मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

संसद्को चालू अधिवेशनबाट दर्जनौँ ऐन पारित हुन्छन् : अध्यक्ष दाहाल

संसद्को चालू अधिवेशनबाट दर्जनौँ ऐन पारित हुन्छन् : अध्यक्ष दाहाल

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाटन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को चालू अधिवेशनबाट शिक्षा ऐनसहित दर्जनौँ ऐन पारित हुने बताएका छन् ।

निर्भाणा माध्यमिक विद्यालयद्वारा आयोजित ३९औँ अभिभावक दिवसका अवसरमा अध्यक्ष दाहालले जनताका मौलिक हकअधिकार कार्यान्वयनका लागि ऐन पारित गर्न आवश्यक रहेको चर्चा गर्दै संसद्को चालु अधिवेशनबाटै ऐनहरु पारित हुने बताएका हुन् ।

“हामी अझै पञ्चायतकालीन ऐनबाट निर्देशित हुन परिरहेको छ, ऐन निर्माण गर्ने ठाउँको नेतृत्वमा रहेर पनि व्यावहारिक कानुनी जटिलताका कारण सोचेजस्तो काम हुन नसकेको कुरा म आफैँलाई अनुभूत भएको छ”, उनले भने, “शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने विद्यालय शिक्षा विधेयक अहिले प्रतिनिधिसभामा छलफलकै क्रममा छ । यो विधेयक दुवै सदनबाट पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरु समाधान हुनेछन् भन्ने मैले विश्वास लिएको छु ।”

अध्यक्ष दाहालले अहिले दुवै सदनमा निजामती विधेयक, प्रहरी समायोजनलगायतका विधेयक छलफलमा रहेको जानकारी गराए । “शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउने मात्र होइन, समाजलाई समुन्नत बनाउन पनि उत्तिकै भूमिका खेलेको हुन्छ, शैक्षिक क्षेत्रबाट उत्पादित दक्ष जनशक्तिले नै मुलुकको समग्र विकास र समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन उपयुक्त वातावरण निर्माण गर्नु हामी सचेत नागरिकको दायित्व हुन्छ”, उनले भने ।

उनले निर्भाणा विद्यालयले ‘संस्कारसहितको व्यावहारिक शिक्षा’लाई मूल उद्देश्य बनाएकामा खुसी व्यक्त गर्दै शिक्षा ज्ञान आर्जन गर्ने प्रक्रिया मात्रै नभई व्यक्तिको चरित्र निर्माण गर्ने मुख्य आधार हो भने ।

“मेरो बुझाइमा संस्कारसहितको शिक्षा भनेको विद्यार्थीलाई किताबी ज्ञान दिनुमात्र होइन, उनीहरूलाई नैतिकवान्, इमान्दार, जिम्मेवार र अनुशासनजस्ता मानवीय गुणहरू पनि सिकाउनु हो, त्यस्तै व्यावहारिक शिक्षा भनेको जीवनोपयोगी सीपहरू समस्यासँग जुध्ने क्षमता, आत्मनिर्भर र समाजसँग सकारात्मक रूपमा अन्तरक्रिया गर्न सक्ने क्षमता विकास गर्नु हो । जब यी दुई पक्षलाई एकसाथ जोडिन्छ, तबमात्र सम्पूर्ण शिक्षा प्रणालीले व्यक्तित्वको समग्र विकास गर्न सक्छ”, उनले भने ।

सबै मिलेर बालबालिकालाई शिक्षित मात्रै होइन, असल र जिम्मेवार नागरिक बनाउने शिक्षा दिन आवश्यक छ भन्नेमा अध्यक्ष दाहालले जोड दिए । “संस्कारसहितको व्यावहारिक शिक्षा विद्यार्थीको व्यक्तिगत सफलताको मार्ग तयार गर्ने विषय मात्रै होइन, सभ्य, नैतिक र समृद्ध समाज निर्माण गर्ने आधार पनि हो, यसतर्फ यहाँहरुको सचेत पहलकदमी र नेतृत्वदायी भूमिका रहने मैले विश्वास लिएको छु”, उनले भने ।

