मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

समृद्धिका लागि नेपाल र भारतबीचको सहकार्य मजबुत हुनुपर्छ : उपराष्ट्रपति

समृद्धिका लागि नेपाल र भारतबीचको सहकार्य मजबुत हुनुपर्छ : उपराष्ट्रपति

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नजिकको छिमेकीका रुपमा नेपाल र भारतको विगत, वर्तमान र भविष्य जोडिएको बताएका छन् ।

उपराष्ट्रपति निवास पुगेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा उनले दुई देशका जनताको प्रगति र समृद्धिका लागि मित्रता तथा सहकार्य थप मजबुत हुनुपर्ने बताए ।

“भारत नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रही आएको छ, हामीले भारतबाट आर्थिक, प्राविधिकलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त गर्दै आएका छौँ”, उपराष्ट्रपतिले भने, “हवाई, सडक र रेलमार्ग, पेट्रोलियम पाइपलाइन, जलविद्युत् तथा प्रसारण लाइनको विकास, एकीकृत जाँच चौकी (आइसिपी) र मानव संशाधन विकासका क्षेत्रमा नेपाल–भारत सहकार्य महत्त्वपूर्ण छ ।”

छिमेकीलाई प्राथमिकता दिने भारतको नीतिले भारतले आफ्ना छिमेकी राष्ट्रलाई दिएको प्राथमिकता र महत्त्वलाई प्रतिविम्बित गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले उच्चस्तरीय भ्रमणको आदान–प्रदानले दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत तुल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले नेपाल भारतबीच दीर्घकालीन ऊर्जा व्यापारलगायत सम्झौता हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

भेटमा भारतीय राजदूत श्रीवास्तवले दुई मुलुकबीच बहुआयामिक सम्बन्ध रहेको उल्लेख गर्दै भारत सधैँ नेपालको विकास यात्रामा सहयोगी रहेको र आगामी दिनमा पनि रहिरहने बताए । “भारत नेपालमा रासायनिक मल कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्ने क्रममा छ, यसअघि कृषिमा भएको सम्झौता परिमार्जन गर्दै र खानेपानीको क्षेत्रमा भारतले हासिल गरेको अनुभवका आधारमा सहयोग गर्न भारत तयार छ”, उनले भने ।

राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालसँग विशेष लगाव रहेको जनाउँदै सन् २०२४ मा भारतका विदेशमन्त्रीको पहिलो अन्तर्राष्ट्रिय भ्रमण नेपालबाट हुनुले भारतले नेपाललाई दिएको महत्त्व र प्राथमिकतालाई दर्शाएको बताएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।