मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

राष्ट्रियसभा सदस्य निर्वाचन : सुदूरपश्चिममा सत्तागठबन्धनका उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्य निर्वाचन : सुदूरपश्चिममा सत्तागठबन्धनका उम्मेदवार विजयी

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका बलदेव बोहरा, नारायणदत्त भट्ट र नेकपा (माओवादी केन्द्र)का रेनु चन्द विजयी भएका छन् । धनगढीमा सम्पन्न निर्वाचनमा अन्य समूहतर्फबाट बोहरा, अपाङ्गताको समूहबाट भट्ट र महिला समूहमा चन्द विजयी भए ।

अन्य समूहमा बोहराले चार हजार तीन सय २८ मतभार प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार ईश्वरीप्रसाद खरेलले एक हजार छ सय ९६ मतभार प्राप्त गरे । अपाङ्गताका समूहमा भट्टले चार हजार चार सय १९ मतभार प्राप्त गर्दा प्रत्याशी रामचन्द्र जोशीले एक हजार पाँच सय १९ मतभार प्राप्त गरे ।

साथै, महिला समूहमा विजयी चन्दले चार हजार चार सय ५३ र प्रत्याशी सावित्रादेवी घिमिरेले एक हजार पाँच सय ७१ मतभार पाएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए ।

कूल ५२ प्रदेशसभा सदस्य र एक सय ७३ पालिका तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदानमा सहभागी भए । साथै दुई जना जनप्रतिनिधि अनुपस्थित रहे ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बझाङका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका तर्फबाट निर्वाचित पृथ्वीबहादुर सिंहको केही महिनाअघि सवारी दुर्घटनामा निधन भएको थियो । त्यसैगरी यही माघ ४ गते बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको थियो ।

प्रदेशसभा सदस्य मतदातातर्फ एक मत र पालिका तहका प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष मतदातातर्फ दुई मत बदर भएका छन् ।

धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा मतदानस्थल तोकिएको थियो । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा महिला कोटाबाट निर्वाचित नेकपा (एमाले)की इन्दु कडरिया (कञ्चनपुर), अपाङ्गता तथा अल्पसङ्ख्यक कोटाबाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का महेशकुमार महरा (डडेलधुरा) र अन्य कोटाबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) कैलालीका हरिराम चौधरी (उत्सव)को पदावधि आगामी फागुनमा सकिन लागेकाले यी तीन पदका लागि निर्वाचन भएको हो ।

मतदाताका रुपमा रहेका प्रदेशका सबै नौ जिल्लाका ८८ पालिका तहका प्रमुख, उपप्रमुखरअध्यक्ष, उपाध्यक्ष गरेर एक सय ७६ रहेका थिए । कूल मतदाता दुई सय २७ थिए ।