनाउने अवसर पनि हो”, उनले भने । नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले बहालवाला तथा अवकाश प्राप्त सैनिकका परिवारजनलाई आयआर्जनका लागि विभिन्न कल्याणकारी कार्य अघि बढाइएको जानकारी दिए ।

सुदूरपश्चिम पृतनापति प्रकाश देउजाले सकलदर्जामा एकताको भावना अभिवृद्धि गराउन सम्मेलनले सघाउने विश्वास व्यक्त गरे । उनले कल्याणकारी कार्यक्रमअन्तर्गत उपलब्ध गराइएका विभिन्न सुविधा प्रयोग गरी बढीभन्दा बढी लाभ लिन सकलदर्जालाई अनुरोध गरे ।

समारोहमा प्रधानसेनापति सिग्देलले चार जना वा सोभन्दा बढी सन्ततिलाई सेनामा पठाएबापत सकलदर्जाका अभिभावक बाजुराका बलवान खड्का र डडेलधुराका प्रजापति अवस्थीलाई सम्मान, एवं अवकाश प्राप्त सुवेदार केशवदत्त पाण्डेयलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरे ।

उनले ज्येष्ठ भूतपूर्व सैनिक तथा एकल महिलालाई सम्मान, ह्वील चियर एवं वैशाखी प्रदान, लघु उद्यम व्यवसायीलाई प्रशंसापत्र एवं पुरस्कार प्रदान गरे ।