अस्टिन, टेक्सास – ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स) द्वारा आयोजित महाशिवरात्रि तथा हट्टो सिटी ‘टेम्पल डे’ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
सोमबारबाट सुरु भएको यस धार्मिक उत्सव बुधबार महाशिवरात्रिका दिन विशेष पूजा, महाआरती, भजन, स्तुति गान, र सामूहिक भजनसहित भव्य रूपमा सम्पन्न भएको हो।

यस वर्षको महाशिवरात्रि मेलामा करिब २५०० भक्तजनहरूको ऐतिहासिक उपस्थिति रहेको र यो अस्टिनमा नेपाली समुदायका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो सहभागिता रहेको ग्यान्सका अध्यक्ष बिदुर खतिवडाले बताए । श्रद्धालु भक्तजनहरू दिनभर पूजाआजा, शिवलिंग अभिषेक, महाआरती, शिव ताण्डव स्तोत्र पाठ तथा महाप्रसाद ग्रहणमा सहभागी भए।

यस ऐतिहासिक महाशिवरात्रि कार्यक्रमबारे कुरा गर्दै ग्रेटर अस्टिन नेपाली सोसाइटीका पूर्व अध्यक्ष भोजराज भट्टले हिमालय खबरसँग भने, “यसपटकको महाशिवरात्रिमा भएको भक्तजनहरूको सहभागिताले सम्पूर्ण ग्यान्स टिमलाई अझ ऊर्जा प्रदान गरेको छ। यो हाम्रो समुदायको एकता र धार्मिक आस्थाको प्रतिक हो। भविष्यमा पनि हामी यस किसिमका धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिनेछौं।”
ग्यान्सले भक्तजनहरूको सुविधाका लागि हट्टो सिटीको एडम ओर्गान पार्कबाट मन्दिरसम्म निःशुल्क शटल सेवा उपलब्ध गराएको थियो ।
थप तस्बिरहरु :

















प्रतिक्रिया