मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेबीच सहमति भयो : प्रमुख सचेतक लेखक

राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेबीच सहमति भयो : प्रमुख सचेतक लेखक

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुलुकमा राजीतिक स्थिरता कायम गर्न संसद्का दुई ठूला दल कांग्रेस र नेकपा (एमाले)बीच सहमति भएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।

प्रमुख सचेतक लेखकले भने, “ देशमा सुशासन कायम गर्न दुई दलबीच सहमति भएको हो । विकासको लक्ष्य हासिल गर्न, अर्थतन्त्र चलायमान बनाउन तथा विकासको गति अघि बढाउन यो समीकरण भएको हो ।”

उनले दुई दलबीच यही असार १७ गते भएको सहमतिको कांग्रेस पदाधिकारी बैठकबाट समर्थन भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले राखेको प्रस्तावको विपक्षमा मतदान गर्ने स्पष्ट पारे ।

उक्त सहमतिका केही ठोस आधार रहेको जानकारी गराउँदै प्रमुख सचेक लेखकले भने, “मुलुकलाई ठीक ढङ्गले अघि बढाउन राजीतिक स्थिरता पहिलो आधार हो ।” उनले प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिनु नै अस्थिरता भएको बताए । वर्तमान सरकारले प्रचारको राजनीतिबाहेक केही नगरेको आरोप लगाउँदै उनले सरकारका मन्त्रीहरुले ‘फाइल खोल्छौँ’, भन्ने र चर्चा कमाउने काम मात्र गरेको टिप्पणी गरे ।

नेता लेखकले संविधान भनेको निरन्तर चलायनमा हुने दस्तावेज भएको उल्लेख गर्दै संविधान कार्यान्वयन गर्ने क्रममा देखिएका कमजोरी पक्षको आवश्यकताअनुसार संशोधन गर्नुपर्नेमा जोड दिए । यसमा पश्चगमन देख्नु भनेको नकारात्मक सोच भएको उनको टिप्पणी थियो ।

प्रमुख सचेतक लेखकले सशस्त्र आन्दोलनमा रहेको तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काम र सङ्घीय लोकतन्त्रको शासन व्यवस्था स्थापना गर्ने काम कांग्रेसको नेतृत्वमा भएको बताए । “यो कुरा हेक्का रहोस् । राजनीतिक अस्थिरतालाई स्थिरतामा रुपान्तरण गर्न चाहन्छौँ,” उनले भने, “यसले सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशी व्यवस्थालाई अझ सबल बनाइने छ । संविधान छुनै नमिल्ने दस्तावेज होइन ।”

संविधानमा भएका कतिपय व्यवस्था १० वर्षमा पुनरावलोकन गर्न सकिने संविधानमै उल्लेख रहेको जानकारी गराउँदै उनले त्यो प्रावधान मूल्याङ्कन गरेर संविधानलाई थप बलियो बनाउन समयानुसार संशोधन आवश्यक रहेकामा जोड दिए ।

संविधानको दिगो पनका लागि बहुसङ्ख्यक जनताको अपनत्व र आत्मसात् गर्न आवश्यक भएको उल्लेख गर्दै उनले यो छलफलका लागि सबैसँग छलफल गरेर अघि बढ्ने प्रणका साथ नेतृत्व लिन दुवै दलबीच सहमति भएको स्पष्ट पारे ।

प्रमुख सचेतक लेखकले कांग्रेसको जन्म नै लोकतन्त्रको स्थापना र सबल बनाउनका भएको बताउँदै यसमा कसैले भ्रम फलाउन नहुनेमा जोड दिए । मुलुकका भएका हरेक आन्दोलनमा सबै दल मिलेर सफल भएको प्रसङ्ग उल्लेख गर्दै उनले विशेष अवस्थामा ठूला दल र शक्ति मिल्दा नै राम्रो परिणाम आउँछ भन्ने विगतको इतिहासले पनि देखाएको बताए । यही असार १७ गते दुवै दलबीच भएको सहमतिलाई कार्यान्वयन आफूहरु प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

बैठकमा प्रमुख सचेतक लेखकले अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित जनताको उद्धार, राहत र पुनःस्थापनाको लागि सरकारसँग माग गरे ।

त्यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सरकारप्रति विश्वासको मत माग्दै प्रस्ताव प्रस्तुत गरेका थिए । उनले नेपालको संविधान २०७२ को धारा १०० को उपधारा (२) बमोजिम सो प्रस्ताव प्रस्तुत गरेका हुन् ।

यसअघि सरकारलाई समर्थन दिएका नेकपा एमालेसहितका दलहरुले विश्वासको मत फिर्ता लिएपछि उनले आजको संसदको बैठकमा सम्बोधन गर्दै सो प्रस्ताव प्रस्तुत गरेका हुन् । प्रधानमन्त्री दाहालले सम्बोधनसहित बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेपछि सो प्रस्तावमाथि दलीय आधारमा छलफल प्रारम्भ भएको छ ।