काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास, समृद्धि र स्थायित्वका लागि दुई ठूला राजनीतिक दलको सहकार्यमा वर्तमान सरकार गठन गरिएको बताएका छन् । साथै, सत्ता साझेदार दलहरूबीच कुनै शंका उपशंका गर्न आवश्यक नरहेको स्पष्ट पारे ।
प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका दुई प्रमुख दलसहित अन्य दलहरूको सहभागितामा सरकार गठन गरिएको बताए ।
गठबन्धनमा रहेका दलहरूबीच मुलुकको समृद्धि र स्थायित्वलाई सुनिश्चित गर्दै अगाडि बढ्ने विषयमा उच्च विश्वास र समझदारी रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले सरकारले हालै जारी गरेका अध्यादेशहरूमार्फत नीतिगत तथा कानुनी सुधारको पहल गरिएको उल्लेख गरे । उनले ती सुधारहरूले व्यावसायिक वातावरण सहज बनाउने, लगानी अभिवृद्धि गर्ने र आर्थिक गतिविधिलाई गति दिने विश्वास व्यक्त गरे ।
साथै, प्रधानमन्त्री ओलीले विगतमा दल विभाजनका लागि २० प्रतिशतको आधारसहित अध्यादेश ल्याउने पक्षहरूले अहिले नीतिगत सुधारका लागि ल्याइएको अध्यादेशको विरोध गर्नु असंगत भएको स्पष्ट पारे ।











प्रतिक्रिया