मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

वाग्ले र सत्यालबीच भाले भीडन्त

वाग्ले र सत्यालबीच भाले भीडन्त

कस्ले बाजी मार्ला टेक्ससको नेपाली समाजमा ?


ड्यालस (टेक्सस) । अमेरिकामा रहेका नेपालीहरुको पुरानो संस्थाहरु मध्यमा पर्ने नेपाली समाज टेक्ससको नयाँ नेतृत्वका लागि आउँदो साता निर्वाचन हुँदैछ । नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले र पूर्व महासचिव कमल सत्यालबीच चर्को प्रतिस्पर्धा छ ।

आउँदो शनिबार नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहार) मा चुनाव हुनेगरि निर्वाचन कार्यतालिका सार्वजनिक भैसकेको छ । चुनावमा अध्यक्षका दुई उम्मेदवार मात्र होइनन्, दुबै जना प्यानल सहित खडा भएका छन् । नेपाली समाज टेक्सस (एनएसटी) सन् १९९७ मा स्थापना भएको हो । यो निर्वाचनमा मत दिन पाउने सदस्यहरु दुईहजार पाँचसय छन् ।

चुनावको दिन आउन अब चार दिन मात्र बाँकी छ । अहिले टेक्ससको विशेषगरि ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सका हरेक नेपाली रेष्टुँराहरुमा चुनावी गतिविधि र चर्चा चुलिएका छन् । कस्ले जित्ला ? को उपयुक्त उम्मेदवार हो ? कस्लाई कस्ले उठाएको ? कसको नेपालको राजनीतिमा कता नाभी जोडिएको छ ? जस्ता विषयले समय लिन थालेको छ । बाहिरी मौसम चिसो भएपनि चुनावी माहौलले गर्दा नेपाली समुदाय तातेको छ ।

नेपाली समाज टेक्ससलाई अमेरिकामा निकै सकृय र प्रतिष्ठित संस्थाका रुपमा लिइन्छ । त्यसो हुँदा यो संस्थाको पदाधिकारी हुनका लागि मरिमेटेर लाग्नेहरुको भीड देखिएको छ । स्थानीय रुपमा नेपालबाट आएका समुदायका लागि मर्दा र पर्दाको संस्थाका रुपमा यो संस्था चिनिदै आएको छ । पछिल्ला केही वर्षयता अमेरिकी मुलधारको राजनीतिमा नेपालीको सहभागिता बढाउने, अमेरिकी सरकारसम्म पहुँच बढाउने गतिविधिमा नेपाली समाज टेक्सस सकृय देखिएको छ । राज्य सरकार, फेडरलसँग सम्पर्क वृद्धि गर्ने कार्यमा नेपाली समाज टेक्ससको चासो बढेको महसुस नेपाली समुदायले गरेका छन् ।

यस पटकको नेतृत्वका लागि वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले र पूर्व महासचिव कमल सत्याल प्रतिस्पर्धामा छन् । वाग्लेले विगत दुई वर्षमा संस्थामा बनेको जगलाई दह्रो बनाउने र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको विशाल परियोजनामा एनएसटीलाई हातेमालो गरेर सफल बनाउन आफू दोहोरिन लागेको बताए ।

एनएसटी र मन्दिरका बीचमा विगत दुई वर्षमा धेरै हातेमालो, सहकार्य, सहयात्रा भइरहेको छ । अझै दुई वर्ष यहि स्पिरिट रह्यो भने नेपाली समुदायले गर्व गर्ने मन्दिर र स्तुप निर्माण सफल हुनेछ । अर्कोतिर विद्यार्थीहरुका लागि समेत थालेका केही कार्यक्रम पूरा गर्न मैले फेरि उम्मेदवारी दिएको हुँ वाग्लेले हिमालयखबरसँग भने ।

‘नेपाली समाज टेक्ससको इतिहासमै पहिलो पटक अमेरिकी सरकारसँग केही नयाँ प्रोजेक्टहरुका बारेमा प्रकृया अघि बढेको छ । त्यसलाई पूरा गर्ने इच्छाका कारण मैले मात्र होइन समाजका शूभेच्छुकहरुका चाहनाले गर्दा दोहोर्याउने निर्णय लिएको हुँ’ उनले भने ।

