मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
नेपाल   

एनआरएनएको एघारौँ महाधिवेशनमा त्रिपक्षीय प्रतिस्पर्धा

एनआरएनएको एघारौँ महाधिवेशनमा त्रिपक्षीय प्रतिस्पर्धा

विदेशमा रहेका एनआरएनएलाई अनलाइनमार्फत भोट दिने व्यवस्था, नेपालमा रहेका प्रतिनिधिले मतदान गर्न अनिवार्य दर्ता हुनुपर्ने

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारदेखि काठमाडौँमा सुरू भएको छ । सम्मेलनको मंगलबार एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् ।

एनआरएनए विदेशी भूमिका रहेर विभिन्न पेसा, व्यवसाय गर्नेहरूको संस्था भए पनि पार्टीगत आधारमा प्यानलै बनाएर चुनावी मैदानमा होमिएका छन् ।

एनआरएनएको महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, छ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीको चयन गर्नेछ ।

एनआरएनएको महाधिवेशनमा ८७ शाखाको अधिवेशनबाट प्रतिनिधित्व गर्ने चार हजार दुई सय २७ प्रतिनिधिले मतदान गर्नेछन् । एनआरएनएले ९६ हजार संगठित सदस्य रहेको जनाएको छ । दुई उपमहासचिवमा पाँच जनाले र ६ जना सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्।

विदेशमा रहेका एनआरएनए प्रतिनिधिले यस निर्वाचनमा अनलाइनमार्फत पनि भोट दिने व्यवस्था मिलाइएको छ । नेपाली समयअनुसार अक्टोबर १९ (आज राति १२ः०० बजेदेखि अक्टोबर १९ ११ः५९ अर्थात् भोलि रातिसम्म) मतदान गर्न सकिने छ ।

यस्तै, नेपालमा उपस्थित हुने प्रतिनिधिले बिहान १०ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सोल्टी होटलमा मतदान गर्न सकिने छ । नेपालमा रहने एनआरएनएका प्रतिनिधिले मतदान गर्न अनिवार्य दर्ता हुनुपर्ने छ । नेपालको कुनै अर्को स्थानबाट अनलाइनमार्फत मतदान गर्न पाइने छैन ।

त्रिपक्षीय भिडन्त

अध्यक्षमा मुख्य प्रतिस्पर्धा तीन जना आकांक्षीबीच देखिएको छ । अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका अध्यक्ष बद्री केसी (रुस),  उपाध्यक्ष महेश श्रेष्ठ (जापान)  र आरके शर्मा (कतार) चुनावी मैदानमा छन्। अध्यक्ष पदमा प्रत्याशी रहेकी अध्यक्ष रविना थापा (अमेरिका)ले महेश श्रेष्ठ (जापान) को प्यानललाई समर्थन गरेकी छन् ।

अध्यक्षका प्रत्यासी केसी नेकपा एमाले, श्रेष्ठ नेपाली कांग्रेस, थापा कांग्रेस र शर्मा माओवादी केन्द्रनिकट हुन्। कांग्रेस निकट थापाले कुनै समूहमा आबद्ध नभई उम्मेदवारी दिएकी छन्, उनलाई संस्थागत रूपमा कांग्रेसको सहयोग पनि रहेको देखिँदैन। मुख्य प्रतिस्पर्धा केसी, श्रेष्ठ र शर्माबीच रहेको जानकारहरू बताउँछन्।

अध्यक्षका प्रत्यासी तीन जना प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन्। केसी र श्रेष्ठले महासचिवसहितको प्यानल बनाएका छन् भने शर्माले महासचिवको उम्मेदवार बनाउन सकेका छैनन्। अध्यक्षका प्रत्यासीले विभिन्न प्रतिवद्धता जनाएका छन्।

अध्यक्षका प्रत्यासी डा. बद्री केसीले विभिन्न प्रतिबद्धता जनाएका छन्। केसीले संस्थालाई अझ उचाइमा पुर्‍याउने बताए । विदेशबाट ज्ञान, अनुभव र सीप ल्याउँदै संघमार्फत नेपालमा लगानी भित्र्याउने बताए। व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, संस्थागत पुनः संरचना एवं सुदृढीकरण, हकहित तथा अधिकार स्थापित गर्दै ज्ञान, सीप र प्रविधिसहितको एनआरएनए बनाउने उनले जनाएका छन्।

नेपालको समृद्धिका लागि लगानी भित्र्याउने सवालमा र एनआरएनएलाई मजबुत बनाउन पाँच बुँदे एजेन्डाहरू लिएर चुनावी मैदानमा उत्रिएको उनले बताए । अध्यक्षका प्रत्यासी शर्मा २४ बुँदे वाचापत्रसहित चुनावी मैदानमा छन् । गैरआवासीय नेपाली अभियानलाई एकढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएनए’ बनाउने दाबी गरे। वैदेशिक रोजगार, दक्ष जनशक्ति, सुरक्षित वातावरण र सामाजिक सुरक्षालाई कार्यान्वयन गर्ने प्राथमिकता तय गरेको उनले बताए।

