मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

गाउँ नै रित्तो हुने संकटबाट जोगाउन आम्दानी र रोजगारीको व्यवस्था जरूरी : राष्ट्रपति

गाउँ नै रित्तो हुने संकटबाट जोगाउन आम्दानी र रोजगारीको व्यवस्था जरूरी : राष्ट्रपति


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको शक्तिको रूपमा रहेको श्रमशक्ति नै रित्तिएर आउन सक्ने राष्ट्रिय संकटबाट जोगाउनका लागि गाउँमै आम्दानी र रोजगारीको व्यवस्था पहिलो आवश्यकता भएको बताएका छन् ।

राष्ट्रपति पौडेलले लमजुङ सोतीपसलस्थित मंगला उच्च माविको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै गाउँगाउँको माटोमा कृषिक्रान्ति गरी कृषि पेसालाई थोरै मेहेनत र श्रम खर्च गरेर बढी आम्दानी दिने पेसामा रूपान्तरण गरी कृषिजन्य उद्योग र नयाँनयाँ उद्योगधन्दा गाउँगाउँमा खोल्ने प्रबन्ध गरी नेपालको वास्तविकतामा आधारित औद्योगिक क्रान्तिको युग यहाँ ल्याउनुपर्नेमा जोड दिए ।

Advertisement

उनले राजनीतिक परिवर्तनपछि आर्थिक विकास र समृद्धितर्फ सबैको ध्याान केन्द्रित हुनुपर्ने भन्दै गुणस्तरीय शिक्षा नै नागरिक एवं देश विकासको जग र आधार भएको बताए। उनले भने–‘ राजनीतिक परिवर्तनपछि हाम्रो ध्यान आर्थिक विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्दछ ।’

गुणस्तरीय शिक्षा नै नागरिक एवं देश विकासको जग र आधार हो । तर, आज म ताक्छु मुँढो बन्चरो ताक्छ घुँडो भनेजस्तो जतिजति गाउँमा विकासका पूर्वाधार र आधुनिक सुविधा थपिँदै छन् त्यतित्यति गाउँ रित्तिँदै छन् ।

शिक्षण संस्थामा विद्यार्थी संख्या बढ्नुको साटो घट्दो छ । ऊर्जाशील श्रमशक्ति रोजगारीको लागि बिदेसिएको छ । उर्वर, उत्पादनशील र मनोरम गाउँबस्ती बाँझो बन्दै रित्तिएको छ । पछिल्लो समय गाउँबाट सहर र सहरबाट बिदेसिने श्रृंखला अटुट छ ।’

राष्ट्रपति पौडेलले कृषि क्रान्तिका लागि हाम्रो शिक्षालाई उद्यमशीलतासित जोड्नुपर्ने बताउँदै अलिकति अठोट गर्ने हो भने त्यो सम्भावना र हाम्रो जीवन यही प्रकृतिमा सुखी र खुसी हुन सक्ने स्पष्ट पारे । उनले भने–‘गाउँमा जुन सुविधा पुगेको छ त्योसँगै आम्दानी र रोजगारी कसरी पुर्याउने रु आजको यक्ष प्रश्न नै यही हो । यसका लागि कृषिको आधुनिकीकरण र व्यवसायिकीकरण गरी औद्योगिकीकरणतर्फ फड्को मार्नुको विकल्प छैन ।’

उनले गाउँमा सानाठुला कृषि उद्यमको स्थापना, उत्पादन तथा रोजगारी अभिवृद्धि, कृषि उत्पादनको निर्यात अनि कृषिमा आत्मनिर्भर बन्ने राष्ट्रिय अठोटको अवस्था सिर्जना गर्नुपर्ने आजको आवश्यकता भएको बताए । उनले उद्यामशीलतामा आधारित शिक्षा दिएर उद्यमशील जनशक्ति उत्पादन गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनुुपर्ने र नीति निर्माता, सरकार र शिक्षण संस्थाको अर्जुनदृष्टि यसैमा केन्द्रित होस् भन्ने आफ्नो चाहना रहेको बताए ।

राष्ट्रपति पौडेलले विदेश नगईकन मातृभूमिको माटोमा कृषि कर्म, उद्यम र व्यवसाय गरी लाखौँ कमाउने गरेका कतिपय दृष्टान्तले आशा र उत्साह जगाउने बताउँदै वास्तवमा देशको लागि उत्पादनशील जनशक्ति आवश्यक रहेको बताए ।

देश विकासको लागि कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरण गर्ने खालको शिक्षा नै अहिलेको आवश्यकता भएको उहाँको भनाइ थियो । उनले भने–‘हिमाल, पहाड र तराईको नेपालको हावा, पानी र माटो अनुपम छ । यसलाई उपयोग गरी मुलुकलाई आर्थिक विकासको क्षेत्रमा कायापलट गर्ने शिक्षा दिन जरूरी छ ।’

शेयर गर्नुहोस:

108
Shares