सन् २०१५/१७ कार्यकालका महासचिव तथा वर्तमान अध्यक्षका उम्मेदवार कमल सत्यालले खेलकुद क्षेत्र, नयाँ विद्यार्थीका लागि सहूलियतपूर्ण आवास, इमरजेन्सी फण्डको व्यवस्था, मन्दिरसँगको सम्बन्ध र सहकार्य प्रगाढ बनाएर लैजाने गरि टीमले घोषणा पत्र जारी गरिसकेको बताए ।

उनले हिमालय खवरसँग “समाजको भोलीका सकृय सदस्य भनेको विद्यार्थी समुदाय भएकोले तिनीहरुलाई समेटेर लैजाने योजना र खाका प्रस्तुत गरेर अघि बढेका छौं” भने।

दुबै टीममा समाजका केही गरेर देखाउँ भन्ने चाहना भएका युवाहरुको वाहुल्यता छ । सँगसँगै नेपालको राजनीतिका आधारमा टीम बाँडिएको हो कि भन्ने चिन्ता स्थानीय समुदायले गरेका छन् । यस्तो शंकाको आधार पनि छ । किनकी एउटा समुहको मनोनयनको समयमा नेपाली कांग्रेसको भातृ संस्था जनसम्पर्क समितिका पदाधिकारीहरु र कार्यकर्ताहरुको बाक्लो सहभागिता मात्र होइन निर्णायक भूमिका पनि थियो भने अर्को समुहको मनोनयनमा एमालेको भातृ संस्था प्रवासी मञ्चका नेता, कार्यकर्ताहरुको सहभागिता थियो ।

झट्ट हेर्दा सत्याल समुहलाई जनसम्पर्क समितिको समर्थन देखिन्छ । टीममा भने कांग्रेस, एमाले, राप्रपा निकटहरु छन् । उता वाग्ले समुहलाई प्रवासी मञ्चको समर्थन देखिएको छ । तर यो टीम पनि छ्यासमिसे छ । टीममा कांग्रेस निकट, एमाले निकट, राप्रपा, मधेशवादी छन् । यद्यपि दुबै समुह नेपालको राजनीतिका आधारमा आफूहरु विभाजित नभएको र त्यसरी प्यानल खडा नभएको दावी गर्छन् ।

विगतमा नेपाली समाज टेक्सस र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रबीच सम्बन्धमा निकैनै चिसोपन आएको थियो । त्यसले गर्दा कतिपय सन्दर्भमा दुई संस्थाका बीचमा असमझदारी भएर समुदायका धेरै कामहरुले गति लिन सकेनन् । सन् २०१७-१९ का अध्यक्ष सुमन थापा र २०१९-२१ का अध्यक्ष दिनेश शर्माको कार्यकालमा मन्दिरको समिति र एनएसटीबीच सम्बन्ध निकै बिग्रिएको थियो । सुमन थापाको कार्यकालमा त नेपाली समाज टेक्ससले छुट्टै भवन बनाउने भन्दै नक्सा र स्केच समेत सामाजीक सञ्जालमा सार्वजनिक गरिएको थियो ।

तर विगत दुई वर्षमा दुई संस्थाबीच सम्बन्ध निकै सुधार र सहकार्य भएको छ । स्रोतका अनुसार एनएसटीले मन्दिरको बिजुली, पानी, इन्टरनेट खर्चहरुको भुक्तानीमा साझेदारी गरिरहेको छ भने एनएसटी कार्यसमितिका पदाधिकारीहरु मन्दिरको बोर्ड अफ ट्रष्टी, फाउण्डिङ्ग मेम्बर बनिसकेका छन् । एनएसटीका पदाधिकारीहरु नयाँ मन्दिरको निर्माणका सहयोग जुटाउन फण्डरेजिंग समितिमा सकृय रुपमा लागिरहेका छन् । यसले गर्दा विगतमा झण्डै पानी बाराबारको अवस्थामा रहेका यी दुई संस्थाहरु अहिले एक आपसमा निकै मिलेर सामुदायिक गतिविधिमा अघि बढिरहेका छन् ।

