मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

देश र जनताका हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्छ : प्रधानमन्त्री

देश र जनताका हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्छ : प्रधानमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

432
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्ने बताएका छन् ।

सहिदको सपना पूरा गर्न पनि क्रान्तिकारी शक्तिबीच एकता, सहकार्य जरुरी रहेको उल्लेख गर्दै उनले सहिदहरुको सपना पूरा गर्नका लागि पनि एक ठाउँमा आउनैपर्नेमा जोड दिए ।

सहिद प्रतिष्ठान नेपालले आयोजना गरेको शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रियामा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुन जरुरी रहेको बताए । सहिदको सपना पूरा गर्ने लक्ष्यका साथ समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको उनको भनाइ थियो ।

माओवादी सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउदो नदी भएको उल्लेख गर्दै उनले भने, “माओवादी निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन । नयाँ–नयाँ परिस्थिति सिर्जना गर्ने जात हो माओवादी । सहिद सप्ताहको अन्तिम दिन निरन्तरतामा क्रमभङ्गता भएको छ ।”

प्रधानमन्त्री दाहालले आजको दिनलाई विशेष दिनका रुपमा रहेको टिप्पणी गरे । “नयाँ उथलपुथल भएको दिन पनि बन्यो । यो ठूलो कुरा हो । क्रान्तिकारी एक हुने अवस्था छ र बृहत्तर कम्युनिस्ट एकताको पहल पनि भइरहेको छ”, प्रधानमन्त्रीले भने ।

उनले आफूहरुलाई घेरा हालेर सिध्याउने कोशिस भएपनि त्यसलाई तोड्दै आएको उल्लेख गरे । उनले आफ्नै नेतृत्वमा जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेको र बाँकी रहेकालाई समेत छिट्टै घोषणा गरिने प्रतिबद्धता व्यक्त गरे ।

शान्ति प्रक्रियाको कामलाई टुङ्गो लगाएर सहिद तथा बेपत्ता परिवारलाई परिपूरण, रोजगारीलगायतका विषयलाई सम्बोधन गरिने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले माओवादी नेतृत्वको सरकारले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेको र जनयुद्ध दिवसमा राष्ट्रिय बिदा दिएको विषयलाई खुलेर प्रसंशा गर्न कन्जुस्याई गरेकामा पूर्वमाओवादी घटकप्रति असन्तुस्टि जनाए । “ठूला कुरा गर्नुभन्दा हामी क्रान्तिकारीहरु एक ठाँउमा उभिने बाटो खोजौँ त्यसमा नै हामी सबैको भलाइ छ”, प्रधानमन्त्रीले भने ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनयुद्ध जनआन्दोलनको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथ्य पेश गर्दै जनयुद्धलाई नकार्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष जरुरी रहेको बताए । देशलाई समृद्ध बनाउने लक्ष्यका साथ आफूहरु नयाँ जिम्मेवारी लिन तयार रहेको उनको भनाइ छ ।

सहिद प्रतिष्ठान नेपालका अध्यक्ष धर्मशिला चापागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य जनक शाह र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बाँस्तोलालगायतले सहिदको सपना पूरा गर्नुपर्ने बताए ।

फागुन १४ देखि २१ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइँदै आइएको छ । झापा विद्रोहदेखि जनयुद्धसम्मलाई जोडेर माओवादीले सहिद सप्ताह मनाउने गरेको हो ।