मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

पत्रकार देउजामाथि रास्वपाका कार्यकर्ताद्वारा कुटपिट, सर्वत्र विरोध

पत्रकार देउजामाथि रास्वपाका कार्यकर्ताद्वारा कुटपिट, सर्वत्र विरोध

हिमालय खबर

शेयर गर्नुहोस:

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले पत्रकार कुटेको घटनाको पत्रकार सम्बद्ध संघसंगठनहरुले विरोध जनाएका छन् ।

रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायतका आरोपमा भइरहेको अनुसन्धानको विरोधका उत्रिएका रास्वपाका कार्यकर्ताले समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंघका सदस्य तथा कपुरबोट मिडियाका पत्रकार सन्तोष देउजामाथि कुटपिट गरेका हुन् ।

घटनाको नेपाल पत्रकार महासंघ चितवनलगायत पत्रकार सम्बद्ध संघसंस्थाहरुले घोर भर्त्सना गरेका छन् । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारीका उपाध्यक्ष कृष्ण आचार्य, प्रेस सेन्टरका सचिव रवि अधिकारी, समाजवादी प्रेस संगठनका अध्यक्ष टीकादत्त तिमिल्सिना र जनपत्रकार संगठनका अध्यक्ष होमनाथ न्यौपानेले बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरी विरोध गरेका हुन् ।

विज्ञप्तिमा रास्वपाका कार्यकर्ताहरुले समाचार संकलन गरिरहेका पत्रकार देउजामाथि प्रदर्शनकारीले मुक्का प्रहार गर्दै लखेटेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ– “आक्रमणबाट जोगिन पत्रकार देउजा अस्पतालरोडको एक घरमा शरण लिन बाध्य पारिएको घटना निन्दनीय छ । पत्रकार देउजाको अवस्था बुझ्न गएका नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, प्रेस चौतारी नेपाल चितवनकी इन्चार्ज एवं नेपाल प्रेसकी चितवन संवाददाता प्रतिमा सिलवाललगायतका पत्रकारहरुमाथि पनि अमानवीय तथा अभद्र व्यवहार भएको छ ।”

घटना लोकतान्त्रिक समाजका लागि अमर्यादित र निन्दनीय कार्य भएको उल्लेख गर्दै विज्ञप्तिमा यस्तो कार्य नगर्न/नगराउन चेतावनी दिइएको छ ।
जारी संयुक्त विज्ञप्तिमा पत्रकार देउजालगायतका पत्रकारहरुमाथि आक्रमण गर्ने आक्रमणकारीहरुको पहिचान गरी कडा कानुनी कारबाहीको माग गरिएको छ ।

“आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारबाही नगरिए नेपाल पत्रकार महासंघ चितवनलगायत पत्रकार सम्बद्ध संघसंस्थाहरु जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिन चाहन्छौँ ।” विज्ञप्तिमा भनिएको छ– “सम्बद्ध पार्टीलाई घटनामा संलग्न व्यक्तिको पहिचान गरी कारबाहीका लागि सहयोग गर्न यसै विज्ञप्तिमार्फत् अनुरोध गर्दछौँ ।”