काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आन्तरिक तथा बाह्य बसाइँसराइका कारण सिर्जित समस्या विकराल बन्दै गएकाले त्यसलाई समाधान गर्न आवश्यक रहेको बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)को सहकार्यमा मंगलबार काठमाडौँमा आयोजना भएको ‘जनसङ्ख्या र बसाइँसराइ व्यवस्थापन सबलीकरणसम्बन्धी राष्ट्रिय परिसंवाद’ कार्यक्रममा मन्त्री बस्नेतले योजनावद्ध विकास अवधारणाको प्रभावकारी कार्यान्वयन र शासकीय क्षमतामा सुधारमार्फत अहिलेका समस्या समाधान गर्न सकिने बताए ।
“पन्ध्रौँ आवधिक योजना र राष्ट्रिय जनसङ्ख्या नीति, २०७२ मा बसाइँसराइको समस्यालाई यथोचित रुपमा सम्बोधन गर्ने प्रयास गरिएको भए पनि समस्याको समाधान गर्न सकिएको छैन । सङ्घीय, प्रादेशिक र स्थानीय गरी तीनवटै तहका सरकार यी समस्याबारे सजक हुन आवश्यक छ”, स्वास्थ्यमन्त्री बस्नेतले भने, “स्रोत साधनको व्यवस्थापन, क्षमता विकास, विकासमा समन्वय र आन्तरिक अर्थतन्त्रमा बढोत्तरी गरेर बसाइँसराइका समस्या सम्बोधन गर्न सकिन्छ ।” ््
नेपालका गाउँमा जनसङ्ख्या न्यून हुँदै गएर देशलाई आवश्यक जनशक्ति प्राप्त हुन नसक्ने तर विकासका लागि बाह्य जनशक्ति ल्याउनुपर्ने अवस्था छ रहेको उनले बताए ।
विकासका क्रियाकलापलाई व्यवस्थित गर्ने, सरोकारवाला निकायमा साझा अवधारणा निर्माण गर्ने, र बसाइँसराइमा देखिएका समस्या तथा चुनौतीलाई सामूहिकरुपमा सम्बोधन गर्नुपर्ने बेला आएको स्वास्थ्यमन्त्री बस्नेतको भनाइ छ । विभिन्न कारणले हिमाल र पहाडको जनसङ्ख्या घट्दै गएर तराई क्षेत्रमा बढेको र विदेशी मुलुकमा बसाइँसराइ गरेर जाने क्रम बढेको पनि उनले बताए ।
त्यस्तै, चिकित्सा शिक्षा ऐन संशोधन गर्दै जाने र चिकित्सा शिक्षा पढ्ने वातावरण सहज बनाउने स्वास्थ्यमन्त्री बस्नेतको भनाइ छ । नेपालका ठूला अस्पताललाई चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठानका रुपमा विकास गर्न सकिने उनको भनाइ छ ।
त्यस अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले नेपालमा बाह्य तथा आन्तरिक बसाइँसराइ उच्च रहेका कारण वितरणमा असमानता बढ्दै गएको र यसबाट आर्थिक उत्पादन तथा वितरणमा प्रत्यक्ष प्रभाव पर्न गएको बताए ।
“गरिबी, अशिक्षा, भौगोलिक विकटता, अव्यवस्थित बसोबास, बसाइँसराइ र आप्रवासनका कारण जनसङ्ख्या र विकासकाबीच असन्तुलन देखिएको छ । यसले आन्तरिक उत्पादन र समग्र अर्थतन्त्रमा प्रभाव बढ्दै गएको छ”, सचिव गुरागाइँले भने ।
प्रजननदर घट्दै गएको, औसत आयुमा वृद्धिहुँदै गएको, युवा दक्षजनशक्ति विदेशिने क्रम जारी रहेको, ज्येष्ठ नागरिकको जनसङ्ख्या बढ्दोक्रममा रहेको जस्ता प्रवृत्ति अहिले देखिएको पनि उनले बताए । विकास गर्दा जनसङ्ख्यालाई केन्द्रमा राखिनुपर्ने सचिव गुरागाइँको भनाइ छ ।
आइओएम मिसनको नेपालका प्रमुख हेलेन फोर्सले दिगो विकाससँग सम्बन्धित लक्ष्य प्राप्तिका लागि पनि बसाइँसराइ एक महत्त्वपूर्ण पक्ष रहेको बताए । त्यस्तै, जनसङ्ख्या घट्ने बढ्ने प्रवृत्तिको विश्लेषणबाट नेपालको नीति निर्माणमा सहयोग पुग्ने बताए ।
प्रतिक्रिया