झापाको गौरीगञ्जमा माओवादी केन्द्रले ‘तमु ल्होसार’को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टीको दोस्रो गाउँ सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देश निर्माण गर्न नेपाली जनताले फेरि पनि माओवादी केन्द्रलाई साथ दिने विश्वास व्यक्त गरेका छन् ।
तीनै तहको उपनिर्वाचनबाट सत्तारुढ दलको गठबन्धनलाई हराउँदै धेरै स्थानमा माओवादी केन्द्रले जितेर जनताको साथ प्राप्त गर्न सफल भएको उनले उल्लेख गरे । पार्टीमा नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्रमा काम गर्न आउने नेपाली जनताको उत्साहपूर्ण साथ र सहयोग प्राप्त हुँदै आएको दाबी गरे ।
देशमा प्राप्त भएका राजनीतिकलगायतका सबै उपलब्धि आफ्नो पार्टीकै नेतृत्वदायी भूमिकाबाट सम्भव भएको तथा यसको रक्षा र समृद्धितर्फ लैजान पनि माओवादी केन्द्रले नै फेरि पनि अगुवाइ गर्ने उनको भनाइ थियो ।
नेपालको राजनीतिक इतिहासमा झापाले अगुवाइ गरिआएको चर्चा गर्दै उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा देशमा विकास र समृद्धि ल्याउन फेरि आन्दोलन गर्नुपर्ने खाँचो देखिँदै गएकाले यसमा नेपाली जनताको साथ र सहयोग प्राप्त हुनेमा विश्वस्त छौँ ।”
राजनीतिक परिवर्तनले मात्र देश बलियो नहुने भएकाले अब आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्त गर्न एकपटक आन्दोलन जरुरी भएको अध्यक्ष दाहालले बताए ।
प्रतिक्रिया