मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

काउन्सिल नै नबोले कसले बोल्ने : अध्यक्ष बस्नेत

काउन्सिल नै नबोले कसले बोल्ने : अध्यक्ष बस्नेत

हिमालय खबर

शेयर गर्नुहोस:

297
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले सामाजिक सञ्जाल प्रयोग गरी चलेका सञ्चारमाध्यमबाट हुने प्रेस स्वतन्त्रता दुरुपयोग आफ्नो नियमनको दायरामा पर्ने प्रष्ट पारेका छन् ।

परम्परागत तथा नयाँ मिडियाले दिने विषयवस्तु, पत्रकार÷सञ्चारकर्मीकोे व्यवहार र पत्रकारितामा देखिएका विभिन्न विकृति विसङ्गतिका विषयमा काउन्सिलले नै बोल्नुपर्ने उनले बताए ।

प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘प्रेस स्वतन्त्रताको अवस्था र चुनौती’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण गर्ने भए पनि पत्रकारले समेत सीमामा बसेर लेख्नुपर्ने धारणा राखे । स्रोतसाधनको सीमितता हुँदाहुँदै पनि काउन्सिलले काम गरिरहेको उनले बताए । उनले भने, “आफ्नो ठाउँबाट एक कदम बढेर पनि काउन्सिलले काम गरिरहेको छ ।”

काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनमा संविधान र कानुनले दिएको जिम्मेवारी पूरा गरिरहेको अध्यक्ष बस्नेतको भनाइ थियो । जिम्मेवार निकायले आ–आफ्नो भूमिका निर्वाह गर्दा प्रेस स्वतन्त्रता हननका घटना नदोहोरिने सुनिश्चितता हुने उनले बताए । मिडिया पीडितलाई न्याय दिलाउने संस्थाका रूपमा काउन्सिल रहेको र समाचार लेखेकै आधारमा अप्ठेरो अवस्था सिर्जना गर्न नहुने उनको भनाइ छ ।

अब न्युज रूमले पनि आन्तरिक आचारसहिंता बनाएर स्वनियमन प्रणालीको विकास गर्नुपर्ने उनको सुझाव दिए । उनले भने, “मिडियामा नआउनुपर्ने समाचार बढी आएको पाइएकाले सम्पादकीय प्रक्रिया पूरा गरेर मात्र समाचार सम्प्रेषण गर्नुपर्दछ ।”

काउन्सिलका पूर्वकार्यवाहक अध्यक्ष सोमनाथ घिमिरेले सञ्चारमाध्यममा निर्देशित र प्रक्षेपित सूचनाको प्रवाह गर्ने र सञ्चार जगतलाई भ्रमित पार्ने काम विगतमा पनि हुने गरेको र अहिले पनि भइरहेको बताए । पत्रकार राजनीतिक र व्यापारिकलगायत विभिन्न क्षेत्रबाट प्रभावित हुने हुँदा यस्तो प्रवृत्ति प्रेस स्वतन्त्रताको बाधक रहेको उनको भनाइ छ । उनले भने, “पत्रकारबाट विभिन्न ठाउँबाट प्रभावित भएर आग्रहजन्य सूचना र विचार प्रवाह गर्ने काम भइरहेको छ ।”

राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको विषयमा राज्यको चरित्र उदार नभएको धारणा राखे । संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता उल्लेख भए पनि विभिन्न संकुचित पार्नै गरी धाराहरूमा प्रेस स्वतन्त्रतालाई संकुचित पार्ने गरी कानुन बनाउन सकिने गरी व्यवस्था भएको उनले बताए । उनले भने, “अभिव्यक्ति स्वतन्त्रता भनेको नागरिक अधिकार मात्रै नभएर विश्वव्यापी अधिकारको विषय हो ।”

नेपाल पत्रकार महासंघ सचिव पवन आचार्यले परम्परागत मिडिया लोप हुँदै गइरहेको र न्यू मिडियामा ‘गेट किपिङ’ कमजोर रहेको बताए । मिडिया साक्षरता त्यसमा पनि डिजिटल मिडिया साक्षरताका लागि काम गर्न आवश्यक रहेको उनले औँल्याए ।

गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले प्रेस स्वतन्त्रता देशका लागि अवसर भएको र यसलाई कुनै पनि बहानामा सङ्कुचन गर्न नहुने धारणा राखे ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले भीडभाडका समयमा प्रहरीले तोकेको निषेधित क्षेत्रभित्र जाँदा पनि कतिपय यस्ता घटना हुने गरेको बताए ।

नेपाली सेनाका महासेनानी खेमराज शर्माले प्रेस स्वतन्त्रताको विषयमा सरोकारवाला मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।

सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेले एउटै दृश्यमा हेर्ने दृष्टिकोण फरकफरक हुने भए पनि संवेदनशील विषयमा सबैको आँखा एउटै हुन जरुरी रहेको बताए ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल, समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी, प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनोजकुमार यादव, श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसी, फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारी, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका महासचिव समीर बलामीलगायतले प्रेस स्वतन्त्रता संरक्षणमा राज्य जिम्मेवार भएर लाग्नुपर्ने धारणा राखे ।