कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताएका छन् । मन्त्रालयले सूचना र सञ्चार प्रविधिको विस्तारलाई प्राथमिकतामा राख्दै सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न सञ्चार विधेयक ल्याउने तयारी गरिरहेको उनले बताए ।
युनाइटेड क्लब पोखराद्वारा आयोजित १३औँ संस्करणको पोखरा महोत्सवको आज पोखराको अमरसिंह चौरमा उद्घाटन गर्दै मन्त्री गुरूङले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार र सञ्चार क्षेत्रको विकासका साथै रोजगारीका अवसर सृजना गर्न सरकार प्रतिबद्ध भएर लागेको बताए ।
उनले सुशासन र राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिलेर सरकार गठन गरेको उल्लेख गरे । देशको अर्थतन्त्र सुधार गरेर जनतालाई विकासको अनुभूति दिन सरकार प्रयासरत रहेको उनको भनाइ थियो ।
पर्यटकीय राजधानी पोखरामा पर्यटन पूर्वाधारसहित विकास निर्माणका काम गर्न जरूरी भएको मन्त्री गुरूङले बताए । उनले भने, “पर्यटकीय राजधानीको रूपमा आवश्यक पर्ने पूर्वाधार निर्माणमा स्थानीय र प्रदेश सरकारको ध्यान जान जरूरी छ ।”
गण्डकी प्रदेश प्राकृतिक र सांस्कृतिकरूपमा धनी भएकै कारण यहाँ पर्यटनको सम्भावना अत्यधिक रहेको उल्लेख गर्दै मन्त्री गुरूङले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्न जरूरी भएको बताए । पोखराको फेवाताल संरक्षणमा विशेष ध्यान दिन जोड दिँदै उनले यहाँका तालहरूको संरक्षण गर्न आवश्यक बजेट विनियोजन गर्न जरूरी भएको बताए ।
पोखराको ट्राफिक जामलाई कम गर्न समयमै पोखरामा भित्री चक्रपथ निर्माण गर्न आवश्यक भएको उल्लेख गर्दै मन्त्री गुरूङले त्यसका लागि काम अगाडि बढाउन गण्डकी प्रदेश सरकारलाई सुझाव दिए । पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान, आइटी पार्क, सभा हललगायत पूर्वाधार बनाउनुपर्ने उनले बताए ।
सांसद् मनबहादुर गुरूङले गण्डकी प्रदेशलाई पर्यटकीय तथा सांस्कृतिकरूपमा विकास गर्दै यहाँको कला संस्कृति विश्वमा प्रवर्द्धन गर्न जरुरी भएको बताए । ‘पर्यटकीय राजधानी भएकाको कला संस्कृतिको विकासमा पनि ध्यान दिन जरूरी छ, उनले भने ।
सांसद् दामोदर पौडेलले स्थानीय उत्पादनलाई बिक्री र प्रवर्द्धन गर्न गरिएका यस्ता महोत्सवबाट अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताए । गण्डकी प्रदेशलाई कृषि र पर्यटनको रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । बाह्र दिनसम्म चल्ने उक्त महोत्सवमा दुई सय ५८ कक्ष रहेका छन् ।
प्रतिक्रिया