काठमाडौं- नागरिकता खोई अभियानका संयोजक वासुदेश घिमिरेले विश्वभर रहेका नेपालीको नेपाली नागरिकता निरन्तरता हुनुपर्ने माग गर्दै विवशतावश विदेश गएका नेपालीलाई तेस्रो स्तरको नागरिक बनाउने कार्य गलत भएको बताएका छन्।
शनिवार आयोजित संवाददाता साक्षात्कार कार्यक्रममा घिमिरेले विदेशमा बस्ने नेपालीहरूले नेपाललाई सेवा गर्न चाहेका भए पनि पुराना राजनीतिक नेताहरूको कारण तेस्रो स्तरको नागरिक बनाइएका छन्, उनले बताए।
घिमिरेले भने, “नेपाली युवा हुलका हुल भएर किन विदेश गइरहेका छन् र उनीहरू फर्किए भने देशलाई के फाइदा वा बेफाइदा हुन्छ, यसको गहन अध्ययन गर्न पनि सबैलाई आग्रह गर्दछु।”
विदेश गएर काम गरेका नेपालीले त्यहाँको नागरिकता लिएमा वंशजको नागरिकता रद्द हुन्छ। यस्ता नेपालीहरूले गैर आवासीय नेपाली नागरिकता (एनआरएन) प्राप्त गर्न सक्छन्। तर, एनआरएन नागरिकता लिनेको अधिकार सीमित छ। गाउँको विद्यालयको संचालक समितिको अध्यक्ष पनि बन्न सक्दैनन्। नागरिकता खोई अभियानका घिमिरेले एनआरएन नागरिकताले नेपालीलाई तेस्रो दर्जाको नागरिक बनाएको आरोप लगाउँदै आएका छन्।
नेपालको अर्थतन्त्रलाई थप गति दिने र रोजगारका अवसर वृद्धि गर्ने हो भने वंशजको नागरिकता नै कायम रहनु आवश्यक छ, घिमिरेको दाबी छ।
प्रतिक्रिया