सदस्य मतदाताहरुले यसपटक मतदान गर्ने एउटा आधार निर्माणाधिन मन्दिरमा साथ दिने, समाजलाई मिलाउन प्रयास गर्ने पात्रलाई छान्ने देखिएको छ । ‘कसैलाई कसैको राजनीति जोगाउन होला, कसैलाई कसैको अस्तित्व नामेट गराउन पनि होला । तर मैले भोट हाल्दा त्यसलाई कुनै मतलव नगरि समाज जुटाउने, मन्दिरलाई उठाउने भावना बोकेको व्यक्तिलाई सहयोग गर्छु ’’ आइतबार मन्दिरमा भेटिएका ड्यालसका एक पुराना नेपालीले भने । उनले गोपनियताका कारण आफ्नो नाम भने सार्वजनिक नगरिदिन आग्रह गरे ।

प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएपनि मतदाताहरुले भने प्यानल भन्दा पनि व्यक्ति हेरेर मतदान गर्ने प्रारम्भिक संकेत देखिएको छ । ‘म नेपालमा छँदा विद्यार्थी राजनीति पनि गर्थे । गाउँमा राजनीतिक कार्यकर्ताको परिचय पनि बनाएको थिएँ । तर यहाँ भोट हाल्दा म व्यक्ति हेर्छु। मलाई नेपालको राजनीतिक दलसँगको आवद्धतासँग मतलब छैन । राम्रो मान्छेलाई भोट हाल्ने हो’ अर्का एक नेपालीले भने ।

उता उम्मेदवारी दिएका महिलाहरु प्रति भने सबैको सहानुभूति देखिन्छ । घर परिवार, पेशाबाट समय निकालेर आउने महिलाहरु त्यसै त थोरै हुन्छन् । महिलाहरु तुलानात्मक रुपमा इमान्दार र काममा प्रतिवद्ध हुने भएकोले महिलालाई जिताउनुपर्छ भन्ने धारणा धेरैमा पाइएको छ । महिला उम्मेदवारहरुमा उपाध्यक्षमा साबित्री भण्डारी, सचिवमा शब्दिता प्याकुरेल, महिला संयोजकमा शान्ता गिरी, सदस्यमा राधिका खराल राधा अधिकारी मात्र छन् । यी मध्य उपाध्यक्षमा भण्डारी, महिला संयोजक गिरी निर्विरोध भैसकेका छन् ।
सामाजिक कार्यमा संलग्न हुनका लागि अमेरिकामा तीन कुराहरु हुनुपर्छ । पहिलो आर्थिक रुपमा सक्षम, दोस्रो समय भएको र तेस्रो संस्थालाई दिनसक्ने केही क्षमता र खुबी ।

एनएसटीको निर्वाचनमा खडा भएका उम्मेदवारहरुमध्ये अधिकांश आफूहरुसँग समय र भिजन भएको भन्दै सदस्य मतदाताहरुसँग भोट मागिरहेका छन् । तर यस्ता उम्मेदवार पनि देखिएका छन्, जो टेक्ससमै बर्षौदेखि बस्दै आएका छन् , तर मन्दिरको संस्थापक सदस्य समेत हुन इन्कार गर्छन् । समुदायका कैंयौँ सदस्यहरुले पसिना बगाएर कमाएको आम्दानी मन्दिर निर्माणमा दिएका छन् । जसका कारण अहिले नेपाली समाज टेक्ससलाई अफिस राख्ने स्थान मिलेको छ । जमघट हुने ठाउँ प्राप्त भएको छ । समाजसेवा गर्छु भन्ने तर सामुदायिक क्षेत्रमा एक पेनी पनि सहयोग नगर्नेलाई यतिखेर चिन्नुपर्ने धारणा मन्दिरकै पदाधिकारीहरुले राखेका छन् ।

सत्याल समूहबाट वरिष्ठ उपाध्यक्षमा मधुर खरेल चुनावी मैदानमा छन् भने उपाध्यक्षमा बलराम पौडेल । त्यस्तै यो समूहबाट महासचिवमा सन्देश उप्रेती खडा भएका छन् । उप्रेती वर्तमान कार्यसमितिमा पनि महाचिव छन् । त्यस्तै सचिवमा पुण्य पाण्डे र कोषाध्यक्षमा गुप्ताराज जोशी प्रतिस्पर्धामा छन् ।

वाग्ले समूहबाट वरिष्ठ उपाध्यक्षमा जनक भण्डारी छन् भने उपाध्यक्षमा रविन पाठक छन् । विजय भुसाल महासचिवका उम्मेदवार मन्दिरको ट्रष्टी मेम्बर पनि हुन् ।, सचिवमा शब्दिता प्याकुरेल र कोषाध्यक्षमा रामकृष्ण यादव प्रधिस्पर्धामा छन् । भण्डारी वर्तमान कार्यसमितिमा पनि उपाध्यक्ष हुन् भने भुसाल कार्यसमितिको सदस्य हुन् ।

