काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई बलियो बनाउन दलबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली काँग्रेस संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको र कुनै पनि प्रतिगमन वा षड्यन्त्रका विरुद्ध सबै दलसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।
थापाले अहिले नागरिक तहमा देखिएको असन्तुष्टिको कारणलाई गम्भीरतासाथ लिनुपर्नेमा जोड दिए । उनले ठूलो सङ्ख्यामा युवा सडकमा उत्रिनु व्यवस्था विरोधी चेतावनी भएकाले यसलाई नजरअन्दाज गर्न नहुने बताए । “नागरिक तहमा असन्तुष्टि छ, आक्रोश छ । त्यसलाई हामीले सम्बोधन गर्नुपर्छ, बेवास्ता गर्नु हुँदैन,” उनले भने ।
लोकतान्त्रिक व्यवस्थामा आलोचना स्वीकार्य भएपनि दलप्रति घृणा फैलाउने काम गर्न नहुने उनको भनाइ छ । “हामीले आलोचना गर्नुपर्छ, प्रश्न उठाउनु पर्छ, तर लोकतन्त्रलाई कमजोर पार्ने गरी द्वेष फैलाउनु हुँदैन”, उनको भनाइ थियो ।
महामन्त्री थापाले संघीयता बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउनेतर्फ केन्द्र सरकार उदासीन रहेको आरोप लगाए । “हामी आफैँले प्रदेशलाई अधिकार नदिएर कमजोर बनाएका हौँ । कानुन निर्माण नहुँदा प्रदेश सरकार असक्षमजस्तै बनेका छन्,” उनले भने ।
भ्रष्टाचार नियन्त्रणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा थापाले जोड दिए। “सांसदको सम्पत्तिको छानबिन गर्न हामी सबैले माग गरिरहेका छौँ । त्यसका लागि उपयुक्त आयोग वा उच्चस्तरीय समिति के गठन गर्नुपर्छ ? त्यसका लागि हामी तयार छौँ,” उनले भने ।
महामन्त्री थापाले लोकतन्त्रमा नागरिक सर्वोपरि हुने भएकाले सबै दललाई संविधान र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा पहल गर्न आह्वान गरे ।
प्रतिक्रिया