मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

मेरिल्याण्डमा भण्डारीको चुनावी अभियानका लागि ६५ हजार डलरको प्रतिबद्धता

मेरिल्याण्डमा भण्डारीको चुनावी अभियानका लागि ६५ हजार डलरको प्रतिबद्धता

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाल्टिमोर । अमेरिकाको कंग्रेसनल चुनावमा मेरिल्याण्ड राज्यको डिष्ट्रिक-२ बाट उमेदवारी दिएका डेलिगेट ह्यारी भण्डारीको चुनावी अभियानमा मेरिल्याण्डमा ६५ हजार डलरबराबरको प्रतिबद्धता आएको छ ।

मेरिल्याण्डमा रहेका लब्ध प्रतिष्ठित महानुभावहरुको आइतबारको भेलामा उक्त रकम संकलन भएको हो । योसँगै हयारी भण्डारीको चुनावी अभियानमा मेरिल्याण्डमा रहेका नेपालीहरुको एकताबद्ध र प्रतिबद्धताका साथ तीव्र गतिमा अगाडि बढेको छ ।

कार्यक्रममा सहभागी व्यक्तिहरुले चुनावमा आर्थिक, भौतिक तरिकाले कसरी सहयोग गर्ने, प्राइमेरी निर्वाचनको अर्ली भोटिङ्गमा र निर्वाचनको दिन मे १४ तारिखको दिन स्वयंसेवक परिचालन गर्ने, विभिन्न स्थानहरुमा यार्ड साइन राख्ने, साइन वेभ गर्नेलगायतका विषयमा समेत छलफल र कार्ययोजना समेत बनाएका छन् । साथै, प्रतिबद्धता गरिएको रकम एक साताभित्र क्याम्पेनमा जम्मा गर्नसमेत सहमत भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै डेलिगेट भण्डारीले नेपाली समुदायको आवाजलाई अमेरिकाको राजधानी वासिङ्टन डिसी र यसको मुख्य केन्द्र क्यापिटल हिलसम्म पुर्‍याउन आफू उमेदवार बनेको बताए । उनले भने, ‘तपाईं हामीले आगामी सय वर्ष पछाडिका भावी पिंढीलाई समेत एउटा इतिहास निर्माण गरेर छोडनुपर्ने छ, त्यसकै लागि मैले यो अभियानलाई अगाडि बढाएको छु ।’

भण्डारी एक जनप्रतिनिधिको हैसियतले सदैव आफूले आवाजविहीनहरुको आवाजलाई बुलन्द पार्न प्रयास गरिरहेको र यसलाई अझै थप सशक्त बनाउन लागिपर्ने बताए । उनले समुदायको हित र भलाईका लागि सदैव अग्रपंक्तिमा बसेर काम गर्दै आएको बताए ।

कार्यक्रममा डा श्याम कार्कीले ह्यारीको चुनावी अभियान हयारीको मात्र नभएर अमेरिकाभर रहेका नेपालीहरुको साझा अभियान भएकाले सबैले सहयोग गर्न अपिल गरे । डा कार्कीले अगाडि भने, ‘विगत ६ वर्षमा डेलिगेटको हैसियतले हयारीले नेपाली समुदायको हितको लागि काम गरेर प्रमाणित गरिसक्नुभएको छ, उहाँको चुनावी अभियानमा समुदायले हरेक तरिकाले सहयोग गर्न तत्पर रहेको छ ।’

ह्यारी भण्डारी सहयोग समिति अमेरिकाकी सहसंयोजक एवं नायिका पूजा चन्दले यो चुनावी अभियानले नेपाली अमेरिकीहरुको आवाजलाई थप सुनिने र देखिने बनाउने भएकाले हरेकले सक्दो सहयोग गर्नुपर्ने बताइन् ।

कार्यक्रममा मेरिल्याण्डका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्य दूत प्रेम राजा महतले नेपालीहरुको लागि भण्डारीको अभियान गौरवको विषय भएकाले उनको यो अभियानमा सबैले सहयोग गर्न आग्रह गरे । कार्यक्रममा वाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिकाका अध्यक्ष सुवोध विलाश पन्तले भण्डारीको चुनावी अभियानमा सहयोग गर्नु हामी सबैको दायित्व भएको बताए ।

भण्डारी कंग्रेसनल अभियानका तीर्थ पाण्डेयले स्वागत मन्तव्य राख्दै ह्यारीको उमेदवारीलाई सफलता दिलाउन कुनै कसर वाँकी नराख्न समुदायलाई अपिल गरे ।

कार्यक्रममा कृष्णजीवी पन्त, राजन त्रिपाठी, भीम विके, अमर छन्त्याल, रविलाल सुनार, किरण पन्त, गौतम दाहाल, राज सेञ्चुरी, रामचन्द्र अधिकारी, ईशा गुरुङ, प्रवीण भण्डारी, डा उत्तम गौली, दीपक कायस्थ, सरोज गौचन, कूलमणि आचार्य, डा मनोज श्रेष्ठ, तरुण पौडेल, रविन शर्मा, किरण पण्डित, गोविन्द, कोशिस भण्डारी, मधुकर अधिकारी, राजन कट्टेल, जितेन गुरुङ, संगीता भण्डारी, शर्मिला अधिकारी, विक्रम पोख्रेल, गोपाल भण्डारी, कृतिका पन्त, लक्ष्मी भारती, विनु पोख्रेल, शशि थापा, निर थापा, अनिल गोदार, केशव शर्मा, सूर्य रेग्मी, दिनेश डिसी, देवेन्द्र मल्ल, असुना छन्त्याल, गुण क्षेत्री, सुमन सुवेदीलगायतका लब्ध प्रतिष्ठित महानुभावहरुले भण्डारीको चुनावी अभियानलाई सहयोग गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार मेरिल्याण्डको प्राइमेरी निर्वाचनको अर्ली भोटिङ्ग मे २ देखि मे ९ तारिखसम्म हुनेछ । प्राइमेरी निर्वाचन भने मे १४ तारिख मंगलबारको दिन तय गरिएको छ ।

साथै भण्डारीको निर्वाचन परिचालन समितिले नेपाली अमेरिकनहरुलाई भोटर रजिष्ट्रेसन नगरेको भए गर्नसमेत अनुरोध गरेको छ । भण्डारीको चुनाव अभियानलाई तत्काल दुई लाख ८० हजार डलरको आवश्यकता रहेको निर्वाचन आर्थिक परिचालन समितिले जनाएको छ ।