काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर फिल्म ‘योगमाया’ निर्माण घोषणा गरिएको छ । पशुपतिनाथ र भोजपुरको योगमाया शक्तिपीठमा एकसाथ पूजा गर्दै फिल्म घोषणा गरिएको हो ।
भोजपुरको योगमाया समाधिस्थलमा स्व.पहलमानका छोरा नवराज बस्नेत, योगमाया शक्तिपीठका अध्यक्ष भूपाल बस्नेत, गुरु दामोदर भण्डारी, फिल्मका लेखक तथा टेक्निकल निर्देशक नेत्र छन्त्याल, उदास बैरागी, योगमाया खेलकुद समितिका अध्यक्ष भूपाल कठेत, टीकाराम भण्डारी, विनोद भट्टराई, मधुसूदन भटराई, जगन्नाथ अधिकारी, जीवनाथ सुवेदी, निलमणि खनाल, सोमनाथ भण्डारी, कृष्णमाया नेपाल, होडबहादुर कठेत, विद्याराज न्यौपाने लगायतले स्कृप्ट तथा पोस्टर पूजा गरेका थिए ।
फिल्मका निर्देशक रिमेश अधिकारी, कलाकार शिवशंकर रिजाल, लय संग्रौलालगायतले काठमाडौँको पशुपतिनाथ मन्दिरमा स्क्रिप्ट तथा पोष्टर पूजा गर्दै फिल्म घोषणा गरेका हुन् ।
‘योगमाया’ राणा शासनको विरुद्ध आवाज उठाउँदै जल समाधि लिने भोजपुरकी नेपाली महिला योगमाया न्यौपानेको कथामा निर्माण हुन लागेको हो । उनी जुद्धशम्शेर राणाको समयमा समाजका विभेद, कुरुती, असमानता, छुवाछूत, बालविवाह, सतिप्रथा, दासप्रथा लगायतको अन्त्य गर्दै धर्मराज्य स्थापना र समाज परिवर्तनका लागि लड्ने सहासी महिला हुन् । ध्यान र योगमार्फत उनका हजारौँ अनुयायी थिए ।
जुद्धशम्शेर राणासँग आँखामा आँखा जुधाएर पटकपटक आन्दोलन गरेर आफ्नो माग राखेकी उनलाई राणाले वचन दिएर पनि धोका दिएको कारण राणाको विरुद्धमा उनले ६७ जना अनुयायीसहित अरुण नदीमा जल समाधि लिएकी थिइन् । उनले छेडेको आन्दोलन उत्सर्गमा पुगेर ९ वर्षपछि राणा शासनको अन्त्य भएको थियो ।योगमायाको संघर्ष र बलिदानको कथा फिल्मले भन्ने निर्माता/निर्देशक रिमेश अधिकारी बताउँछन् ।
फिल्मका लागि बिगत एक बर्षदेखि खोज अनुसन्धान गर्दै विभिन्न पुस्तक, जानकार व्यक्तिहरुसँगको छलफलमा फिल्मको स्क्रिप्ट रिमेश अधिकारी र नेत्र छन्त्यालले तयार गरेका हुन् । फिल्मका लागि डा. आसबहादुर तामाङ र पूर्वमन्त्री शंकर कोइरालाको शब्दमा दुई गीत तयार छन् । जसमा विनोद खम्भु र थानेश्वर गौतमले संगीत दिएका छन् ।
रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति रहने ‘योगमाया’ नवराज बस्नेत, भरत संग्रौला, ईश्वरकुमार श्रेष्ठ, माधव थापा लगायतको समूहले निर्माण गर्न लागेको हो ।फिल्मको कानुनी सल्लाहकार राधाकृष्ण पाठक, संयोजक समन अधिकारी र सत्यराज घिमिरे रहेका छन् भने लाइन प्रोड्युसर पुष्कर लामा हुन् ।
फिल्मको पशुपतिमा स्क्रिप्ट पूजासमेत गरिएको छ । कार्यक्रममा निर्माता, निर्देशक रिमेश अधिकारी, न्यौपाने बन्धु समाजका केन्द्रीय अध्यक्ष बलराम न्यौपानलगायतको उपस्थिति थियो ।
फिल्ममा बेनिशा हमाल, लय संग्रौला, रमेश बुढाथोकी, मोहन निरौला, दिनेश डिसी, शिवशंकर रिजाल, विशाल पहारी, मनोज शाक्य, बालकलाकार पोषण श्रेष्ठलगायत फाइनल भएका छन् ।
फिल्ममा अझै लिजेन्ट र थियटर कलाकार छनोटको क्रममा रहेको निर्देशक अधिकारीले बताए । फिल्मको छायाङ्कन नयाँ वर्ष २०८२ मा सुरू हुनेछ ।
प्रतिक्रिया