मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

परिवर्तनका पक्षधरलाई गोलबन्द हुन प्रधानमन्त्रीको आह्वान

परिवर्तनका पक्षधरलाई गोलबन्द हुन प्रधानमन्त्रीको आह्वान

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा परिवर्तनका पक्षधर गोलबद्ध हुनुपर्ने बताएका छन्।

सोनाम ल्होछारका अवसरमा आज टुँडिखेलमा आयोजित तामाङ सांस्कृतिक महोत्सवमा उनले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा मात्रै सङ्घीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताए।

‘म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नूस्, यसको वरिपरि गोलबन्द हुनूस्,’ प्रधानमन्त्रीले भने, ‘फेरि हामी शक्तिशाली हुने छौँ, आन्दोलनका बाँकी कार्यभार पूरा हुनेछन्।’

आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा सात सय ५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूप कार्यालयको स्थापनामा महत्वपूर्ण काम भएको स्मरण गर्दै उनले अहिले सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारे।

हालै मात्र राष्ट्रिय समन्वय परिषद्का दुईवटा बैठक सम्पन्न भएका बताउँदै प्रधानमन्त्री दाहालले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिए। उनले भने, ‘सङ्घीयताको सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखिएको छ, सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐनलगायत ऐन पारित गर्न उच्च महत्व दिएको छु। प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’

पहिचान र अधिकार स्थापित गर्ने संविधान जारी गर्न दशौँ हजार योद्धाले बलिदान गरेका स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने, ‘क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशिला खडा हुन सक्छ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ।’

प्रधानमन्त्री दाहालले अबको सङ्घीय मन्त्रिपरिषद् पुनःगठनका क्रममा बागमती प्रदेशमा तामाङ समुदायबाट सरकारमा प्रतिनिधित्व गराइने प्रतिबद्धता व्यक्त गरे। सोनाम ल्होछार मनाउन तामाङ समुदायलाई सरकारका तर्फबाट प्रदान गरिने सहयोगलाई वृद्धि गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

प्रधानमन्त्रीले सोनाम ल्होछारले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकताबद्ध भई अगाडि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। उनले तामाङ समुदायको मुख्य पर्व ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरे।