अमेरिका- अमेरिका र युक्रेनका राष्ट्रपति बीच सबै कुरा कार्यक्रमअनुसार भएको भए, शुक्रबार दिउँसो दुवै देशका राष्ट्रप्रमुखले पत्रकार सम्मेलनमार्फत विश्वलाई केही सन्देश दिने तय भएको थियो। संयुक्त पत्रकार सम्मेलनका लागि कुर्सीहरू तयार पारिएका थिए। अमेरिका र युक्रेनका झण्डा राखिसकिएको थियो।
रुससँग युद्ध गरिरहेको युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की नयाँ सम्झौताका लागि शुक्रबार ह्वाइट हाउस आएका थिए। दुई देशका सरकार प्रमुखबीच हुन लागेको वार्ता र त्यसपछि आउने नतिजालाई विश्वभर चासोका साथ हेरिएको थियो।
तर, राष्ट्रपति ट्रम्प र जेलेन्स्कीबीचको वार्ता योजना अनुसार अघि बढ्न सकेन। वार्ताको समाचार संकलन गर्न त्यहाँ पुगेका पत्रकारहरूकै अगाडि दुई देशका सरकार प्रमुख विवादमा उत्रिए। वार्तालाप सहज हुन सकेन। तनाबपूर्ण वातावरणमा सम्पन्न भएको यो वार्ता असहज रूपमा टुंगियो।
यही कारणले संयुक्त पत्रकार सम्मेलन र युक्रेन र अमेरिका बीच हुन लागेको खनिजसम्बन्धी सम्झौता दुवै रद्द भए। जेलेन्स्की वार्ता लगत्तै ह्वाइट हाउसबाट बाहिरिए।
ट्रम्पले “जब शान्ति चाहन्छौं, त्यो दिन वार्ता गर्न फेरि आउ” भनेर जेलेन्स्कीलाई विदा गरे। वार्तामा अमेरिकाका उपराष्ट्रपति जेडी भेन्ससहित युक्रेनका वरिष्ठ अधिकारीहरू पनि सहभागी थिए।
वार्ता असहज हुन थालेपछि युक्रेनका राजदूतले नोट टिप्न छोडेर हातमा टाउको राखेकी थिइन्।
ह्वाइट हाउसभित्र दुई देशका राष्ट्रप्रमुखबीचको वार्तामा यस्तो अवस्था अहिलेसम्म नदेखिएको भन्दै अहिले मिडियामा टिप्पणी भइरहेको छ।
यो असहज वार्ताले अमेरिकाको सहयोगमा रुससँग तीन वर्षदेखि युद्ध गरिरहेको युक्रेनको भविष्य के हुने भन्ने अन्योल सिर्जना गरेको छ। यो वार्तापछि युरोपका ठूला देशहरूले भने जेलेन्स्कीलाई साथ दिइरहने प्रतिक्रिया दिएका छन्।
यस वार्ताले अमेरिकाको विश्वासनीयता र प्रभाव जस्ता विषयमा पनि प्रश्न उठाएको छ। विश्वको अमेरिकालाई हेर्ने दृष्टिकोण परिवर्तन भएमा यसले अमेरिकालाई समेत हित गर्दैन भन्ने प्रश्न पनि छ । यसले अमेरिकाले आफ्ना मित्रहरु गुमाउने खतरा पनि वढेको छ ।
प्रतिक्रिया