मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

कांग्रेस महासमिति बैठक : जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीलाई सुझाव

कांग्रेस महासमिति बैठक : जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीलाई सुझाव

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठकमा बोल्ने वक्ताहरुले पार्टीले जनतालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले पार्टीबाट टिकट लिई जनप्रतिनिधि भएका सबैले तल्लो तहका जनतालाई केन्द्रबिन्दुमा राखेर हरेक विकास निर्माणका काम अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा कांग्रेस गोरखाका महासमिति सदस्य प्रकाशचन्द्र दवाडीले पार्टीबाट टिकट लिएर चुनाव जितेपछि जनताको घरदैलोमा जनप्रतिनिधि नपुग्दा समस्या परेको बताए । उनले भने, ‘पार्टीबाट टिकट लिएर चुनाव जित्ने, त्यसपछि पार्टीको सम्बन्ध र जनताको समस्यालाई सुन्दै नसुन्ने प्रवृत्ति देखिएकाले पार्टीलाई समस्या देखिएको हो ।’

महासमिति सदस्य दवाडीले केन्द्रीय नेता स्थानीय तहबाट प्रतिनिधि भएर आउँदा कार्यकर्तामासमेत खुसी छाउने भएकाले सो व्यवस्था विधानमा गरिनुपर्ने बताए । एक व्यक्ति, एक पदको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले राजनीतिलाई विकाससँग जोड्न सकेमात्र पार्टी बलियो हुने बताए । पार्टीलाई शिक्षा, रोजगारी र कृषिलाई जोडेर लैजाँदा जनशक्ति व्यवस्थापनमा सहज हुने उनको भनाइ थियो ।

कांग्रेस धनकुटा सभापति दिनेश राईले कोशीमा प्रदेश नामाङ्कको विषय पेचिलो बन्दै गएको भन्दै उक्त विषयमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताए ।

जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्नुभएकी महासमिति सदस्य सीता सापकोटाले विदेशमा रहेका नेपालीलाई पनि यही देशमा राजनीति गर्ने अधिकार प्रदान गर्नुपर्ने बताए । उनले भने, ‘पार्टीले गैरआवासीय नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्छ ।’

बैठकमा ललितपुरका महासमिति सदस्य कवेलबहादुर लामाले विगतमा नेताहरुको निर्णयको कमजोरीले गर्दा माओवादी र एमालेबीच गठबन्धन भएको र सोही कारणबाट असक्षम व्यक्तिले राजनीति नियुक्ति पाएर जिम्मेवारीमा रहँदा समस्या भएको बताए ।

‘राजनीतिक नियुक्ति पाएर महत्वपूर्ण जिम्मेवारीमा रहँदा कतिपय ठाउँमा सरकारले चाहेअनुरुप जनचाहना सम्बोधन गर्नेगरी काम हुन सकेका छैनन् । पार्टीले हरेक निर्णय गर्दा देशका सबै पक्षलाई ध्यान दिनुपर्छ । कांग्रेस राष्ट्रिय पार्टी भएकाले सबैलाई समेट्नेगरी अगाडि बढ्नुपर्छ’, उनले भने ।

महासमिति सदस्य शेखर खड्का, विमल सुवेदी र विष्णु पोखरेलले बैठकमा महामन्त्रीले राखेको प्रस्तावमाथि समर्थन जनाउँदै प्रतिवेदनलाई अक्षरशः पालना गरे पार्टी चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं महासमिति सदस्य बालकृष्ण पाण्डेले विश्वभरी छरिएर रहेका नेपालीका बारेमा पार्टीले स्प्रष्ट धारणा बनाउनुपर्ने बताए । ‘करिब एक तिहाइ जनसङ्ख्या भएको जनसम्पर्क समितिलाई कांग्रेसले अभिभावकत्व लिनुपर्छ । उनीहरुको सीप, पुँजी, क्षमतालाई सदुपयोग गर्दै पार्टी र राष्ट्र निर्माणमा लगाउनुपर्छ’, उनले भने ।

