मिनेसोटा — सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मा अध्ययनरत एक महिलालाई दुई अपरिचित विद्यार्थीहरूले जबरजस्ती उनको कोठामा धकेलेर एकजनाले बलात्कार गरेको गम्भीर आरोप लागेको छ।
स्टेर्न्स काउन्टी जिल्ला अदालतमा दायर मुद्दाका अनुसार, २० वर्षीय दिपक फयाल माथि पहिलो श्रेणीको आपराधिक यौन दुर्व्यवहार, सह-अपराधीको रूपमा संलग्नता, र तेस्रो श्रेणीको यौन दुर्व्यवहारको आरोप लगाइएको छ। उनका साथी १९ वर्षीय सुजन तामाङ लाई पहिलो र चौथो श्रेणीको यौन दुर्व्यवहारमा सह-अपराधीको रूपमा संलग्न भएको आरोप लगाइएको छ।
स्थानीय नेपाली समुदायका अनुसार, यी दुई युवाहरू नेपाली मूलका रहेको बताइएको छ। यद्यपि, अनुसन्धान अधिकारीहरूले उनीहरूको नागरिकता सार्वजनिक गरेका छैनन्।
मुद्दाका अनुसार, नोभेम्बर १ को रात २ बजे र ३ बजेबीच, ती महिलाले आफ्नो डोरमेटरीतर्फ हिँडिरहेका बेला दुई अपरिचित पुरुषहरूले उनलाई जबरजस्ती उनको कोठामा धकेले। ढोका बन्द गरेर, तीमध्ये एकजनाले उनलाई नियन्त्रणमा राख्दा अर्कोले जबरजस्ती चुम्बन र दुर्व्यवहार गरेको पीडितले बताइन्।
एक जना पुरुष बाहिर गएर गार्डको रूपमा उभिएको जस्तो देखियो भने, अर्कोले महिलालाई बलात्कार गरेको आरोप छ।
त्यस बिहान, पीडित महिलाले आफ्नो इन्स्टाग्राममा फयाल नामक एक व्यक्तिबाट ‘तिमीलाई कस्तो महसुस भइरहेको छ?’ भन्ने सन्देश प्राप्त गरिन्। ती अकाउन्टको फोटो हमलाकारी जस्तो देखिएको उनले बताइन्।
सीसीटीभी फुटेजको अनुसन्धानपछि, क्याम्पस सुरक्षाका एक अधिकृतले ती दुई पुरुषहरूलाई पहिचान गरे। प्रहरी अनुसन्धानका क्रममा फयालले पहिलो बयानमा महिलालाई चिनेको अस्वीकार गरे तर पछि उनले ‘महिलाले आफैं प्रस्ताव राखेको तर आफूले अस्वीकार गरेको’ दाबी गरे।
अनुसन्धान अनुसार, अस्पताल परीक्षण गर्दा महिलाको शरीरमा ताजा चोटहरू देखिएका थिए, जसमा फयालको डीएनए र तामाङको डीएनए भेटिएको थियो। मेडिकल परीक्षणले जबरजस्ती यौन दुर्व्यवहार भएको प्रमाण देखाएको छ।
पुलिसका अनुसार, फयाल र तामाङ हाल मिनेसोटा राज्य बाहिर भागिसकेको हुनसक्ने अनुमान गरिएको छ। दुबैका लागि राष्ट्रव्यापी पक्राउ आदेश जारी गरिएको छ।
स्थानीय नेपाली समुदायले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडा सजाय दिन माग गरेको छ। साथै, विश्वविद्यालय प्रशासनले पनि घटनालाई गम्भीर रूपमा लिँदै सुरक्षा उपायहरू कडा बनाउने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया