मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

दोस्रो पटक परराष्ट्र मन्त्रालय सम्हाल्दै उपप्रधानमन्त्री श्रेष्ठ

दोस्रो पटक परराष्ट्र मन्त्रालय सम्हाल्दै उपप्रधानमन्त्री श्रेष्ठ

हिमालय खबर

शेयर गर्नुहोस:

297
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । लामो समय भूमिगत राजनीतिमार्फत परिवर्तनका लागि होमिएका नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ दोस्रो पटक उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्रीकारुपमा परराष्ट्र मन्त्रालयको नेतृत्वमा पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा यसअघि उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात र उपप्रधानमन्त्री एवं गृहमन्त्रीको भूमिका रहेका थिए । प्रधानमन्त्री दाहालले गरेको मन्त्रिपरिषद् गठनमा उनी उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्रीमा नियुक्त भएका हुन् ।

उनले गत चैत १९ गतेदेखि गृह मन्त्रालयको नेतृत्व सम्हालेका थिए । त्यसअघि उहाँ २०६८ सालमा डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री बनेका थिए । हाल राष्ट्रियसभा सदस्यका रूपमा रहेका उनको जन्म २०१७ साल कात्तिक २ गते पिता मेघनारायण र आमा ज्योतिमायाको छोराका रूपमा गोरखाको सिरानचोक गाउँपालिका–८ जौवारीमा भएको हो ।

उनले विसं २०३१ सालदेखि राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् । २०४२ सालमा नेकपा (चौम) को केन्द्रीय सदस्य, २०५१ सालमा नेकपा (एकता केन्द्र) का महासचिव, २०६५ सालमा नेकपा (एकीकृत माओवादी) को उपाध्यक्ष, २०६६ सालमा माओवादी संसदीय दलको उपनेताको भूमिका निर्वाह गरेका थिए । उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय सदस्य एवं प्रवक्ताको भूमिकामा पनि थिए ।

संविधानसभा सदस्यसमेत रहिसकेका नेता श्रेष्ठ राष्ट्रियसभा सदस्यमा बागमती प्रदेशबाट निर्वाचित भएका हुन् । उनका विभिन्न कृति र लेखहरू प्रकाशित छन् । २०३३, २०३६ र २०४२ सालमा पटकपटक उनले जेलजीवन बिताएका छन् ।

ऐतिहासिक सिलिगुढी वार्तादेखि १२ बुँदे सहमति हुँदै जनयुद्घ र जनआन्दोलनबीचको तालमेल, जनआन्दोलनको सञ्चालन र सम्झौता, अनि शान्तिवार्ता, अनेकन महत्त्वपूर्ण सहमतिहरू र आन्तरिक संविधान निर्माण, संविधानसभाको चुनावदेखि आजभोलि चलिरहेको सत्ता बाँडफाँटको काममा संयोजन गर्ने कुशल संयोजकका रूपमा उनलाई लिइन्छ ।

तत्कालीन नेकपा (माओवादी)ले जनयुद्ध सुरू गरेको छ वर्षपछाडि भारतको सिलगुढीमा वाम पार्टीको संयुक्त बैठक गराउनमा महत्त्वपूर्ण भूमिका खेलेपछि नेपालको राजनीतिमा उनको एकाएक चर्चा भएको थियो । विसं २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन सुरू गर्न भारतको नयाँदिल्लीमा भएको नेपाली कांग्रेससहितको तत्कालीन सात राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी) बीचको वार्ता एवं तिनीहरूबीच भएको १२ बुँदे सहमति गराउनमा उहाँले खेलेको कुशल संयोजनकारी भूमिकाले उनलाई आन्दोलनकारीबीच थप चर्चामा पुर्‍याएको थियो ।

अठार वर्ष भूमिगत रहेका नेता श्रेष्ठ २०६५ साल जेठ १५ गते एक कार्यक्रमबाट सार्वजनिक भए । उनले केही समय काठमाडौँ बालाजुस्थित सिद्धार्थ वनस्थली स्कुलका शिक्षक, मूल्याङ्कन मासिकका सम्पादकका रूपमा काम गरे । भूमिगत राजनीतिबाट सार्वजनिक भएलगत्तै मन्त्री श्रेष्ठ नेपालको राजनीतिको ‘पेरिफेरि’मा नै छन् ।

मन्त्री श्रेष्ठले १० कक्षासम्म गाउँकै परोपकार आदर्श माविमा अध्ययन गरे । उनी पढ्नमा तीक्ष्ण थिए । सधैँ कक्षाका प्रथम भए । २०३२ सालमा एसएलसी गर्दा गणित विषयमा १०० नम्बर ल्याएर स्कुलको रेकर्ड तोडेका थिए । पहिला मेडिकल कलेजमा अध्ययन गरेका उनले २०४० सालमा जनप्रशासन क्याम्पसबाट जनप्रशासन विषयमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन गरेका छन् । उनले अर्थशास्त्रमा पनि स्नातक गरेका छन् ।

पन्ध्र वर्षमा एसएलसी उत्तीर्ण गरेका उनी १६ वर्षको उमेरमा नै जेल परे । २०३६ सालमा पञ्चायतविरुद्घ विद्यार्थी गतिविधिमा लागेको भन्दै उनलाई केन्द्रीय कारागाारमा राखिएको थियो । उनी दोस्रोपटक ०३६ सालमा पनि गोरखामा जेल परे । तेस्रोपटक २०४५ सालमा जनआन्दोलनको तयारीको बेलामा पक्राउ परे ।

मन्त्री श्रेष्ठले २०३८ सालमा गोरखा जिल्लाका कम्युनिस्ट नेता श्रीनाथ अधिकारीबाट पार्टी सदस्यता लिएका हुन् । २०४७ सालमा मशाल, चौम र सर्वहारावादी श्रमिक सङ्गठनका बीचमा एकता गर्ने क्रममा उनी पार्टी एकता संयोजन समितिको सदस्य रहे । एकता भएपछि २०४८ सालमा एकता महाधिवेशनबाट उनी नेकपा (एकता केन्द्र)को पोलिटब्यूरो सदस्य भए ।