मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

राष्ट्रपति युरोप भ्रमणमा जाँदै, विकास साझेदारीमा थप अभिवृद्धिको अपेक्षा

राष्ट्रपति युरोप भ्रमणमा जाँदै, विकास साझेदारीमा थप अभिवृद्धिको अपेक्षा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार स्विट्जरल्यान्डको जेनेभा जाने भएका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोसल जस्टिस्) को उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।

राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले यही जेठ ३० गते स्विस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । नेपालका राष्ट्र प्रमुख र स्विस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको यो पहिलोपटक भएको बताइएको छ ।

भ्रमणपछि राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयलका कार्यवाहक सचिव एवं प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । उनले सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टिनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । राष्ट्रपति पौडेलले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विश्व समुदायको साझा मञ्चमा नेपालका राष्ट्र प्रमुखले आफ्ना विचार राख्न पाउने अवसर देश र जनताका लागि महत्वपूर्ण अवसर भएको बताइएको छ । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले आइएलओको सम्मेलनमा मुख्य वक्ताका रुपमा राष्ट्रपतिलाई आमन्त्रण गरिनुले संयुक्त राष्ट्र सङ्घले सामाजिक न्यायको कार्यसूचीलाई हाम्रो संविधान र सङ्घीय लोकतन्त्रान्त्रिक गणतन्त्रले पूर्ण रुपले आत्मसात् गरेको विषयलाई अन्तर्राष्ट्रियजगत्मा स्थापित गरेको रुपमा बुझ्नुपर्ने बताए ।

उनले भने, “लामो समयपछि हाम्रो राष्ट्र प्रमुखको युरोपका महत्वपूर्ण मुलुकका राष्ट्र प्रमुखहरुसँग द्विपक्षीय भेटवार्ता हुँदैछ, यसले हाम्रो मुख्य विकास साझेदार मुुलुकहरु जर्मनी र स्विट्जरल्यान्डको सम्बन्ध थप सुदृढ हुने अपेक्षा गर्न सकिन्छ ।”

जर्मनी र स्विट्जरल्यान्डका राष्ट्र प्रमुखसँगको द्विपक्षीय भेटवार्ताले नेपालको आर्थिक विकासमा थप अभिवृद्धि गर्न अवसरको नयाँ बाटो खुल्ने प्रेस सल्लाहकार पोखरेल बताउँछन् ।

नेपालको संविधान र व्यवस्थाले आइएलओले सामाजिक न्यायका पक्षमा उठाउँदै आएका विषयलाई हाम्रो व्यवस्थाले आत्मसात् गरेको भनेर नै राष्ट्रपति पौडेललाई आफ्ना अनुभव आदानप्रदान गर्न मुख्य वक्ताका रुपमा आमन्त्रण गरिएको हो । सामाजिक न्याय र स्वतन्त्रताका लागि राष्ट्रपति पौडेलले लामो समय अनवरत रुपमा गरेको त्याग, सङ्घर्ष र समर्पणलाई आइएलओले कदर गरेर मुख्य वक्ताका रुपमा आमन्त्रण गरेको उनले उल्लेख गरे ।

राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहनेछन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, स्विट्जरल्यान्ड र जर्मनीका लागि नेपाली राजदूतहरु तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहनेछन् । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किनेछन् । रासस