मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

प्रतिनिधिसभामा उपसभामुखको पत्रबारे छानबिन गर्न सांसद्हरुको माग

प्रतिनिधिसभामा उपसभामुखको पत्रबारे छानबिन गर्न सांसद्हरुको माग


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोल्ने सांसद्हरुले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रका विषयमा छानबिन गर्न माग गरेका छन् ।

केही युवालाई अमेरिका पठाउन उपसभामुख रानाले संसद्को लेटरप्याडमा अमेरिकी दूतावासलाई पत्र पठाएको र यसबारे संसद्लाई जानकारी नभएका विषयमा छानबिन गरिनुपर्ने माग सत्तापक्षले उठाएको छ ।

Advertisement

प्रतिपक्षमा रहेका दलहरुले भने उपसभामुख इन्दिरा रानासँग जोडेर आएको विषय संवैधानिक परिषद्मा सत्तापक्षले खोजेको सहजतासँग जोडेर आएको र सत्तापक्षले मिडिया ट्रायल गरेको आरोप लगाएको छ । साथै, पर्याप्त छानबिन र वास्तविकता पहिचान नगरिकनै मानव तस्करीजस्तो जघन्य अपराधमा उपसभामुख रानाको नाम मुछिएकोप्रति प्रतिपक्ष दलका सांसदहरुले आपत्ति जनाएका हुन् ।

बैठकमा आकस्मिक समयमा बोल्दै सांसद् रामहरि खतिवडाले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले आफ्नो पदको दुरुपयोग गरेर केही युवालाई अमेरिका पठाउन खोजेको आरोप लगाए । यस्तो गम्भीर आरोपबारे छानबिन समिति गठन हुनुपर्ने तथा उपसभामुखले नैतिकताका आधारमा संसद् बाहिर रहेर अनुसन्धानलाई सघाउनुपर्ने उनको भनाइ छ ।

“संसद् सचिवालयलाई थाहै नदिई उपसभामुखको लेटरप्याडमा कसले कुन प्रयोजनका लागि सिफारिस गरेको हो भनेर छानबिन गरिनुपर्छ । यसका लागि उपसभामुख संसदभन्दा बाहिर बसेर छानबिनका लागि सघाउनुपर्छ”, खतिवडाले भने, “यस्तो अवस्थामा उपसभामुखले संसद्को कमाण्ड सम्हाल्न सुहाउँछ कि सुहाउँदैन ? यो गम्भीर प्रश्न हो ।”

सांसद् रघुजी पन्तले राष्ट्रिय परिचयपत्रको आवश्यकता र औचित्यमाथि प्रश्न गरे । विभिन्न सामाजिक सुरक्षाभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि त्यसले अप्ठ्यारो भएको उनको भनाइ छ । राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा ज्येष्ठ नागरिकलाई बढी समस्या परेको उल्लेख गर्दै सांसद् पन्तले यसमा सहजीकरण गर्न संसदमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद् माधव सापकोटाले डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् महशुल भुक्तानीसम्बन्धी विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको विषय उठाए । डेडिकेटेड र ट्रङ्कलाइनसम्बन्धी विवादलाई विद्यमान कानुनी व्यवस्था र विभिन्न समयमा गठित अध्ययन समितिले दिएका सुझावका आधारमा समाधान गरिनुपर्ने बताए । यो महशुल असुलीका लागि चलखेल नगरिकन स्वतन्त्ररुपमा सरकारका निकाय अघि बढ्नुपर्ने उनको भनाइ छ । नवगठित सरकारले आर्थिक अनुशासन पालनामा जोड दिनुपर्ने सांसद् सापकोटाले बताए ।

उपसभामुख राना विवादमा मुछिएको विषय राजनीतिक नैतिक चरित्रसँग जोडिएको भए पनि संवैधानिक परिषद्मा अप्ठ्यारो पर्ने भएपछि सत्तापक्षले यो विषय उचालेको आरोप सांसद् सापकोटाले लगाए ।

अर्का सांसद् सुमना श्रेष्ठले उपसभामुख रानाको विषयमा मिडिया ट्रायल भएको बताए । संवैधानिक परिषदमा सत्तापक्ष अल्पमतमा परेपछि उपसमामुख रानालाई मानव तस्करीजस्तो गम्भीर आरोप सत्तापक्षले लगाएको र रानाको चरित्र हत्या गर्ने नियतले सत्तापक्षले यो विषय उठाइरहेको उनको भनाइ छ । सबैका लागि विधि र पद्दति लागू हुनुपर्नेमा उनले जोड दिए ।

सांसद् दामोदार पौडेल वैरागीले उपसभामुख रानाले अमेरिकी दूतावासलाई पठाएको पत्र र उपसभामुखको विज्ञप्तिबाट मानव तस्करीको उद्देश्य देखिएको धारणा राखे । उपसभामुख सहभागी कार्यक्रममा सरोकार नै नभएका व्यक्तिहरुलाई अमेरिका पठाउन भिसा सहजीकरण गर्न पत्र पठाएको देखिएकाले यस विषयमा थप छानबिन गरिनुपर्ने उनको भनाइ छ ।

सांसद चन्द्रबहादुर विश्वकर्माले देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, चट्याङजस्ता प्राकृतिक विपद् जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन, राहत तथा उद्धारका लागि संसदमार्फत सरकारको ध्यानाकर्षण गरे । भूकम्पका कारण समस्यामा परेका जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका जनता अहिले बाढी र पहिरोका कारण थप समस्यामा परेको उनको भनाइ छ । उनले बाढीपहिरोका कारण समस्यामा परेकाहरुको उद्धार तथा सुरक्षित स्थानमा सारेर तत्काल राहत उपलब्ध गराउन संसदमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद् गणेश पराजुलीले यो वर्षमात्रै वर्षायाम पछि विभिन्न प्राकृतिक विपदमा परी एक सय २८ भन्दाबढीको ज्यान गइसकेको र सयौँ घाइते भएको विषय संसदमा उठाए । उनले विपदमा परेका व्यक्तिहरुको उपचार, राहत तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए ।

शेयर गर्नुहोस:

54
Shares