काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले हिंसा प्रभावित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आज प्रहरीको अपराध अनुसन्धान विभाग र महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयको संयुक्त आयोजनामा लैंगीक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा आयोजित कार्यक्रममा उनले लैंगीक हिंसा नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर प्रहरीले काम गरिरहेको बताए ।
लैंगीक हिंसाबाट प्रभावित महिला, बालबालिका र ज्येष्ठ नागरिकमा न्यायको पहुँच सुनिश्चितताका साथै हिंसा नियन्त्रणका लागि देशभर २३२ वटा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरी सेवा प्रदान भइरहेको महानिरीक्षक कुँवरले जानकारी दिए ।
उनले नेपाल प्रहरीमा लैंगीकमैत्री कार्य वातावरण र लैंगीक संवेदनशीलतालाई सुनिश्चित गर्न लैंगीक नीति २०६९ लाई परिमार्जन गरी नेपाल प्रहरी लैंगीक कार्य नीति २०८१ ल्याइएको जानकारी दिए ।
उक्त नीति आजै सार्वजनिक गरिएको छ । यसले नेपाल प्रहरीलाई कुनै प्रकारका हिंसाप्रति संवेदनशील भई कार्य गर्न प्रेरित गर्ने विश्वास गरिएको छ ।
‘हिंसा र विभेदका घटना नियन्त्रणका लागि कटिबद्ध रहँदै प्रहरीले पालना गर्नुपर्ने आचरणका विषयमा समेत आचारसंहिता बनाइ कार्यान्वयन गरिएको छ । प्रविधिको विकास र आधुनिक समाजमा देखापरेको अपराधका प्रवृत्तिले थप चुनौती पैदा भएकातर्फ पनि प्रहरी केन्द्रित भएको छ’, महानिरीक्षक कुँवरले भने ।
प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले एकल प्रयासले मात्रै हिंसा रोक्न नसकिने भएकाले सबैको ऐक्यबद्धता आवश्यक भएको बताए ।
कार्यक्रममा निर्देशनालयकी प्रहरी नायब उपरीक्षक रुपा थापाले समग्र अपराधमा लैंगीक हिंसाका घटना २६ प्रतिशत रहेको तथ्यांकले देखाएको जानकारी दिइन् ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागकी कविता अर्याल, गृह मन्त्रालयका उपसचिव सुरेशराज जोशीलगायतले हिंसा नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो औँल्याएका थिए ।
प्रतिक्रिया