धनकुटा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान गठबन्धन सरकार जनताले दिएको जनमत र देशको आवश्यकताअनुसार बनेकाले कसैले चाहँदैमा नढल्ने बताएका छन् ।
पार्टी जिल्ला कमिटी धनकुटाले आयोजना गरेको तीन महिने ‘जरा केन्द्रित अभियान’को उद्घाटन गर्दै उनले साना दलविना सरकार नै नबन्ने नकारात्मक सन्देश तोड्न वर्तमान सरकार बनेकाले यो निरन्तर अगाडि बढ्ने बताए ।
महासचिव पोखरेलले हालको संसद्मा दलहरूको उपस्थितिले गर्दा सरकार सञ्चालनको जनमत एमाले र कांग्रेसलाई मिलेर अगाडि बढ्ने रहेको भन्दै सोहीअनुसार सत्ता सहकार्य भएको धारणा राखे ।
नेकपा (माओवादी केन्द्र)सँगको गठबन्धन सरकार विघटनको प्रसङ्ग सुनाउँदै उनले ३२ सिट भएको पार्टीले एमाले र कांग्रेसभन्दा ठूलो भएको दम्भ देखाएकाले वर्तमान गठबन्धन बनेको जिकिर गरे ।
संसद्मा प्रतिनिधित्वका आधारमा कांग्रेस र मतका आधारमा एमाले पहिलो दल भएकाले जनताको मतको सम्मान गर्न र साना दलहरूको अनावश्यक दम्भ अन्य गर्न पनि वर्तमान सरकारले स्थायित्व पाउने महासचिव पोखरेलको भनाइ थियो ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वखानेपानीमन्त्री राजेन्द्रकुमार राई, प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेका थिए । आइतबारबाट सुरु भएको ‘तीन महिने जरा अभियान’ पार्टी कमिटीको तल्लो तह र कार्यकर्ताहरूको समस्या समाधानमा केन्द्रित रहने एमाले जिल्ला कमिटी अध्यक्ष शिवआङ्ला लिम्बूले जानकारी दिए ।
प्रतिक्रिया