मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   
नेपाल   
मुख्य समाचार   

नागरिकता खोइ अभियानले अमेरिकामा अन्तरक्रिया गर्ने

नागरिकता खोइ अभियानले अमेरिकामा अन्तरक्रिया गर्ने


काठमाडौं । झन्डै पन्ध्र महिना अघि नेपाल सरकारले निक्कै तामझाम गरेर ल्याएको गैर आवासीय नेपाली नागरिकता ऐन आजसम्म पनि प्रयोजनहीन छ । न त यसको कार्यान्वयनका लागि आवश्यक नियमावली तयार भएकोछ न यो ऐनलाई सहयोग पुर्‍याउने अन्य ऐनहरु नै संशोधन गरिएको छ । सरकारको यस्तो वेवास्ता र हेलचेक्र्याँइबाट गैरआवासीय नेपालीहरु आजित भएका छन् । अझ अध्यादेश मार्फत दशवर्षे भीसा छुटको व्यवस्था ल्याएर नेपाल सरकार गैरआवासीय नेपालीका जायज माँगहरुप्रति कति पनि संवेदनशील छैन भन्ने प्रमाणित भएको छ ।

त्यसैले अब बंशजको नागरिकताको निरन्तरता नै गैरआवासीय नेपालीको आवाज बन्दै गएकोछ । यसै सन्दर्भमा विगत ७/८ महिनादेखि संचालित “नागरिकता खोइ ” अभियानले नेपाल र विदेशमा रहेको नेपाली समुदायलाई तरंगित पार्न थालेको देखिन्छ । अमेरिका , बेलायत , क्यानडा र अष्ट्रेलियामा यो अभियानले गैरआवासीय नेपालीहरुलाई जोड्ने काम प्रारम्भ गरेको छ ।

Advertisement
ADVERTISEMENT

यो अभियानका संयोजक बासु घिमिरे विगत सात महिनादेखि नेपाल मै बसेर व्यापक संपर्क र छलफलमा लागेका छन् । उनले नेपालका मूख्य राजनीतिक पार्टीका नेताहरु , बौद्धिक व्यक्तित्व , कलाकार , पत्रकार लगायत समाजका सबै तप्काका सरोकारवालाहरुलाई आफ्नो अभियानका बारेमा बुझाउने काम गरिरहेका छन् ।

उनले विभिन्न संचार माध्यमहरुबाट नागरिकता खोइ अभियानको उदेश्य , नेपालको सामाजिक र आर्थिक क्षेत्रमा यसले पुर्‍याउने सकारात्मक उपलब्धिका बारेमा सरोकारवालाहरुलाई शिक्षित र जागरुक पार्न सक्रिय देखिएका छन् । केहीदिन अघि नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालासंग यो अभियानले गरेको छलफल निक्कै चर्चामा आयो ।

त्यसैगरी काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा , काँग्रेसको पूर्व आप्रवासी विभाग लगायत नेकपा एमाले , माओवादी , राप्रपा , रास्वपा , जनमत पार्टीका प्रभावशाली नेताहरुसंग पनि नागरिकता खोइ अभियानले बंशजको नागरिकताको निरन्तरताको विषयमा आफ्नो धारणा स्पष्ट पारेको कुरा अभियानका संयोजक वासु घिमिरेले जानकारी दिएका छन् । नेपालका प्रधानमन्त्री , परराष्ट्रमन्त्री र राजनीतिक दलका शीर्षस्थ नेताहरुसंग भेटेर बंशजको नागरिकताको निरन्तरताको माँग राखिने कुरा पनि उनले बताएका छन् ।

आगामी मार्च १५ देखि अमेरिकाका केही स्थानहरुमा नागरिकता खोइ अभियानले अन्तरक्रिया गर्ने भएको छ । अभियानले हिमालयखबरलाई बताए अनुसार टेक्सासको डालस र ह्युस्टन , क्यालिफोर्नियाको लसएन्जलस र स्यान्फ्रान्सिसको अनि न्युयोर्कमा कार्यक्रम गरिनेछ ।

उक्त कार्यक्रम मार्फत नागरिकता खोइ अभियानले अमेरिकावासी नेपालीहरुसंग व्यापक विचार विमर्श गरी आवश्यक सल्लाह , सुझाव र सहयोगको लागि आह्वान गर्नेछ । अभियानले आगामी मार्च १५ मा डालस , मार्च १६ मा ह्युस्टन र मार्च २२ मा लसएन्जलसमा अन्तरक्रिया कार्यक्रमको तयारी गरेको जानकारी दिएकोछ । अन्य स्थानको कार्यक्रमको मिति भने केही समयपछि तोकिनेछ ।

अमेरिकावासी नेपालीहरुको सल्लाह र सहयोग नागरिकता खोइ अभियानका लागि अत्यन्त प्रभावकारी हुने कुरा यसका संयोजक वासु घिमिरेले बताएका छन् ।

अमेरिकामा आयोजना हुने कार्यक्रमका लागि नेपालबाट तारा बराल र वासु घिमिरे र अमेरिकाबाट अन्य सकृय अभियन्ताहरु सहभागी हुने जानकारी हिमालयखबरलाई प्राप्त भएको छ ।

(डा.शेखर कोइरालासँग कुराकानीको भिडियो ) भिडियो सौजन्य : पत्रकार प्रदीप तिमल्सिना

शेयर गर्नुहोस:

6.5k
Shares