मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

लोकतन्त्रलाई सुदृढ बनाउन प्रजातान्त्रिक विचार समाजको भूमिका महत्त्वपूर्ण : सभापति देउवा

लोकतन्त्रलाई सुदृढ बनाउन प्रजातान्त्रिक विचार समाजको भूमिका महत्त्वपूर्ण : सभापति देउवा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई सुदृढ र बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । प्रजातान्त्रिक विचार समाजको २६औँ साधारण सभा तथा लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रममा उनले लोकतन्त्रलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

सभापति देउवाले लोकतन्त्र र नेपाली कांग्रेसको सङ्गठनलाई बलियो बनाउन पूर्वमन्त्री योगप्रसाद उपाध्यायको महत्त्वपूर्ण योगदान रहेको बताए । “योगप्रसादजी पुरानो मात्र होइन राजनीतिक आन्दोलनको ठूलो नेता हुनुहुन्छ, २०१७ सालको आन्दोलनमा प्रवासमा बसेर प्रजातन्त्रको लागि लड्ने व्यक्तिलाई सम्मान गर्न पाएकामा खुसी लागेको छ”, उनले भने ।

सभापति देउवाले गिरीबन्धु टी स्टेटको निर्णय कांग्रेसको पालामा नभई एमालेको पालामा भएको बताए । “कांग्रेसलाई दोष लगाउन मिल्दैन”, उनले भने ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जनताले सडकमा उठाएको कुरालाई कांग्रेसले संसद्मा उठाएको बताए । “राजाको धम्कीसँग नडराएको कांग्रेस कुनै राजनीतिक दलको धम्कीसँग डराउँदैन”, उनले भने । उनले मुलुक पछिल्लो समय जटिल अवस्थामा रहेको उल्लेख गर्दै यसलाई अगाडि बढाउन कांग्रेस अग्रसर हुनुपर्ने बताए ।

नेता डा कोइरालाले प्रहरी प्रशासनको समेत उच्च तहमा रहेका गृहमन्त्री रवि लामिछानेले आफूसमेत मुछिएको सहकारी ठगीको छानबिनमा सघाउनुपर्ने बताए । उनले अहिलेको निर्वाचन प्रणालीले मुलुकमा अस्थिरता देखिएको बताए । निर्वाचन प्रणाली परिवर्तन गर्दा कुनै दलको बहुमत आउनेगरी जानुपर्ने नेता कोइरालाको भनाइ थियो ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले लाखौँ सहकारी पीडितको आवाजलाई सम्बोधन गर्न कांग्रेसले संसदीय समितिको माग गरेको बताए । एमालेले सुन समिति बनाउन माग गर्दै २२ दिन संसद् अवरोध गरेको इतिहास रहेको उल्लेख गर्दै संसदीय समिति निर्माण नगरेसम्म संसद् चल्न नदिने उनले स्पष्ट पारे ।

कांग्रेस नेता प्रदीप पौडेलले लोकतन्त्रलाई बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण सुझाव पार्टीलाई आवश्यक रहेको उल्लेख गरे । “संविधान निर्माण गर्दा हामीले नचाहेका कतिपय कुराहरु पनि राख्नुपरेको छ, अब यसलाई सच्याएर अगाडि बढ्नुपर्छ”, उनले भने । सुशासन र भ्रष्टाचार अन्त्यको विषय कांग्रेसको प्राथमिकतामा पर्नुपर्ने नेता पौडेलको भनाइ थियो ।

“सरकारमा बस्नेले प्रश्न गर्ने होइन उत्तर दिने हो, अदालतले गरेको निर्णयमा समेत धम्की दिने काम सत्तापक्षबाट भएको छ, यसले लोकतन्त्रलाई कमजोर बनाउँछ”, उनले भने ।

संविधानविद् डा भीमार्जुन आचार्यले सन् २०२३ को तथ्याङ्कले संविधान कार्यान्वयनमा हेर्दा नेपाल विश्वको ७१औँ स्थानमा देखाएको बताए । “संविधानलाई धेरै हेरफेर ग¥यो भने त्यो मुलुकमा कहिल्यै स्थायित्व हुँदैन”, उनले भने । संविधानविद् आचार्यले अदालतभित्र पार्टीबाट छानेर पठाएका व्यक्ति हुँदा लोकतन्त्र कमजोर हुँदै गएको बताए ।

पूर्वमन्त्री सुरेश मल्लले सङ्कटमा परिरहेको बेला लोकतन्त्रलाई बलियो बनाउन प्रजातान्त्रिक विचार समाज अगाडि बढ्नुपर्ने उल्लेख गरे । प्रजातान्त्रिक विचार समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसीले प्रजातान्त्रिक विचार समाजलाई पार्टीको वैचारिक थलोका रुपमा अगाडि बढाउन आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री योगप्रसाद उपाध्यायलाई लोकतान्त्रिक योद्धा सम्मानबाट सम्मान गरिएको थियो । उनलाई नगद रु २५ हजार र ताम्रपत्रद्वारा सम्मान गरिएको थियो । विसं २०५२ मा स्थापना भएको प्रजातान्त्रिक विचार समाजले लोकतान्त्रिक संस्कार र पद्धतिलाई बलियो बनाउँदै अगाडि बढिरहेको समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले जानकारी दिए ।