महासमिति सदस्य उमा थापामगरले सरकार र पार्टीका हरेक संरचनामा महिलालाई ३३ प्रतिशत प्रतिनिधित्वको अधिकार दिएको भन्दै उक्त अधिकार अपुग भएको उल्लेख गरे । कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले महासमिति बैठकको निर्णय केन्द्रीय समितिले उल्टयाउन नमिल्ने बताए । उनले क्रियाशील सदस्यता वितरण गर्ने अधिकार जिल्लालाई दिनुपर्ने उल्लेख गरे ।

कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले प्रदेश समितिलाई कसरी सक्रिय बनाउने र उनीहरुलाई कसरी गाउँगाउँ पुर्याउने त्यसतर्फ पार्टीले ध्यान दिनुपर्ने बताए ।

नेपाली कांग्रेस म्याग्दीकी महासमिति सदस्य मनकुमारी विश्वकर्माले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको अधिवेशन निश्चित समयमा तोकिएकै मितिमा गराउन बाध्यकारी विधान बनाउनुपर्ने बताए । उनले वडापालिका कार्यसमिति भद्दा भएकाले बैठक बस्न समस्या भएको भन्दै उक्त समिति घटाउन महासमिति बैठकले विशेष पहल गर्नुपर्ने बताए ।

कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले कांग्रेसलाई कसरी सुधारेर लैजाने भन्ने कुरा प्रतिवेदनमा अपुग भएको बताए । उनले भने, ‘युवालाई कसरी कांग्रेसलाई समेट्न सकिन्छ, नयाँ अनुहार कसरी महाधिवेशन प्रतिनिधि हुन्छ भन्ने कुरा प्रतिवेदनले समेट्नुपर्छ ।’

महासमिति सदस्य एवं नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सञ्चार क्षेत्रलाई समेट्नेगरी कांग्रेसले कुनै पनि प्रस्ताव ल्याउन नसकेको बताए । उनले भने, ‘सञ्चार क्षेत्रले जताततै चुनौती भोग्दै आएको छ, नयाँ सञ्चार माध्यमको चुनौती छ, यसलाई सम्बोधन गर्न पार्टी गम्भीर ढङ्गले लाग्नुपर्छ ।’

कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले पार्टीलाई तिर्नुपर्ने शुल्कको कुरा विधानबमोजिम सम्बोधन हुनुपर्ने बताए । उनले क्रियाशील सदस्यता वितरणमा नयाँलाई अवसर दिनुपर्ने बताए ।

कांग्रेस हुम्ला सभापति मोहनविक्रम सिंहले केन्द्रीय सभापति र पदाधिकारी जिल्लाबाट चुनिएर आउने व्यवस्था मिलाउनुपर्ने धारणा राखे । कांग्रेस रुकुमपश्चिमका सभापति प्रेमप्रकाश ओलीले जाजरकोट र रुकुमपश्चिमको भूकम्पले पु¥याएको क्षतिको विषयलाई प्रतिवेदनमा नसमेटिएको गुनासो गरे ।

कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठले अहिलेको गठबन्धन नभएको भए नेपाली कांग्रेसमा निराशा थप बढ्ने र कमजोर हुने स्थिति सिर्जना हुने बताए ।

भ्रातृ तथा सुभेच्छुकको समूहमा सहभागी महासमिति सदस्य ईश्वरी ओझाले कांग्रेसले गरीब किसानलाई ध्यान दिएर कृषि, शिक्षा, स्वास्थ्यका क्षेत्रमा समाधान गर्नेगरी काम गर्नुपर्ने बताए । उनले समावेशीताका नाममा राज्यका हरेक तहमा बौद्धिक जगतलाई बिर्सनु नहुने धारणा राखे ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा चार समूहमा छलफल भइरहेको छ । सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशङ्खुनारायण हलमा मधेस र कर्णाली प्रदेशको समूहगत छलफल भइरहेको छ ।

प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि सुरु भएको कांग्रेस महासमितिको बैठक भोलि फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।