काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सोधपुछ तथा बयान आइतबारका लागि सकिएको छ ।
शुक्रबारदेखि काठमाडौँ प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बाँकी बयानका लागि आइतबार बिहानै सरकारी वकिलको कार्यालय लगिएको थियो, बयान अझै नसकिएकाले सोमबार पनि जारी रहने भएको छ ।
बिहीबार साँझ पोखराबाट काठमाडौँ ल्याइएका लामिछानेको बयान नसकिएकाले कम्तीमा सोमबारसम्म काठमाडौँमा नै रहने भएका छन । बयान सकिए पछि पोखरा फर्काइने छ ।
शुक्रबार बिहानदेखि सुरू भएको बयान सो दिनको अपरान्ह ३ः३० बजे सकिएको थियो । उनले त्यो दिन करिब साढे ६ घन्टा लामो बयान दिएका थिए । आइतबार पनि उनले झन्डै ५ घन्टा लामो बयान दिएका छन् ।
सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाई काठमाडौँ कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा लामिछानेलाई बयान लिन काठमाडौं ल्याइएको हो ।
स्वर्णलक्ष्मी सहकारीबाट जिबी राई र रविले लाखौँ रकम लिएको प्रमाण भेटिएको छ । बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात फेला परेका छन् । त्यसमा स्वर्णलक्ष्मी चारपाङ्ग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ। त्यसरी लिइएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप उनीहरूलाई छ ।
यसअघि उनका पार्टनर पूर्वडिआइजी छविलाल जोशीसँग बयान लिइएको थियो । स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा छ । पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालिमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयम् स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ । त्यसमा २४ जना प्रतिवादी छन् । तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवाः र कमल लामा पक्राउ परेका छन् । यसमा सञ्चालक जिबी राई भने फरार छन् ।
अहिले सहकारी ठगीबाहेक जिबी, रवि र छविलगायतविरूद्ध चारवटा कसुर स्थापित गर्न प्रहरीले मेहनत गरिरहेको छ। ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरीले गरिरहेको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर र संगठित अपराधतर्फको अनुसन्धानमा प्रहरीले ९० दिनसम्म थुनामा राख्न सक्ने कानुनी व्यवस्थाले फरार जिबीबाहेक रवि-छविहरूको हिरासत यात्रा लम्बिने देखिन्छ ।
मुख्यतयाः अहिले जिबी, रवि, छविहरूविरूद्ध पाँचवटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । काठमाडौँ, कास्की, पर्सा, रूपन्देही र चितवनका सहकारीको तीन अर्ब बराबरको रकम ठगीको ‘नाइके’ पृष्ठभूमिमा जिबी, रवि र छवि जोशी छन् ।
प्रतिक्रिया