उनले नेपालको शिक्षाको विकासमा संस्थागत विद्यालयको योगदान निकै महत्त्वपूर्ण रहेको बताए । “गुणस्तरीय शिक्षा, अवसरको विविधता, शैक्षिक प्रतिस्पर्धा र सुधार, रोजगारीजस्ता विषयमा संस्थागत विद्यालयले राम्रो योगदान गरिरहेका छन् । गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयले गरेको सकारात्मक प्रतिस्पर्धाले सरकारी विद्यालयलाई पनि विद्यार्थीको नतिजा सुधार गर्न प्रेरित गरेको मैले बुझेको छु”, उनले भने । तथापि नीतिगत सुधार र सबैको समान पहुँच सुनिश्चित गर्नसके संस्थागत विद्यालयहरू नेपालको शैक्षिक विकासमा अझ ठोस भूमिका खेल्नेमा उनले विश्वास व्यक्त गरे ।

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले अभिभावकको विश्वास जितेर विद्यालयले विद्यार्थी बढाउन सफल भएजस्तै गुणस्तरीय शिक्षामा जोड दिन सुझाव दिए । उनले सबै बालबालिका सक्षम हुनका लागि जन्म लिएको हो भन्दै उनीहरुलाई सक्षम र सबल बनाउँदै क्षमता अभिवृद्धि गर्न अभिभावकले माया, सद्भाव र उप्रेरणा जगाउने खालका क्रियाकलापमा जोड दिनुपर्नेमा जोड दिए । उनले विश्व बजारमा बिक्ने मात्रै हैन संसारलाई नेतृत्व गर्नसक्ने जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ भने ।

अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले सन्तानको शिक्षादीक्षा आमाबाबुको महत्त्वपूर्ण चासोको विषय भएको बताउँदै २०२८ सालको शिक्षा ऐन समयसापेक्ष परिमार्जन हुन नसक्दा देशको विकास प्रभावकारी हुन नसकेको धारणा राखे ।

नेपालको संविधानले निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गरे पनि सार्वजनिक विद्यालयको शिक्षा प्रभावकारी हुन नसक्दा निजी विद्यालयको आवश्यकता रहेको उनको भनाइ थियोे । उनले जीवन र कर्मसँग नजोडिने शिक्षा काम नलाग्ने उल्लेख गर्दै विद्यार्थीलाई दोष दिनेभन्दा पनि नेपालको शिक्षा प्रणालीलाई सुधार गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिए ।

प्रधानाध्यापक शिव कार्कीले संस्कारसहितको व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित विद्यालयले सङ्ख्यात्मकभन्दा पनि गुणात्मक विकास गर्ने लक्ष्य राखेको बताए । हाल विद्यालयमा दुई हजार दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिए । उनले नवीनतम प्रविधिको शिक्षण प्रविधि अपनाएर विद्यार्थीको शारीरिक, मानसिकका साथै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको उल्लेख गरे ।

अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा २९ वर्ष एउटै विद्यालयमा अध्यापन गर्ने सबिता श्रेष्ठ, निरशोभा चित्रकारका साथै शिक्षासेवी गोपालकृष्ण भट्टराई, आमा घरकी सञ्चालक दिलशोभा श्रेष्ठलाई रु ५० हजार, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको थियोे ।

कार्यक्रममा कान्तिपुर टेलिभिजनका पत्रकार नारायण किलम्बुलाई रु १० हजारसहित सम्मान गरिएको छ । त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासङ्घ ललितपुरका अध्यक्ष रामहरि कार्की र नेपाल स्काउटका आयुक्त देवराज घिमिरेलाई सम्मान गरिएको थियोे ।