पर्सा । सहकारी ठगी मुद्दामा पर्सा प्रहरीले पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने, पूर्वडिआईजी छविलाल बन्जाडेसहित १४ लाई पक्राउ अनुमति पाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुङ्गेलले भने, ‘अनुमति पायौँ, अब मानिस उपस्थित गराउने प्रक्रियामा जान्छौँ ।’
पक्राउ अनुमतिप्राप्त रवि र छवि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा भएका कारण उनीहरूलाई पर्सामा उपस्थित गराइदिन बिहीबार पत्राचार गरिने एसपी ढुङ्गेलले बताए । १४ मध्ये कतिपय प्रतिवादी पर्सा र आसपासमै भएका कारण छिट्टै पकाउ पर्ने उनले बताए ।
रविको अहिले चितवनमा बयान चलिरहेको छ । उनलाई चितवनको बयानलगत्तै वीरगन्ज लगिने भएको छ । छविलाई बुद्ध एयरको पोखरा–सिमरा उडानबाट त्यहाँ लैजाने तयारी रहेको कास्की प्रहरीस्रोतले जनायो । ‘उहाँहरुलाई एकैचोटि हैन, पालैपालो पठाउनुपर्छ’, स्रोतले भन्यो ।
वीरगन्ज महानगर–६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋृण सहकारी संस्थाबाट अवैध तवरले गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ करोड ५८ लाख ४४ हजार रुपैयाँ प्रवाह गरिएको थियो । उक्त सहकारीका अध्यक्ष जिवी राई हुन् ।
पर्सा प्रहरीले गोर्खा मिडियाका प्रवन्ध निर्देशकको हैसियतले लामिछाने, राई र पूर्वडिआयजी छविलाल बन्जाडे जोशीका विरुद्ध पक्राउ अनुमति माग गरी अनुसन्धान अगाडि बढाउन लागेको जिल्ला प्रहरी कार्यालयका एसपी कुमोध ढुङ्गेलले बताए । ‘हाम्रोतर्फबाट लेखापढी गरेर जिल्ला अदालतमा पठाइसक्यौ, आजभोलिमै अनुमति आउँदैछ’, उनले भने ।
सानो पाइला सहकारीबाट गोर्खा मिडियाको नाममा ग्लोबल आइएमईमा सञ्चालित बैंक खातामा रकम प्रवाह गरिएको कुरा संसदीय छानवीन विशेष समितिको प्रतिवेदनले औंल्याएको थियो । २०७८ वैशाखदेखि साउनसम्मको बैंकिङ कारोबारको विवरण (स्टेटमेन्ट)ले रकमको अपचलन पुष्टि गरेको एसपी ढुङ्गेलले बताए ।
प्रतिक्रिया