मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   
प्रेस विज्ञप्ती / सूचना पाटी   

अष्ट्रेलियामा नेपाली नयाँ वर्ष

अष्ट्रेलियामा नेपाली नयाँ वर्ष


तस्बिर: सामाजिक संजाल

क्यानबेरा (अष्ट्रेलिया) । अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुले विक्रम संवत २०८१ लाई धुमधामका साथ स्वागत गर्ने तयारी गरेका छन् ।

नयाँवर्षको पहिलो दिन वैशाख १ गते (१३ अप्रिल, २०२४) राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन्समा आतिसबाजीसहित भव्यताका साथ नयाँ वर्ष मनाउन लागिएको छ । कार्यक्रममा क्यानबेराका मुख्यमन्त्री एण्ड्य्रु बार उपस्थित हुने बताइएको छ ।

सनातन समाज अष्ट्रेलियाले क्यानबेरामा आतिसबाजी गर्दै नयाँ वर्ष मनाउन लागेको हो। अध्ययन, रोजगारलगायत विभिन्न उद्देश्यले अष्ट्रेलिया पुगेका नेपालीहरुको क्यानबेरामा उल्लेख्य बसोबास रहेको छ।

अष्ट्रेलियामा लामो समयदेखि थुप्रै नेपालीहरु बस्दै आइरहेका छन्। भारतसँग सीमाना र संस्कृति दुवै जोडिएका कारण अधिकांश नेपाल र नेपालीको छुट्टै पहिचान बन्न नसकेको सनातन समाजका अध्यक्ष सन्तोष मल्लले बताए। त्यसैकारण नेपाल र नेपालीको विशेष दिनको अवसर पारेर आतिसबाजी गर्न लागिएको उनले बताए।

‘नेपाली र भारतीयको संस्कार, संस्कृती र चाडपर्वहरु समान छन् र उनीहरुको शारिरिक बनोट पनि लगभग उस्तै हुन्छ। जसकारण यहाँ नेपालीलाई पनि भारतीय नै मान्नेहरुको जमात ठूलै छ, हाम्रो आफ्नै पहिचान बन्नसकेको छैन,’ मल्लले भने, ‘त्यसैले नेपाली र भारतीय फरक हुन्। हाम्रो आफ्नै संस्कृति छ, चाल चलनहरु छन्, आफ्नै पात्रो र नयाँ वर्ष छ भनेर जानकारी दिनलाई नयाँ वर्षलाई आतिसबाजीसहित विशेष दिनको रुपमा, सांस्कृतिक पात्रोको पहिलो दिनको रुपमा मनाउन लागेका हौं।’

दसैं, तिहार, फागु पूर्णिमा लगायतका पर्व नेपाल र भारत दुवैतिर मनाइन्छ। यसले नेपाली र भारतीय एकै हुन् भन्ने छाप परेको अध्यक्ष मल्लको अनुभव छ। तर, नयाँ वर्ष भने भारतमा इस्वी संवत् अनुसार जनवरीमा मनाइन्छ भने नेपालले विक्रम संवत् अनुसार वैशाखमा मनाउने गरेको छ।

चीन, इरान लगायत छुट्टै क्यालेन्डर मान्ने देशहरुले नयाँ वर्षमा विशेष कार्यक्रम आयोजना गर्दै आफ्नो पृथकता र विविधता अन्तर्राष्ट्रिय वृत्तमा प्रस्तुत गर्दै आएका छन्। त्यसैले, वैशाख १ गते आतिसबाजी गर्दै नेपालीहरुको आफ्नो छुट्टै सार्वभौम पहिचान छ र नेपाल र भारत फरक देश भएको सन्देश दिन लागिएको सनातन समाजले जनाएको छ।

नेपाली नयाँ वर्ष अष्ट्रेलियामा मात्र नभएर नेपालीको बसोबास रहेको सबै देशमा धुमधामसँग मनाउनु पर्ने सनातन समाज अस्ट्रेलियाको तर्क छ। विदेशमा नेपालीको आफ्नै मौलिक पहिचान स्थापित गर्न पनि यो आवश्यक रहेको संस्थाले जिकिर गरेको छ। नेपाली समाजको कार्यक्रममा यसरी चिफ मिनिस्टर आएको पहिलो पटक हो ।