मार्च १७, ह्युस्टन, टेक्सस ।
गैरआवासीय नेपालीहरुले संस्थागतरुपमै ‘एक पटकको नेपाली संधैको नेपाली’ अभियान चलाएको दशक बित्यो। त्यही अभियानको दबावले २०७२ सालना जारी भएको नेपालको संविधानमा सार्क मुलुक बाहेकका देशमा बसोबास गर्ने नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था भयो। संविधान जारी भएको आठ वर्षमा नेपाल सरकारले कानुन र नियमावली बनाएर प्रदान गर्न सुरू गरेको गैरआवासीय नागरिकता कार्यान्वयनको तहमा पुग्दा केही काम नलाग्ने भयो। गैरआवासीय नेपाली नागरिकता नेपालमा सरकारी कामकाजमा प्रयोग हुन सकेन। सरकारी अड्डाहरुले नै संवैधानिक व्यवस्था भएपनि कार्यान्वयनमा कैयन कानुनी अड्चन देखाएर गैरआवासीय नेपाली नागरिकतालाई एउटा कागजको टुक्रा जस्तो व्यवहार गरे।
एनआरएन कार्ड भएकाहरुले पाएजति सुविधा समेत नभएको गैरआवासीय नेपाली नागरिकताको के काम? नागरिकता पनि भन्ने तर नेपाल जाँदा भिसा लिनुपर्ने र सरकारी कामकाजमा प्रयोग नहुने नागारिकताले प्रावासी नेपालीहरुलाई असहज मात्र बनाएको भुक्तभोगीहरुको सयौं गुनासाहरु सुनिन थालेपछि नेपाल फर्केर व्यवसाय शुरु गरेका, अमेरिकाबाट स्थायीरुपमै नेपाल फर्केर घर/व्यवसाय खरीद गर्न चाहेका प्रवासी नेपालीहरुले हालै ‘नागरिकता खोई’ अभियान शुरु गरेका हुन्। अभियानले गैरआवासीय नेपाली नागरिकता कहीं काम नलाग्ने भएपछि वंशजको नेपाली नागरिकता कै निरन्तरताको अभियान सुरु गरेको हो।
क्यालिफोर्निया निवासी नेपाली व्यवसायी बासुदेव घिमिरे र टेक्ससको ह्युस्टनमा २० वर्ष बसेर नेपाल फर्केका बरिष्ठ पत्रकार तारा बराल सहितले आफूहरुले लिएको गैर आवासीय नेपाली नागरिकता ‘कागजको टुक्रा’ साबित भएपछि ‘नागरिकता खोई’ अभियान शुरु गरेका हुन्। हो, त्यही अभियानको एक हिस्साका रुपमा अहिले घिमिरे र बराल अमेरिकामा रहेका नेपालीहरुलाई पनि अभियानमा सरिक हुन आव्हान गर्दै विभिन्न शहरुहरुमा सामुदायिक अन्तरक्रिया गरिरहेकाछन्। अभियान अन्तर्गत शनिवार मार्च १५ मा टेक्ससको ड्यालसमा सामुदायिक छलफल गरेको नागरिकता खोई अभियानले हिजो आइतवार ह्युस्टनमा एक सामुदायिक अन्तरक्रिया गरेको छ।
नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) संगको सहकार्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी प्रवासी नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता लिएपछि आफूहरुले भोगेको समस्या, वंशजको आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता लगायतका विषयमा जिज्ञासाहरु राखेका थिए।
