मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

गठबन्धन गरेर चुनावमा जाने परम्पराले राजनीति दूषित भयो : महामन्त्री थापा

गठबन्धन गरेर चुनावमा जाने परम्पराले राजनीति दूषित भयो : महामन्त्री थापा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाटन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावभन्दा अगाडि नेताहरु मिलेर चुनावमा जाने परम्पराले नेपालको राजनीतिलाई दूषित बनाएको बताएका छन् ।

ललितपुरको गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा महामन्त्री थापाले पछिल्लो सत्ता गठबन्धनको उद्देश्य पनि आगामी चुनावमा गठबन्धन गर्न नै हो भने । उनले चुनावी गठबन्धनले राजनीतिलाई दूषित बनाएको तर्क गरे ।

“अहिले पनि संसद्मा कुनै दलको बहुमत छैन, यही प्रणाली हुँदा भोलि पनि कुनै दलको बहुमत हुँदैन । यसले नेताहरुको स्वार्थमा संसद् र सरकार बन्धक बनाउँछ । जनताको आवश्यकता र अपेक्षाको सम्बोधन हुनुपर्छ । राजनीतिलाई दूषित हुनबाट बचाउन निर्वाचन प्रणालीलाई बदल्नुपर्छ,” महामन्त्री थापाले भने ।

मिश्रित निर्वाचन प्रणाली विकृत भएको र त्यसबाट नेताहरूलाई सत्तामा पुग्न सहज हुँदा शक्तिको दुरुपयोग हुने गरेका आरोप महामन्त्री थापाले लगाए । प्रणाली ठीक नहुँदा देश विकासको गति ठप्प प्रायः भएको बताउँदै उनले सङ्घीय प्रणालीलाई ठीक ढङ्गले उपयोग गर्दै नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई दिइएको जिम्मेवारीअनुसार सेवा प्रवाह हुनुपर्ने बताए ।

बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले गोदावरी नगरपालिकाका प्रमुखमा नगरपालिकाको विकास र समृद्धिको लक्ष्य, दृष्टिकोण र मार्गचित्र स्पष्ट रहेको बताए ।

बागमती प्रदेशसभा सदस्य उर्मिला लामाले मुलुक सङ्घीय संरचनामा गएपछि बनेको गोदावरी नगरपालिकाले आठौँ स्थापना दिवससम्म आइपुग्दा महत्वपूर्ण कार्यसम्पादन गरेको बताए । उनले यस नगरपालिकालाई शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र पर्यटनको क्षेत्रमा नमूना नगरपालिकाका रुपमा विकास गर्न स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

त्यस्तै, बागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जनले सरकारले लिएको दिगो विकास लक्ष्यलाई पूरा गर्नेतर्फ विशेष महत्व दिएर मानव विकास, सामाजिक विकास र पूर्वाधार विकासमा लाग्न आग्रह गरे ।

जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले गोदावरी नगरपालिकाले नगरबासीको चाहना पूरा गर्न महत्त्वपूर्ण काम गरेको बताए । उनले विकास निर्माणका सन्दर्भमा स्थानीय तहले चाहना गरेबमोजिम सङ्घ र प्रदेशले बजेट प्रवाह गर्न नसकेको बताए ।

नगरप्रमुख गजेन्द्र महर्जनले भूगोलका हिसाबले उपत्यकाको सबैभन्दा ठूलो नगरपालिकाका जनप्रतिनिधिहरुको गुनासोलाई सुझावका रुपमा लिएर काम गरिरहेको बताए । उनले सीमित स्रोत र साधनका बावजुद शिक्षा, स्वास्थ्यसँगै सम्पदा संरक्षणमा पनि ध्यान दिएको बताए ।

उपप्रमुख मुना अधिकारीले नयाँ नगरपालिका भएकोले आन्तरिक स्रोतको अभावका कारण सबै वडा कार्यालय भवन बनिनसकेका बताए ।