मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

निर्वाचनपछि गठबन्धन हुनसक्छ, चुनावमा रुखमै मत हाल्ने वातावरण बनाउँछौँ : महामन्त्री थापा

निर्वाचनपछि गठबन्धन हुनसक्छ, चुनावमा रुखमै मत हाल्ने वातावरण बनाउँछौँ : महामन्त्री थापा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाटन (ललितपुर) । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावमा मतदातालाई रुखमै भोट हाल्ने वातावरण बनाउने बताएका छन् ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्रमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री थापाले आफ्नै सङ्गठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गरिनेमा जोड दिए ।

“कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा स्वाभाविक हुनसक्छ, तर निर्वाचन पूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै कांग्रेस महासमिति बैठकबाट पार्टीका सदस्य, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै भविष्यमा हुने आवधिक निर्वाचन आफ्नै ताकतमा एक्लै लड्ने छौँ र हाम्रो मतदातालाई कांग्रेसको चुनाव चिह्न रुखमै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेर्छौं” उनले भने ।

उनले एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाका लागि कांग्रेसले निर्वाचन अगाडि गठबन्धनको नेतृत्व गर्नुपरेको बताए । उनले गत निर्वाचनमा कांग्रेसले पाँच वर्षको लागि गठबन्धनसहित मत मागेकाले यो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलसँगको सम्झौता बमोजिम राजनीतिक इमानदारी प्रदर्शन गर्नेमा सचेत रहेको जानकारी गराए ।

थापाले संसद्भित्रको कांग्रेसको भूमिकालाई पनि त्यसै अनुरुप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै पार्टीले भ्रष्टाचारमा, महिलामाथि हुने हिंसा, सामाजिक विभेद्, छुवाछूत लगायतमा शून्य सहनशीलताको नीति अङ्गीकार गर्नेमा जोड दिए ।

“आदर्शका लागि जीवनपर्यन्त कठोर सङ्घर्ष गरेका, प्राण आहुति दिएका अथक योद्धाले जन्माएको पार्टी नेपाली कांग्रेसले कुनै पनि निर्णय गर्दा तीनै अग्रजको बलिदानलाई स्मरण गर्दै तत्काल कुनै अप्ठ्यारा र चुनौती आए पनि पार्टीले क्षति नै बेहोर्नुपरे पनि लोकतान्त्रिक मूल्यमान्यता, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र विधिको शासन लगायतका आधारभूत मान्यतामा कहिल्यै सम्झौता गर्ने छैनौँ”–उनले भने ।

नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने यस्ता क्षेत्रगत स–साना कार्यले देशलाई समुन्नतितिर लान नै कांग्रेसको जनमुखी परिचय पनि स्वतः स्थापित गर्छ भन्नेमा कांग्रेसलाई गहिरो विश्वास छ भन्दै सङ्घ र प्रदेशमा सरकार साझेदारी र स्थानीय तहको सरकारको नेतृत्व गरेको कांग्रेसले सेवा प्रवाहलाई चुस्त बनाउँदै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्यममा सुधार र सकारात्मक भविष्यको अनुभूति नागरिकलाई कसरी गराउने भन्नेमा पार्टीले गम्भीरतापूर्वक प्राथमिकता दिने जानकारी गराए ।

“हाम्रा समर्थक सुभेच्छुकको अपेक्षालाई पार्टीको विचार, नेतृत्व र कार्यशैलीबाट सम्बोधन गर्दै आशा र ऊर्जामा परिणत गर्नुपर्ने चुनौती छ । मूलतः पार्टीले लिने विचार र यसको नेतृत्वको छविका आधारमा नै यो पङ्तिले आफ्नो धारणा बनाउने हो । सङ्गठन संरचना र सदस्य सङ्ख्याले तिनलाई खासै प्रभाव पार्दैन । यस्तो बेला पार्टीको विचार र एजेण्डा स्पष्ट हुनुपर्छ र उनीहरूसँग पार्टी नेतृत्वले नै संवाद गर्न अघि सर्नुपर्छ । तिनलाई आफ्ना एजेण्डा बुझाउनुपर्छ, मुलुकको अवस्थाका कारण सृजित कतिपय सीमाका बारेमा बताउनुपर्छ” उनले भने ।