‘नागरिकता खोई’ अभियानका संयोजक वासुदेव घिमिरले बिगत डेढ वर्षदेखि नेपालमा व्यवसाय गर्दा सरकारी निकायहरुमा झेलेको सास्तीका बारेमा चर्चा गरेका थिए। जन्मसिद्ध रुपमा प्राप्त गरेको नागरिकता खारेज गरेर गैरआवासीय नेपाली नागरिकता दिनु भन्दा वंशजकै नेपाली नागरिकताको निरन्तरता हुँदा नेपालको हित हुने बताएका घिमिरेले वंशजको नेपाली नागरिकता कायम रहेमा विदेशमा रहेका नेपालीहरुले नेपालमा निर्धक्क लगानी गर्ने र अवकाश जीवन बिताउन जाने हुँदा त्यसबाट नेपालमा लगानी र रेमिट्यान्सको रुपमा अरबौँ डलर भित्रिने तथ्याङ्क समेत प्रस्तुत गरे । अभियानको सिलसिलामा राजनीतिक दलका नेता/सांसद्हरुलाई भेटेर वंशजको नागरिकता निरन्तरताका लागि पहल गरिरहेको जानकारी गराउँदै घिमिरेले ह्युस्टन लगायतका शहरमा बस्ने नेपालीहरुलाई समेत अभियानलाई सहयोग पुऱ्याउन आव्हान गरे।
सोही अवसरमा डेढ वर्षअघि अमेरिकाबाट नेपाल फर्किएका बरिष्ठ पत्रकार तारा बरालले एनआरएन नागरिकता लिएपछि आफूले भोगेको समस्याको फेहरिस्त राख्दै नेपाली नागरिकता निरन्तरता अब सबै गैरआवासीय नेपालीहरुको माग हुनुपर्ने विषय उठाएका थिए। नेपाललाई आर्थिक दृष्टिकोणले समेत सहयोग पुग्ने भएकाले एनआरएनएले पनि अब नेपाली नागरिकताको निरन्तरताको विषय उठाउनु पर्ने बताए।
सहभागीहरुले नागरिकता निरन्तरताको अभियान चलाउनेहरुले गैरआवासीय नेपालीसंघसंग मिलेर एकिकृत अभियान संचालन गर्न र मुख्य राजनीतिक पार्टीहरुको समेत सहयोग पाउने वातावरण बनाउन सुझाएका थिए।
डा. विजय झा, सतीश त्रिपाठी, माया गौतम, दीपक उप्रेती, रतन झा, डा. मेनुका कार्की, मिना पौडेल, शेष बराल लगायतका सहभागीहरुले गैरआवासीय नेपाली नागरिकता, नेपालमा सरकारी कामगर्दा भोगेका समस्या, नेपाली नागरिकताको निरन्तरता र प्रवासबाट गर्न सकिने सहयोगका बारेमा जिज्ञासा र टिप्पणी गरेका थिए।
कार्यक्रममा सहभागी नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुशासन विभागका सदस्य डा. भरतमणी देवकोटाले आफूहरुले गैरआवासीय नेपालीहरुको समस्या बुझेको र आफ्नो पार्टी नेपाली नागरिकताको निरन्तरताको पक्षमा रहेको जानकारी गराएका थिए। रास्वपा अध्यक्ष एवं पूर्व गृहमन्त्री रवि लामिछानेको सचिवालयमा काम गरिसकेका डा. देवकोटाले नेपाल फर्केर पार्टी पदाधिकारीहरुलाई नेपाली नागरिकताको निरन्तरता बारे संसदमा समेत कुरा उठाउन अनुरोध गर्ने बताए।
एनएएचका अध्यक्ष ज्ञानेश्वर श्रेष्ठको सभापतित्वमा संचालित कार्यक्रममा सहभागीहरुलाई एशोसियसनका सल्लाहकार द्रोण गौतमले स्वागत गरेका थिए। एनएएच र ह्युस्टनका नेपालीहरुको तर्फबाट अभियानले उठाएको गैरआवासीय नेपालीहरुको जायज मागलाई सहयोग हुने अध्यक्ष श्रेष्ठ र सल्लाहकार गौतमले बताएका थिए। ह्युस्टनको नेपाली समुदायलाई नेतृत्व गरिसकेका पूर्व अध्यक्षहरु, समुदायलाई विशेष योगदान दिएका र पेशागत दक्षता प्राप्त करिब ८० जना महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो।
प्रतिक्रिया