मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
राजनीति-समाज   

राजा आए भने ज्यानमारालाई माफी मिनाहा चाहिँ हुँदैन : अध्यक्ष लिङ्देन

राजा आए भने ज्यानमारालाई माफी मिनाहा चाहिँ हुँदैन : अध्यक्ष लिङ्देन

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले आफूले आजन्म भ्रष्टाचार नगर्ने कसम खाएको उल्लेख गर्दै कोही कसैले एक रुपैयाँ खाएको प्रमाणित गर्न सकेमा उसैको घरमा जीवनभरि नोकर बस्ने उदघोष गरे ।

आफ्नो पार्टीका नेताहरुलाई समेत भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता जनाउन आग्रह गर्दा अपेक्षित सहयोग नमिलेको गुनासो गर्दै अध्यक्ष लिङ्गदेनले राजनीतिक दल, विचार सबै भुलेर एकपटक राप्रपालाई मत दिएर सहयोग गर्न प्रवासी नेपालीहरुसँग आग्रह गरे ।

राप्रपा निकट प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले राप्रपालाई मत दिएमा कसैले पनि पछुताउनु पर्नेगरी काम नगर्ने घोषणा गरे ।

राप्रपाले पछिल्लो समयमा बोकेको राजतन्त्रको सवालमा अध्यक्ष लिङ्गदेनले राष्ट्रपति पद निष्पक्ष र तथष्ठ नहुने संकेत तीन जनाको क्रियाकलापले स्पष्ट पारेको उल्लेख गर्दै उनले भने–‘राजा आए भने ज्यान मार्नेलाई सिधै माफी मिनाहाचाहिँ हुँदैन । राप्रपाको मात्र राजा हुँदैनन्, सबैको साझा राजा हुनेछन् ।’

अध्यक्ष लिङ्गदेनले राप्रपाको अभियान सुरू भएको उदघोष गर्दै नेपालमा अहिलेको व्यवस्था परिवर्तन अपरिहार्य रहेको र त्यसका लागि प्रवासमा रहेका देशको माया गर्ने सबैको साथ र समर्थनको लागि आह्वान पनि गरे । उनले दुईवटा नेपाल रहेको उल्लेख गर्दै भने–ुएउटा मेची–महाकालीको भूगोलको नेपाल र अर्को नेपाल बाहिर रहेका लाखौँ नेपालीहरु रहेको भावनाको नेपाल छ ।ु

भावनाको नेपालमा बस्नेहरुले दल, झण्डाभन्दा पनि देशको माया बढी गर्ने भएकोले एकपटक राप्रपाले बोकेको एजेण्डालाई साथ दिएर मुलुक जोगाउनका निम्ति सहयोगका लागि आह्वान गरे ।

उनले नेपाल हिन्दु राष्ट्र रहेको हुँदा त्यसैमा जानुपर्ने आमजनताको धारणा रहेको पनि उल्लेख गरे । ‘९० प्रतिशत जनताहरु प्रदेशको प्रावधान खारेज र हिन्दु राष्ट्र हुनुपर्छ भन्नेमा सहमत छन्’ उनले भने ।

कार्यक्रममा जनसम्पर्क समिति ड्यालस फोर्टवर्थका अध्यक्ष ज्ञानेन्द्र कार्कीले नेपालको वर्तमान प्रदेश व्यबस्था निकै खर्चिलो भएको उल्लेख गर्दै त्यसलाई खारेज गर्ने तर्फ राप्रपाले अग्रसरता लियोस् भनेर आग्रह गरे ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरमा खादा पहिर्‍याएर सुरू गरिएको अधिवेशनको उद्घाटन कार्यक्रममा पूर्ब मन्त्री प्रेमबहादुर भण्डारी, राप्रपाका नेता प्रेमकुमार श्रेष्ठ, सोही पार्टीका सहमहामन्त्री विजय खड्का, प्रवास इञ्चार्ज आनन्द अधिकारी, राप्रपा अमेरिका संयोजक लोक तिवारी, युलेस सिटी काउन्सिल सदस्य टीका पौडेल, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, एनआरएन अमेरिकाका उपाध्यक्ष ज्ञानेन्द्र गुरुङ्ग, नेजा अध्यक्ष सुरज भण्डारी, डा. रामप्रसाद उप्रेती, प्रवासी मञ्च टेक्ससका अध्यक्ष लक्ष्मण घिमिरे, एनआरएन टेक्सस अध्यक्ष दिपेन्द्र गुरागाई, विद्यार्थी अनुप गिरी, प्रेम चौलागाईलगायतले शुभकामना दिएका थिए ।

संस्थाका महासचिव दिपु भुसालको सञ्चालन र अध्यक्ष रवि रावलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा वक्ताहरुले राप्रपाले राष्ट्रियताको अडान लिएको भन्दै त्यसको प्रशंसा गरेका थिए ।

रावलको अध्यक्षतामा नयाँ समिति

अधिवेशनको उदघाटन समारोहपछि सम्पन्न बन्दसत्रले टेक्ससका रवि रावलको अध्यक्षतमा कार्यसमिति निर्विरोध चयन गरेको छ । नयाँ कार्यसमितिको चार उपाध्यक्षहरुमा दिपु भुसाल (टेक्सस), नरेन्द्र शाह (न्यूयोर्क), बामदेव अर्याल (मेरिल्याण्ड) र केमिका भण्डारी (मेरिल्याण्ड) रहेका छन् ।

त्यस्तै महासचिवमा डा. शंकर बिसुंके (न्यूयोर्क), सचिवमा गोविन्द ठकुरी (टेक्सस), कोषाध्यक्षमा रामशरण श्रेष्ठ (न्यू ह्याम्पसायर) रहेका छन् । कार्यसमितिमा ११ जना सदस्यहरु रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा राजेन्द्र शेरचन, राधा शर्मा र नवराज खड्कालाई मनोनयन गरिएको छ ।