मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

विमान दुर्घटनामा निधन भएका पत्रकारद्वयको ‘स्मृति दर्पण’ प्रकाशन

विमान दुर्घटनामा निधन भएका पत्रकारद्वयको ‘स्मृति दर्पण’ प्रकाशन

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की । गत वर्ष माघ १ गते पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा निधन भएका पोखराका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीको सम्झनामा ‘स्मृति दर्पण’ प्रकाशन गरिएको छ ।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले प्रकाशन गरेको स्मृति ग्रन्थ पुस्तकको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमोचन गरेका हुन्। प्रेस सेन्टरको वीरगञ्जमा सम्पन्न २०औँ स्थापना दिवस समारोहका अवसरमा सोमबार स्मृति दर्पण विमोचन गरिएको हो ।

पुस्तकमा स्व पत्रकारद्वयको जीवनी, विभिन्न पत्रकार तथा पत्रकार सम्बद्ध सङ्घसंस्थाका अध्यक्ष तथा सञ्चारकर्मीले उनिहरूसँगको सहकार्यलाई किताबमा उल्लेख गरेका छन् । स्मारिकामा गण्डकी प्रदेश क्षेत्रमा विभिन्न समयमा ज्यान गुमाएका पत्रकारहरूको पनि सङ्क्षिप्त परिचय समेटिएको छ ।

प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव एवं गण्डकीका इन्चार्ज दीपक श्रेष्ठले गुमाएकाको सम्झना र सम्मानमा स्मृति ग्रन्थ प्रकाशन गरिएको बताए । उनले भने, “गतिशीलतालाई बुझ्न सक्ने, समयसापेक्षतालाई गहिरो चिन्तनमनन गर्ने ‘डाइनामिक’ नेतृत्व स्व त्रिभुवन पौडेलले नेपाली पत्रकारितामा पुर्‍याएको योगदानलाई अभिलेखीकरण गर्ने र चिरस्थायी बनाउनका लागि पुस्तक प्रकाशन गरेका हौँ ।”

प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्षसमेत रहेका स्व पत्रकार पौडेल नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य थिए । उनले गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष तथा कास्की शाखामा तीन कार्यकाल पदाधिकारीमा रहेर काम गरेका थिए ।

महासङ्घ प्रदेश समितिले पौडेलको स्मृतिमा १० लाखको अक्षयकोष स्थापनाको तयारी गरेको छ । कोषमा पत्रकार, विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट रकम जम्मा भइरहेको बताइन्छ । यसैगरी, प्रदेश समितिका अध्यक्षको कार्यकक्षलाई ‘त्रिभुवन स्मृति कक्ष’ नामकरण गरिएको छ । पौडेल अध्यक्ष रहेका समयमा प्रदेश समितिको भवन निर्माण गरिएको थियो ।

प्रेस सेन्टर नेपालले पनि स्व पत्रकार पौडेलका नाममा केन्द्रमा अक्षयकोष स्थापना गर्ने प्रेस सेन्टर गण्डकीका अध्यक्ष अर्जुन काफ्लेले बताए ।