मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सहकारी ठगी प्रकरण : छविको बयान लिइयो, रविको लिइँदै

सहकारी ठगी प्रकरण : छविको बयान लिइयो, रविको लिइँदै

हिमालय खबर

शेयर गर्नुहोस:

351
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की ।  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको सोमबारदेखि जिल्ला अदालत कास्कीमा बयान सुरू भएको छ ।

प्रतिवादी लामिछाने, छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरूङ र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएकामा सोमबार जोशीको मात्र बयान लिइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

जिल्ला न्यायाधीश नीतिज राईको इजालसमा जोशीको बयान लिइएको उनले बताऐ । “आज एक जना प्रतिवादीको मात्र बयान लिइएको छ, अन्य प्रतिवादीको बयान भोलिदेखि सुरु हुन्छ”, सूचना अधिकारी अधिकारीले भने, “सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनचेकको बहस र आदेश हुन्छ ।”

यसअघि आइतबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेलगायत विरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् । यस्तै, लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको उनले बताइन् ।

लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको हो । रु ७४ करोड ३४ लाख ७१ हजारभन्दा बढी बिगो दाबी गरी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो । प्रतिवादी खनालसँग रु १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाइसँग रु २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिइन् ।

सहकारी ठगीतर्फ लामिछानेलाई रु तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध रु पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रु दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसार बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

उनीमाथि कास्कीसहित अन्य जिल्लामा पनि सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडिया नेटकर्वमा ल्याइ अपचलन गरेको आरोप छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै फरार छन् ।