मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा राजा-महाराजा खोज्ने होइन : सञ्चारमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा राजा-महाराजा खोज्ने होइन : सञ्चारमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा राजा-महाराजा खोज्नुको औचित्य नरहेको बताएका छन् ।

नेपाल चेपाङ सङ्घले आज यहाँ आयोजना गरेको ‘चेपाङ स्वायत्त, विशेष र संरक्षित क्षेत्र घोषणा तथा चेपाङ समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार’ विषयको छलफल कार्यक्रममा मन्त्री गुरूङले वर्तमान अवस्थामा राजतन्त्र खोज्नु निरर्थक भएको टिप्पणी गरे ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले समाज विकास र राष्ट्रिय एकताका लागि सङ्घीय शासन प्रणाली समय सुहाउँदो शासन व्यवस्था भएको उल्लेख गर्दै सङ्घीयताको भरपुर फाइदा लिनुपर्नेमा जोड दिए । आदिवासी जनजाति समुदायलगायत सीमान्तकृत वर्गलाई सङ्घीयता महत्त्वपूर्ण उपलब्धि भएको उनको कथन थियो । ठूलो राजनीतिक सङ्घर्ष पछि स्थापित वर्तमान शासन व्यवस्थाबाट लाभ लिन सीमान्तकृत समुदाय चनाखो हुनुपर्नेमा मन्त्री गुरूङले जोड दिए ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आदिवासी जनजातिका लागि महत्त्वपूर्ण उपलब्धि हो”, उनले भने, “हामी यो व्यवस्थाले दिएका अधिकारहरुबाट लाभ उठाउन अझै चुकेका छौँ ।”

राष्ट्रिय एकताको मूल आधार समावेशी र समतामूलक समाज भएको बताउँदै उनले समावेशी पद्धति कार्यान्वयनमा राज्य संवेदनशील हुनुपर्ने बताए । चेपाङ समुदायको संरक्षणमा जोड दिँदै उनले त्यस निम्ति नीतिगत व्यवस्था हुनुपर्ने धारणा व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य गीता पौडेलले तीन तहका सरकारले अब विकासको प्रारुप परिवर्तन गरेर समावेशी ढाँचालाई जोड दिनुपर्ने बताइन् ।

आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष रमेश गुरूङले सीमान्तकृत समुदायभित्र चेपाङ समुदाय पनि पर्ने भएकाले सरकारले प्राविधिक शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

सङ्घका अध्यक्ष गोविन्दराम चेपाङले २०३४ सालदेखि चेपाङ समुदायको विकासका लागि राज्यले सञ्चालन गर्दै आएको प्रजा विकास कार्यक्रम २०७४ सालमा रोकिएको गुनासो गरे । “चेपाङ समुदायको विकासमा राज्यले बजेट छुट्याउनुपर्छ”, उनको माग थियो ।