मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सभ्य र भव्य बन्दै होली

सभ्य र भव्य बन्दै होली

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बाटोमा हिँड्दै गर्दा अचानक छातीमा लोला प्रहार भयो । कोटेश्वरकी भावना खड्कालाई त्यो प्रहारले केहीबेर निकै पीडा दियो । सम्हालिए घरतर्फ जान पनि गाह्रो भयो ।

“लोला कहाँबाट कसले हान्यो थाहा छैन । लोला प्रहारले निकै पीडा दियो”, खड्काले पाँच वर्षअघिको अनुभव सुनाइन् । उनको स्मृतिमा त्यो पीडा अहिले पनि ताजै छ ।

“अरुलाई पीडा दिने गरी लोला हानेर बुरा नमानो होली है भन्नु राम्रो होइन । अरुलाई दुःख दिएर होली कसरी सद्भावको पर्व बन्ला ?,” उनले भने ।

तर, अहिले समय फेरिएको छ । होली तुलनात्मकरुपमा सभ्य बन्दै गइरहेको अनुभव छ । भावनाकै अनुभवमा होली पाँच वर्ष अघिको जस्तो छैन । होली मनाउने तरिका फेरिएको छ । मानिसहरुको शैली बदलिएको छ ।

आइतबार तीनकुनेस्थित खुल्ला चौरमा साथीसँग होली खेल्दै गरेकी कुनै अपरिचितले रङ लगाइदेला र लोला हान्ला भन्न संशय थिएन । नेपाल प्रहरीले कसैलाई जबरजस्ती छुन नपाइने र अनुमतिबिना होली खेल्न नहुने भन्दै कारबाही सुरु गरेपछि होली सभ्य बन्दै गएको उनको छ ।

खड्कको जस्तै अनुभव छ, कीर्तिपुरका झरना मर्हजन र सिर्जना बस्नेतको । दुवैजना होली खेल्न वसन्तपुर पुगे। तर बाटोमा कसैले दुर्व्यवहार गरेनन् । कसैले जबर्जस्ती रङ दलेनन् । लोला हानेनन् । “अहिले त होली निकै अनुसाशित ढङ्गले खेल्न थालिएछ”, उनले भने, “सुरक्षित र सभ्य भएपछि थप रमाइलो पनि भएको छ ।”

आइतबार होली खेल्न वसन्तपुर पुगेकी झापाकी जुना विश्वकर्मा पनि होलीमा कसैले दुर्व्यवहार नगरेको बताइन् । “होस्टेलमा बस्ने हाम्रा लागि होस्टेलको नियम पनि मान्नुपर्छ । खुलेर होली खेल्ने छूट थिएन । तर पनि वसन्तपुर पुगेर राम्रोसँग मनाउन पाइयो”, उनले भनिन् । उनले राति अबेरसम्म साथीहरुसँग रङ खेलेर होली मनाइन् ।

“प्रहरीको उपस्थिति र निगरानी पनि राम्रो थियो । यसले हामीलाई निर्धक्कसँग होली खेल्न सहज भयो”, उनले भने, “विगतमा होली खेल्न जाँदा केटाहरुलाई सुरक्षा गार्ड बनाएर हिँड्नु पर्दथ्यो । केटी मात्रै देख्यो त समाएर जथाभावी रङ दलेर दुःख दिन्थे ।” तर यसपाली कसैको साहरा बिना होली खेलेको उनले सुनाए ।

होस्टेलका केटी साथी मिलेर स्वतन्त्र रुपमा होली खेलेको जुना बताए । “होली खेल्नु पर्छ तर गलत मनसायले छोएको कसलाई मन पर्छ र ?”, “यसपाली होली मर्यादित रुपमा खेलिएको महसुस गरेकी छु ।”

समाजशास्त्री मीना पौडेल पहिले होलीपर्व सुन्दै डराउँथे। खेल्ने र रमाइलो गर्ने त कुरै रहेन । पर्वका नाममा गरिएको दुव्र्यवहारको पीडादायी अनुभव छ । विसं २०४२ सालमा क्याम्पस पढ्न काठमाडौँ आएको वर्षको होलीले उनीलाई तर्साएको हो ।

“रत्नपार्कतर्फ जाँदै थिएँ, दूधको प्याकेटमा ढलको पानी मिसाएर मुखैभरी छ्यापे । त्यतिबेला सहनुबाहेक केही विकल्प थिएन”, उनले सुनाइन् । मीनालाई उक्त घटनाको असर आजसम्म पनि उत्तिकै छ ।

तर, अहिले समय बदलिएको छ । समाज सभ्य बन्दै गएको सङ्केत होली पर्वबाट महसुस हुने उनको भनाइ छ । विगतमा होली पर्व नाममा महिलामाथि कुदुष्टि राख्ने गरिन्थ्यो भने अहिले मित्रवत र मर्यादित व्यवहार गर्ने शैली बढेको छ । “अचेलका युवा पुस्ता चेतनशील हुँदैछन् भन्ने सङ्केत पनि हो”, “यसको कारण प्रहरी प्रशासनको कडाइ पनि हो ।”

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनाली विगतको तुलनामा होली खेल्ने शैलीमा निकै सुधार आएको बताए ।

होली पर्व सभ्य बनाउनकै लागि उपत्यकामा उल्लेख्य मात्रामा सुरक्षाकर्मी खटिएका थिए । सादा पोशाकमा प्रहरी परिचालनदेखि ड्रोन र सिसी क्यामरामार्फत निगरानी गरिएको उनले बताए । ललितपुरमा भएको दुर्घटनाबाहेक अन्यत्र मर्यादितरुपमा होली मनाइएको उनको भनाइ छ ।