दुबै टीममा जोश, जाँगर र काम गर्ने हुटहुटी बोकेकाहरुको वाहुल्यता देखिन्छ । शनिबार बिहान ८ बजेबाट हुने चुनाव आफ्नो पक्षमा पार्न यतिखेर कस्ले कहाँ कस्लाई भन्दा हुन्छ त्यो स्रोत पहिचान गरेर सदस्यहरुलाई प्रभावित पार्ने प्रतिस्पर्धामा दुबै समूह सकृय छन् ।

को हुन् वाग्ले ?

वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले

भक्तपुरको गुण्डुका जन्मिएका राजेन्द्र वाग्ले नेपाली समाज टेक्ससको वर्तमान अध्यक्ष हुन् । दुई वर्ष अघिको निर्वाचनमा उनी अध्यक्षमा निर्वाचित भएका थिए । अमेरिकी सरकारसँगको सहकार्य सुरु हुन लागेकोले त्यसलाई कार्यान्वयन तहमा पुर्याउन र समुदायलाई एकजुट बनाएर शुद्धिकरण गर्ने कार्यका लागि उनले पुनः अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट जनसंख्याशास्त्रमा एमफिल गरेका वाग्ले विगत १४ वर्षदेखि अमेरिकामा छन् । टेक्ससको उत्तरी शहर शरमनमा रहेर व्यबसाय गर्दै आएका छन् उनी । वाग्लेले स्थानीय शरमन सिटीको बिभिन्न समितिहरुमा रहेर काम गरिसकेका छन् । उनी शरमन चेम्बर अफ कमर्समा पनि सकृय छन् । टेक्सस र ओक्लोहोमाका नेपालीहरुलाई समेटेर गठन भएको टेक्सोमा नेपाली सोसाइटीको उनी संस्थापक अध्यक्ष पनि हुन् । उनले व्यवसायिक रुपमा ग्याँस स्टेशन, लिकट स्टोरमा लगानी गरेका छन् ।

सत्याल को हुन् ?

पूर्व महासचिव कमल सत्याल

नेपाली समाज टेक्ससको अध्यक्षका उम्मेदवार कमल सत्याल टेक्ससबासीबीच नयाँ र नौलो नाम होइन । २५ वर्षदेखि टेक्ससमा बस्दै आएका सत्यालको जन्मस्थल भने पर्साको बीरगञ्ज हो ।
अध्ययनका लागि अमेरिका आएका सत्यालले बिभिन्न कम्पनीहरुमा सूचना प्रविधिको क्षेत्रमा काम गरे । यस क्रममा व्यबसायमा पनि संलग्न भए । सन् २०१५ मा भएको एनएसटीको निर्वाचनमा उनी कृष्ण लामिछाने समूहबाट महासचिवमा विजयी भए । सूचना प्रविधिमा मास्टर्स गरेका उनी हाल सफ्टवयर डेभलपमेन्टको क्षेत्रमा सिनियर इञ्जिनियरका रुपमा कार्यरत छन् ।

त्यतिखेर एनएसटीलाई मर्दा र पर्दाको संस्थाका रुपमा चिनाउन सत्यालको पनि निकै ठूलो भूमिका रह्यो । एनसएसटीको सदस्यहरु हरेक चुनावमा घटिरहेका छन् । यसलाई नेपाली समुदायमा चार्मवाला संस्था बनाउने, विद्यार्थीहरुलाई व्यापक रुपमा कनेक्ट गराउने मुख्य विषयलाई मुख्य मुद्धा बनाएर उनी चुनावी अभियानमा छन् ।

उनी भन्छन्-‘ हिजो पदमा छँदा पनि, नहुँदा पनि यहीको समाजमा सकृय भएर लागिरहेको छु । यसपटक सदस्यहरुले मलाई विश्वास गरेर मौका दिनुभयो भने हरेक वर्ष एनएसटीको सदस्य बनिदेउ भनेर अनुरोध गरिरहनुपर्ने होइन, यहाँका नेपाली समुदाय खोजीखोजी, चासो दिएर सदस्य बन्ने संस्था बनाउने मेरो ध्येय हो ।’