मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

पार्टीभित्रका गुट-उपगुट छोडौँ भन्ने होइन, छोडिहाल्न पर्‍यो : नेता महर

पार्टीभित्रका गुट-उपगुट छोडौँ भन्ने होइन, छोडिहाल्न पर्‍यो : नेता महर


शेयर गर्नुहोस:

621
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कञ्चनपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पार्टीभित्रका गुट-उपगुट अन्त्य हुनुपर्ने बताएका छन्। गुट-उपगुट गर्नु हुँदैन भन्नेहरूले नै त्यस्ता गतिविधि नछोडेकाले तत्काल गुट-उपगुट बनाउने परिपाटी अन्त्य गर्नुपर्ने महरले बताए ।

‘पार्टीभित्रको ग्रुपीजम संकटहो सबैले भन्ने तर ग्रुपीजम कहिले नछोड्ने । यो गलत संस्कार हो, मैले १४औँ महाधिवेशनमा नै भनेको थिएँ। तल्लो तहबाट नै चिट बाँडेर समूह निर्माण गर्ने कुरा आचार संहिता बनाएर नै बन्द गरिनुपर्छ भन्ने मेरो प्रस्ताव थियो। तल चिट बाँडेर समूह निर्माण गर्दै विभिन्न चरणमा चुनाव भइसकेपछि माथि गुटरहित कांग्रेस निर्माण गरौँ भन्ने कुरा गलत हो। त्यसैले तल्लो तहबाट नै ग्रुप बनाउने काम बन्द गरौं। सबल र सक्षम कांग्रेस निर्माणमा जुटौँ’, उनले भने।

डेढ वर्षमा ६१ जिल्ला घुम्दा शक्तिशाली कांग्रेस निर्माण गर्ने पर्याप्त रहेको उनले बताए। तर, गुटका कारण पार्टीलाई सशक्तीकरण गर्न समस्या रहेको आफूले पाएको उनले बताए। ‘कांग्रेसभित्र अवसरको न्यायोचित वितरण नहुँदा पनि समस्या भइरहेको छ। एउटा मान्छेले दशकभन्दा बढी समयसम्म पद ओगटिराख्ने र कसैले जिम्मेवारी नै नपाउने भन्ने हुनु हुँदैन’, उनले भने।

पार्टीमा आठ लाखभन्दा बढी क्रियाशील सदस्य रहेकोमा सधैँ केही व्यक्तिलेमात्र अवसर पाउने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा समेत उनको जोड थियो। ‘तीन पटक टिकट पाएको व्यक्तिले बाटो सरलक्कै खाली गरेर नयाँलाई स्थान दिनुपर्छ। यति गर्दा पार्टीमा न्यायोचित अवसरको वातावरण सिर्जना हुन्छ। र, कार्यकर्तामा उत्साह आउँछ। यसरी पार्टीलाई ऊर्जाशील तुल्याउन सकिन्छ’, उनले भने।

महरले पार्टीभित्रको नैतिकता, पारदर्शिता र सुशासनमा पनि जोड् दिएका छन्। ‘गतिशील, नैतिकवान र पारदर्शी पार्टी बनाउन सबैले योगदान पुर्‍याउनुपर्छ। जस्तो पार्टी बन्यो त्यस्तै परावर्तन नै सरकारमा हुने हो। त्यसपछिमात्र देशलाई समृद्ध तुल्याउन सकिन्छ’, उनले भने।

कांग्रेसभित्र ९६ वर्षभन्दा माथिदेखि २२/२३ वर्ष उमेर समूहका मान्छेको योगदान रहेकाले युग सुहाउँदो पुस्तान्तरण आवश्यक रहेको समेत उनले बताए। पुरानाको अनुभव र योगदानको कदर गर्दै युवाको जोसको सदुपयोग गरेर सशक्त पार्टी निर्माण गर्न सकिने उनको धारणा छ।

कम्युनिस्टको चरित्र द्वेष, हिंसा र ईर्ष्याले बेरिएको र पपुलिस्टहरू पपुलर हुनका लागि निर्वस्त्रसमेत हुनसक्ने भएकाले उनीहरूबाट समृद्धि सम्भव छैन । उनीहरूबिना कांग्रेस एक्लै अगाडि बढ्नसक्छ भन्ने सन्देश पनि कांग्रेसले तीन वर्ष प्रतिपक्षमा बसेर दिन सक्नुपर्नेमा उनको जोड छ। विपक्षमा बसेर सबल कांग्रेस निर्माणमा चुक्न नहुने उनको भनाइ छ।

शेयर गर्नुहोस:

621
Shares