मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

नवनियुक्त अर्थमन्त्री पुनद्वारा पदबहाली

नवनियुक्त अर्थमन्त्री पुनद्वारा पदबहाली

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदबहाली गरेका छन् । अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै अर्थमन्त्री पुनले अर्थतन्त्रका समस्याबारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताए ।

“अर्थतन्त्र शिथिल छ, अब आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्नेछु । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसात् गरेको छ । नयाँ आशा जगाउनका लागि पहल गर्नेछु । तर त्यो त्यति सहज छैन । विगतका आफ्ना अनुभव र शिक्षाका साथ काम गर्न सकिन्छ । नयाँ आशा जगाउन सक्छौँ,” मन्त्री पुनले भने ।

आफूभन्दा अगाडिको नेतृत्वलाई आलोचना गर्न लाग्नेभन्दा पनि आफूले राम्रो गर्न प्रयत्न गर्ने उनले बताए । अन्तरमन्त्रालय समन्वयलाई प्राथमिकतामा राख्ने उनले बताए ।

अर्थमन्त्री पुनले कार्यभार सम्हाल्नु भएलगत्तै पहिले निर्णयका रुपमा जलवायु कोषबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण सहायतालाई उत्पादनशील र दिगो पूर्वाधार आयोजनाको ठोस क्रियाकलापमा केन्द्रित गर्ने गरी प्रस्ताव तयार गर्न विषयगत मन्त्रालय र सम्बन्धित दातृ निकायलाई मार्गनिर्देश गर्ने निर्णय गरेका छन् । त्यस्तै ग्रीन क्लाइमेट फण्डको पाइपलाइनमा रहेका आयोजनाको अद्यावधिक गर्ने निर्णय गरेका छन् ।

विसं २०६४ मा संविधानसभा सदस्य बनेका पुन २०६७ मा शान्ति तथा पुनःनिर्माणमन्त्री मन्त्री बनेका थिए । विसं २०६८ मा अर्थमन्त्री बने पनि उनले वार्षिक बजेट ल्याउन पाएका थिएनन् । उनी २०७४ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका थिए ।

विसं २०५३ मा तत्कालीन नेकपा माओवादीको रोल्पा र प्युठान जिल्ला समिति सचिव बन्नुभएका नेता पुन हाल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को उपमहासचिव हुन् । रोल्पा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उनी कानुन सङ्कायमा स्नातक हुन् । विसं २०२८ जेठ १८ गते रोल्पा नगरपालिका–४ माडीचौरमा जन्मिएका हुन् ।