चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन ल्याइएको छ । काठमाडौँबाट विमानमार्फत चितवन ल्याइएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले लामिछानेसँग मंगलबार चार घन्टा बयान लिए । उनले २६ वटा प्रश्नको जवाफ दिए । उनीसँग बुधबार पनि बयान लिइने छ । बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको आरोपमा बयान लिन लामिछानेलाई चितवन ल्याइएको हो ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बयानका लागि मंगलबार जहाजमार्फत काठमाडौँबाट चितवन ल्याइएको हो । लामिछानेलाई चितवन ल्याउने क्रममा सुरक्षाका लागि भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । रविका समर्थकहरु विमानस्थल बाहिर पुगेर नाराबाजी गरेपछि प्रहरी र रविका समर्थकबीच धकेलाधकेल समेत भएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता लुइँटेलका अनुसार मंगलबार दिउँसो १२ बजेदेखि लामिछानेको बयान लिन थालिएको हो । ‘मंगलबार साढे ४ बजेसम्म बयान लिने काम भयो । बयान लिने काम नसकिएकाले बुधबार बिहान ९ बजेदेखि पुनः बयान लिन्छौँ’, उनले भने, ‘बयान लिने क्रममा प्रश्नहरु थपिन पनि सक्छन् ।’
सहकारीका संस्थापक गितेन्द्रबाबु राई (जिबी)ले सहकारीको १० करोड रूपैयाँ अपचलन गरी गोर्खा मिडियामा लगेको अनुसन्धानबाट देखिएको छ । सहकारी पीडितले सुरूमा असोज ८ गते जिबीसहित १७ जनाविरूद्ध जाहेरी दिएका थिए । जाहेरीका आधारमा चितवन प्रहरीले अनुसन्धान गरी सरकारी वकिलमार्फत चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ । चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरुले मङ्सिर ५ गते रास्वपा सभापति लामिछानेसहित १० जनाविरुद्ध पुरक जाहेरी दिएका थिए ।
अनुसन्धानका लागि चितवन ल्याइएपछि रास्वपा चितवनका नेता कार्यकर्ता तथा लामिछानेका समर्थकहरु सडकमा आन्दोलन गरिरहेका छन् । लामिछानेलाई विमानस्थलबाट बाहिर निकाल्दै गर्दा समर्थकहरुले चर्को नाराबाजी गरेका थिए । सरकारी वकिलको कार्यालयमा बयान लिने काम चलिरहँदा पनि रास्वपा चितवनले प्रदर्शन गरेको थियो ।
प्रतिक्रिया