अध्यक्षका प्रत्यासी महेश श्रेष्ठले आफ्ना एजेन्डा मिल्नेलाई समूहमा राखेको दाबी गरे पनि उनको प्यानलमा अधिकांश कांग्रेस निकटका रहेका छन्। श्रेष्ठको प्यानलमा उपाध्यक्षका उम्मेदवारहरू डा. केशव पौडेल (अमेरिका), गंगाधर गौतम (बेल्जियम), नारायण आचार्य (नेदरल्यान्ड), सुनिल साह (अमेरिका), राज रेग्मी (कतार), रोबिन शेरचन (जापान), रोजिना प्रधान राई (बेलायत), रोशन थापा, महासचिवमा बुद्धि सुवेदी (अमेरिका) रहेका छन्।

त्यसैगरी, उप–महासचिव पदका सोम सापकोटा (बेलायत), प्रवीण गुरूङ (कतार), सचिव पदमा दयानिधि सापकोटा (बेलायत), मनोज श्रेष्ठ गोर्खाली (युएई), भीम केसी कमल (पोर्चुगल), कृष्णजीवी पन्त (अमेरिका) स्वतन्त्र प्रताप शाह (अष्ट्रेलिया), केपी सिटौला (दक्षिण कोरिया), महिला सचिव विमला सापकोटा (क्यानडा) रहेका छन्।

त्यसैगरी, कोषाध्यक्षका उम्मेदवार ठाकुर ढुंगाना (युएई), सहकोषाध्यक्षको उम्मेदवार तिलक गैरे (पोर्चुगल), कृष्ण तिमिल्सिना (बेलायत), मोहम्मद मुक्तदा मुसलमान (कतार) रहेका छन्।

त्यस्तैगरी, महेशको समूहबाट महिलातर्फ सह–कोषाध्यक्षका उम्मेदवार तृष्णा शर्मा काफ्ले (अमेरिका), युवा संयोजकका उम्मेदवार रविन अधिकारी, महिला संयोजककी उम्मेदवार अनुजा प्रधान, युरोप संयोजक चिन्तामणि सापकोटा (बेल्जियम) रहेका छन्।

एमालेनिकटका बद्री केसीले केही कांग्रेसनिकटका गैरआवासीय नेपालीलाई पनि आफ्नो समूहमा ल्याएका छन्। केसीको समूहबाट महासचिवमा गौरीराज जोशी रहेका छन्।

त्यसैगरी, उपाध्यक्षहरूमा रामशरण सिंखडा (बेलायत), डा. हेमराज शर्मा (बेलायत), डा. विनोद श्रेष्ठ (अस्ट्रेलिया), रोविन शेरचन (जापान), चिरञ्जीवी घिमिरे (क्यानडा), महिला उपाध्यक्ष यसमिन बेगम शैयद (साउदी अरब) र युवा उपाध्यक्षमा रोशन थापा (जाम्बिया) रहेका छन्।

केसीको प्यानलबाट उपमहासचिवमा प्रमोद सिटौला (अमेरिका), सन्तोष भण्डारी (जर्मनी), सचिवमा यज्ञराज सुवेदी (दक्षिण कोरिया), पारसमणि पोखरेल (जापान), नवराज रोस्यारा (जर्मनी), प्रकाश सापकोटा (अमेरिका), ज्ञानेन्द्र रेग्मी (अस्ट्रेलिया), राधिका गुरुङ (हङकङ) रहेका छन्।

त्यसैगरी, कोषाध्यक्षमा सुदन थापा (जापान), सह–कोषाध्यक्षमा ददिवल खड्का (जापान), सिपी पौडेल (कतार), अभिमन्यु बस्नेत (क्यानाडा), अमृत थापा (चीन) रहेका छन्। त्यसैगरी, महिला संयोजकमा बेल्जियम र युवा संयोजक सुपेन्द्र घिसिङ (जापान) रहेका छन्।

यस्तै, नेकपा माओवादी केन्द्रनिकटका आरके शर्मा पनि प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन्। शर्माको प्यानलबाट उपाध्यक्षहरूमा खगेन्द्र न्यौपाने (मलेसिया), रोविन्द्र श्रेष्ठ ‘गोविन्द’ (जापान), राजु रेग्मी ‘राज’ (कतार), विजय मोक्तान (जर्मनी) , शशी पौडेल (होल्यान्ड), अभिमानसिंह बस्नेत (अस्ट्रेलिया), युवा उपाध्यक्ष अबदुल बासिद (कतार) रहेका छन्।

अध्यक्षका प्रत्यासी शर्माको प्यानलबाट महासचिव पदमा उम्मेदवार छैनन्। त्यसैगरी, उपमहासचिवमा प्रवीण गुरुङ (कतार), सचिव लोक दाहाल (बेल्जियम), टंक गैरे (जापान), आरसी पोखरेल (अमेरिका), मनोज कुमार (युएई), कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना (युएई), महिला संयोजक देवी केसी गुरुङ रहेका छन्। उपाध्यक्षका उम्मेदवार राज रेग्मीलाई श्रेष्ठ र शर्मा दुवैले आफ्नो प्यानलमा राखेका छन्।