मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

जेललाई सुधारगृह बनाउनुपर्छ : गृहमन्त्री श्रेष्ठ

जेललाई सुधारगृह बनाउनुपर्छ : गृहमन्त्री श्रेष्ठ

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जेललाई सुधारगृह बनाउनुपर्ने धारणा राखेका छन् ।

सर्लाहीमा कारागार भवन उद्घाटन गर्दै उनले जेललाई सुधारगृह बनाउनुपर्ने भन्दै कैदीबन्दीले विगतमा जस्तोसुकै अपराध गरे पनि उनीहरुलाई कुण्ठित बनाउने र उनीहरुको मानवीय जीवनलाई कष्ट हुन दिन नहुनेमा जोड दिए । उनले कैदीबन्दीका लागि जेलभित्र ध्यान शिविर सञ्चालन गरिँदै आएको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले सरकारको प्राथमिकता सुशासन, समृद्धि र सामाजिक न्याय भएको भन्दै भने, “अहिलेको प्राथमिकता मुलुकको आर्थिक विकास र प्रगति समृद्धिलाई अगाडि बढाउनु हो ।”

उनले प्रहरी समायोजनका लागि नेपाल प्रहरी ऐनको मस्यौदा तयार भइसकेको बताउँदै समायोजन ऐन, सुपरीवेक्षण र परिचालन ऐन पनि २०७६ सालमा पारित भइसकेको र त्यसमा केही परिमार्जनका लागि प्रदेशमा सल्लाह गर्ने उल्लेख गरे ।

गृहमन्त्री श्रेष्ठले मुलुकमा युगान्तकारी ऐतिहासिक राजनीतिक परिर्वतन भइसकेको भन्दै समाजवाद उन्मुख समावेशी लोकतन्त्रका रुपमा संविधानसभाबाट संविधानलाई संस्थागत गरिएको बताए ।

सरकारले सुशासन प्रवर्द्धन र भ्रष्टाचारविरोधी अभियानबाट बिश्राम नलिने उनको भनाइ थियो । “केही कामहरु भएका छन् तर नेपाली जनताको अपेक्षा, राजनीतिक परिर्वतनले दिएको निर्देश र आजको आवश्यकताको अनुपातमा काम तीव्र हुन सकेको छैन”, उनले भने । “त्यसैले सरकार आर्थिक विकास र समृद्धिको अभियानमा छ ।”

त्यसै अवसरमा उनले सहकारीहरु आफ्नो उद्देश्यबाट बिमुख हुन थालेको बताए । “सहकारीहरु बैङ्क जस्तै सञ्चालन हुन थालेका छन्”, उनले भने, “सहकारी संस्था खाली बचत र ऋण लगानी गर्ने संस्था बन्न थालेका छन् ।”

गृहमन्त्री श्रेष्ठले उद्घाटन गरेको सर्लाही कारागार मलङ्गवा करिब ११ वर्षपछि सञ्चालनमा आएको हो । चार करोड ४५ लाख २७ हजार ६ सय ८७ रुपैयाँ ६५ पैसाको लागतमा निर्माण भएको कारागारमा एक सय ६० पुरुष र ५० महिला गरी दुई सय १० कैदी अट्ने क्षमताको छ । कारागार भवन आठ कट्ठा १५ धुरमा फैलिएको छ ।

जिल्लामा कारागार नहुँदा यहाँका कैदीबन्दीलाई सिन्धुली, गौर, जलेश्वर, झुम्कालगायतका कारागारमा लगिँदै आएको थियो । मलङ्गवा कारगारभित्रका कैदीलाई २०६९ साल माघ १६ गते सर्लाही प्रशासनले अन्य स्थानका कारागारमा स्थानान्तरण गरी जीर्ण भवन पुनःनिर्माण सुरू गरिएको थियो ।

सहरी विकास डिभिजन कार्यालय जनकपुरले कारागार निर्माण गर्न रामजानकी निर्माण सेवालाई चार करोडमा ठेक्का दिएको थियो । रौतहट जिल्ला कारागारबाट ३० जना कैदीबन्दी सारेर सर्लाही कारागारमा ल्याएर कारागार सञ्चालन गरिएको कारागार प्रशासनले जनाएको छ ।